सामूहिक उखुखेतीमा रामपुरका युवा | Khabarhub Khabarhub

सामूहिक उखुखेतीमा रामपुरका युवा


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

रामपुर– उखुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवर्द्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।

उनले भने, ‘पहिला उखुले भरिने बारी अहिले बाँझिन पुगेका छन्, हिजोआज गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो, उखुखेतीलाई प्रवर्द्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ ।’ यहाँ वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवा आबद्ध छन् । रामपुरमा बर्सेनि बाहिरबाट खुदोको मात्रा धेरै भित्रिने भएकाले आयातदर घटाएर यहीँको उत्पादनले बजार थेग्ने सोचका साथ व्यावसायिक खेतीको अभियान सुरु गरेको युवा सन्तोष पौडेल बताउँछन्। उनी वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया गरी पाँच वर्षसम्म बसेर स्वदेश फर्किएका हुन् । 

‘विदेशमा अर्काको अधीनमा रहेर दैनिक १२ देखि १५ घन्टा काम गर्नुपर्ने, अरुको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक-दुई घन्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ’, उनले भने । 

कालीगण्डकी करिडोर सडकखण्ड नजिकै रहेको जग्गामा युवाले सामूहिक खेती सुरु गरेका हुन् । यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै करिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको युवा पिताम्बर गौतमले जानकारी दिए। 

उनी पनि वैदेशिक रोजगारको अनुभवपश्चात् गाउँमै बसेर केही नयाँ कार्य गर्नुपर्छ भन्ने मनसाय बोकेर सामूहिक खेतीमा गाउँका युवासँग हातेमालो गरेर अगाडि बढ्दै छन् ।

सडक सञ्जालसँग जोडिएको हुँदा पनि नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु खपत गर्ने युवाको योजना छ । गाउँका जग्गा सदुपयोग गर्न नसक्दा त्यसै खेर गइरहेका छन् । हिजो हाम्रा बाउबाजेले उत्पादन गरेका वस्तु अहिले गाउँमा हराउन पुगेको हुँदा आफ्नै उत्पादनमा आत्मनिर्भर बन्न गाउँका युवालाई प्रेरणा दिँदै उखुखेती लगाउने अभियानमा जुटेको सुरज गौतम बताउँछन्। 

रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठूलो परिमाणमा खुदो आयात भइरहेको छ । चिनी, खुदो, गुडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ । बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्नेछ । रामपुरमा मात्रै वार्षिकरूपमा करिब रु ५० लाख बराबरको खुदो भित्रिने गरेको पाइएको छ । 

अहिलेलाई बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने गरी खेती सुरु गरेको कैलाश लम्सालले बताए । हाललाई करिब रु दुई लाखको लगानी बीउबिजन, मलजलमा खर्च भएको छ । 

व्यावसायीक खेती गरेमा उखुको उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्। व्यावसायिक खेती गर्न चाहनेलाई नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने शाखा प्रमुख पाण्डेयले बताए। 

‘पछिल्लो समय बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन अतिआवश्यक रहेको छ’, उनले भने, ‘उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन् ।’

राम्रै मलजल भएको खण्डमा कम्तीमा छदेखि आठ महिनासम्म उत्पादन दिन समय लाग्दछ । वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिने जनाइएको छ ।  

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : ३२ बजे

उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागी भएको खानेपानी मन्त्रालयको

प्रदेशको बजेट खर्च : छ महिनामा १६ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक

दिल्ली विधानसभा निर्वाचन : जनताले पत्याएनन् कांग्रेसलाई

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा हालसम्म सबैभन्दा बढी शासन

कानून व्यवसायी परिषद् पार्षद्का लागि मतदान हुँदै

काठमाडौं– कानून व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन

बुढासुब्वा गोल्डकप : एनआरटी र चर्च ब्वाइजबीच आज उपाधि भिडन्त

काठमाडौं– २५औँ संस्करणको बुढासुब्वा गोल्डकप फुटबलमा आज साविक विजेता न्युरोड