बाढी पहिरोले २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित « Khabarhub

बाढी पहिरोले २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले अहिलेसम्म दुई हजार १५६ जनाको उद्धार गरिएको जानकारी दिए ।

विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ।

विपद्को अवस्थाबारे सांसदले राखेका जिज्ञासामा गृहमन्त्री थापाले उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको सरकार, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था क्रियाशील रहेको बताए।

सुरक्षा निकायहरु उद्धारमा खटिएको भन्दै उनले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको चपेटामा रहेको बताए।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाढीपहिरोका कारण ५० जनाको मृत्यु भएको, ३१ वेपत्ता र ३४ जना घाइते भएका छन्। गृहमन्त्री थापाका अनुसार अहिले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइएको छ।

एसएमएस सन्देशदेखि मिडिया तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीव्र गति दिइएको तथा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ। अवरुद्ध रहेका केही सडक खुलिसकेको र कतिपय सडक खुलाउने कार्य जारी रहेको जानकारी दिँदै गृहमन्त्री थापाले सर्लाही र रौतहटमा पानी निकासको प्रबन्ध मिलाइएको बताए।

उनले हेलिकप्टरबाट खाद्यान्न, राहत, म्याट, त्रिपाल पुर्‌याउने प्रबन्ध गरिएको भन्दै स्थानीय तहले खानेकुरा तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने कार्यलाई तीव्र गति दिएको जानकारी दिए। यस्तै प्रदेश १ को गोदामबाट आवश्यक म्याट, त्रिपालसमेत बाढी र डुबान प्रभावित क्षेत्रमा पठाइएको छ।

प्रधानमन्त्रीले समेत उद्धार र राहतका लागि समन्वयात्मक रुपमा चुस्त भएर लाग्न निर्देशन दिएको स्मरण गर्दै गृहमन्त्री थापाले शनिबार बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरी सबै संयन्त्र परिचालन भएको उल्लेख गरे।

सरकारी प्रयासको सराहना गर्दै बैठकमा सहभागी सांसदले पूर्वतयारीसँगै उद्धार तथा राहत कार्य थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद नवराज सिलवालले बत्तीमुनिको अँध्यारो भने झै ललितपुरमै सात जनाको मृत्यु भएको र विभिन्न क्षेत्र प्रभावित भए पनि अहिलेसम्म उद्धार, राहत तथा बाटो खुलाउने काममा कुनै पहल हुन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए।

अर्का सांसद राजकिशोर यादवले तराई क्षेत्रमा अहिले पनि कति मानिस डुबानमा रहेको, घरमा अड्किएर बसेको, राहतको पर्खाइमा रहेको र भोकै बसिरहेको जानकारी दिँदै राहत र उद्धारलाई थप प्रभावकारी बनाउन सरकासँग आग्रह गरे।

अन्य सांसदहरु दिलेन्द्रप्रसाद बडू, डिला सङ्ग्रौला, यशोदा सुवेदी, रेखा शर्मा, प्रेम सुवाल, झपडबहादुर रावललगायतले उद्धार र राहत वितरणको कार्यलाई थप प्रभाविकारी बनाउँदै रोगव्याध नियन्त्रणका लागि तत्कालै कदम चाल्न गृहमन्त्रीसँग आग्रह गरे।

सांसदले उठाएका जिज्ञासाबारे गृहमन्त्री थापाले आएका सुझावलाई गम्भीर रुपमा लिएको र आवश्यक उद्धार र राहत कार्यलाई थप तीव्र गति दिँदै क्षति न्यूनीकरणमा सरकार लागेको भए पनि आवश्यक स्रोतसाधनको अभाव तथा गोताखोरको कमीका कारण सोचेजस्तो काम गर्न नसकिएको जानकारी गराए।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : २८ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन