विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज चैत २३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ६, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्  :

सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ । विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोँले बताए ।

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बावजुद भएको भेटले रूस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको छ ।

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एयरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्वपूर्ण परिणाम देखेको उनले बताए ।

जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले बताए । अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गरे ।

चिनियाँ राष्ट्रपति सीले यो भ्रमणले चीन–युरोप सम्बन्धमा नयाँ गति प्रदान गर्ने र नयाँ ऊर्जा ल्याउने बताए।

रुसको उत्तरी काकेससमा तीन प्रहरीको मृत्यु, आठ जना घाइते

 रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा उक्त हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो । सन् दुई हजारको प्रारम्भतिर सामान्य रहेको उक्त क्षेत्रको शान्तिसुरक्षाको अवस्था विगत केही वर्षयता जटिल बन्दै गएको छ ।

सरकारी सुरक्षाकर्मीले इन्गुशेटिया क्षेत्रको जयजिकोभ युर्ट गाउँमा अभियान जारी राखेका तथा आक्रमणकारीको खोजी गरिरहेका कानुन कार्यान्वयन निकायलाई उद्धृत गर्दै समाचार समितिहरूले बताएका छन् ।

प्रारम्भमा प्रहरीले उक्त समूहलाई बल प्रयोग नगरी नियन्त्रणमा लिन खोजेको थियो तर अतिवादी समूहले अन्धाधुन्ध गोली चलाउँदा सुरक्षाकर्मीले ज्यान गुमाएका बताइएको छ । इन्गुशेटियाको सिमानामा रहेको प्रहरी चौकीमा पनि अतिवादी समूहले आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् । शोभियत सङ्घको विघटनपछि उत्तरी काकेसस क्षेत्रमा इस्लामिक अतिवादी समूहहरू सक्रिय छन् ।

अमेरिकामा आएको आँधीमा परी पाँच जनाको मृत्यु

विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ ।

आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन्भने विद्युत् आपूर्तिमा अवरोध भएको छ ।

प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताएका छन् ।

उनले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन् ।

क्यानडाको पूर्वी भागमा आँधीका कारण विद्युत् प्रसारण लाइन अवरुद्ध

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीका कारण विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् ।

असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन् । बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ ।

आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाविँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ । हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिँदा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो । यद्यपि उनीहरूले थप सत्कर्म रहन आग्रह गरेका थिए । नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेबित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् ।

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ ।

भूतपूर्व गोर्खा सैनिकको १३ जनाको समूहले काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्च सुरक्षायुक्त कम्पाउन्डमा गार्डका रूपमा काम गरेका थिए र सन् २०२१ को शासन परिवर्तनपछि बेलायतमा बस्दै आएका थिए । गत हप्ता पश्चिम लण्डनको एक होटलमा छापा मारी उनीहरूमध्ये १० जनालाई हिरासतमा लिइएको थियो ।

अध्यागमन अधिकारीहरूले उनीहरूलाई नेपाल र भारत लैजान आदेश दिने कागजपत्र उपलब्ध गराएका थिए तर सरकारले बिहीबार भने उक्त अभियान रोकिएको बताएको छ । गृह मन्त्रालयले एएफपीलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थप समीक्षा नभएसम्मका लागि यो समूहलाई हटाउने कार्य रोकिएको छ ।’

सन् १८१५ मा ब्रिटिश शासित भारतमा पहिलो पटक भारतीय सेनाको एक भागको रूपमा सेवा गरेदेखि नै गोर्खाहरूले भीषण लडाई, वफादारी र बहादुरीको लागि ख्याति कमाएका छन्। दुवै विश्वयुद्धका साथै फकल्याण्ड, इराक र अफगानिस्तानको द्वन्द्वमा करिब दुई लाख नेपालीले ब्रिटिश सेनालाई साथ दिएका छन् ।

हाल बेलायतको सशस्त्र बलमा करिब दुई हजार ७०० जना भर्ना भएका छन् । समूहका केही सदस्यका वकिल जेमी बेलले एएफपीसँग भने, ‘यो निर्णयले आफू निकै खुसी छु, तर उनीहरूलाई रिहाइ गर्ने कुनै आश्वासन दिइएको छैन ।’

‘ती सबै १० जना अझै हिरासतमा छन् । गृह मन्त्रालयले ती व्यक्तिहरूलाई कस्तो व्यवहार गरेको छ भन्ने जवाफ दिनुपर्छ,’ उनले भने ।

तालिवानको कब्जापछि बेलायतले अफगानिस्तानबाट दुई पुनः स्थापना योजनाअन्तर्गत २५ हजार व्यक्तिलाई भित्र्याएको छ । एउटा महिला, बालबालिका र धार्मिक अल्पसङ्ख्यक समुदायमा केन्द्रित छ । यो योजनाअन्तर्गत नेपालको शरणको दाबीमाथि छलफल भइरहेको थियो ।

त्यस्तै अर्को बेलायती सेना र सरकारका लागि काम गर्ने अफगानीहरूमाथि केन्द्रित थियो ।

२०२२ मा जापानको मृत्यु दरमा दोब्बर वृद्धि

टोकियो– जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  यो सङ्ख्याले कोभिड–१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्यु दरमा वृद्धि हुन सक्ने सम्भावनालाई जोड दिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको संस्था नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजिज (एनआईआईडी) ले उक्त अनौपचारिक तथ्यांक तयार पारेको हो । एनआईआईडीका अनुसार सन् २०२२ को एक निश्चित अवधिमा मृत्युको अवलोकन गरिएको सङ्ख्या र सोही अवधिमा मृत्युको अनुमानित सङ्ख्याबीचको भिन्नताको रूपमा परिभाषित गरिएको अतिरिक्त मृत्युको सङ्ख्या  ४७ हजार ३३० देखि उक लाख १३ हजार ३९९ को बीचमा थियो । यस्तो सङ्ख्या सन् २०२१ मा एघार हजार ४७५ देखि ५० हजार ४९५ थियो ।

एनआईआईडीका महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका अध्यक्ष ताकाजी वाकिताले बुधबार पत्रकारहरूसँग भने , “यस्तो मृत्युमा वृद्धि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जोडिएको हुन सक्छ, जसले गत वर्ष जापानमा कोभिड–१९ सङ्क्रमण र मृत्युको रेकर्ड स्तरलाई बढायो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : ५९ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु