‘पूर्णबहादुरको सारङ्गी’ की बाटुलीको अनुभव : गर्भवती बन्न कठिन ! | Khabarhub Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ की बाटुलीको अनुभव : गर्भवती बन्न कठिन !


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपालको जनगणना, २०७८ अनुसार नेपालमा गन्धर्व जातिको जनसङ्ख्या ६ हजार ९७१ छ । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ०।०२ प्रतिशत मात्रै हो ।

निर्देशक एवम्‌ लेखक सरोज पौडेलले यही अल्पसङ्ख्यक जाति गन्धर्व परिवारको कथामा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनाएका छन् । फिल्म गन्धर्व परिवार बाबु–छोराको सम्बन्धकेन्द्रित रहेको पौडेल बताउँछन्‌ ।

फिल्ममा अभिनेता विजय बराल ‘गन्धर्व पूर्णबहादुर’को भूमिकामा छन् । उनको जोडी ‘बाटुली’को भूमिकामा नायिका अञ्जना बराइली छिन् ।

यो फिल्म कात्तिक १५ देखि प्रदर्शनमा ल्याइँदैछ । चाडबाड चलिरहँदा पनि कलाकारहरू फिल्म प्रचारमै व्यस्त छन् । यो फिल्ममा काम गर्दै गर्दाका दुई फरक अनुभूति नायिका अञ्जनाले खबरहबलाई सुनाएकी छिन् ।

पहिलो हो– गन्धर्व परिवारको खुशी । गत शुक्रबार निर्माण टीमले पोखरामा फिल्म प्रचारका लागि ‘सारङ्गी उत्सव’ आयोजना गर्‍यो । जहाँ सयौंको सङ्ख्यामा गन्धर्व उपस्थित थिए ।

उनीहरूले आफ्नो समुदायको कथामा फिल्म बनाएकोमा निर्माण पक्षलाई धन्यवाद दिएका थिए । यो घटना आफ्नो जीवनकै नयाँ अनुभूति भएको अञ्जना सुनाउँछिन् ।

भन्छिन्, ‘अल्पसङ्ख्यक गन्धर्व जातिको कथामा खासै फिल्म निर्माण भएको रहेनछ । एउटा फिल्म बन्दा त्यो समुदाय कति गर्व र खुसी महसुस गर्दोरहेछ भन्ने जानकारी मैले यो फिल्ममा काम गरेपछि पाएँ ।’

दोस्रो हो – गर्भवती ‘बाटुली’को चरित्र निर्वाह । फिल्ममा बाटुलीले युवती, नवविवाहित, गर्भवती र आमाको परिस्थिति बाँचेकी छिन् । चरित्र निर्माणमा ‘गर्भवती बाटुली’ बन्न आफूलाई निकै चुनौतीपूर्ण लागेको उनी सुनाउँछिन् ।

गर्भवती देखिन उनले कपडाको पेट बनाउनुपरेको थियो । कृत्रिम पेट हालेर अभिनय गर्दाको असहजताले आफूलाई फरक अनुभव गराएको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘कपडा राखेर पेट ठूलो बनाइएको थियो । एकदमै कसिलो हुने रहेछ । बस्न–उठ्न नै गाह्रो हुने । नक्कली पेट बोकेर काम गर्न नै त्यति गाह्रो हुँदोरहेछ । मैले पेटका कारण गर्भवतीलाई हुने असहजता बुझ्न पाएँ ।’

उनै अञ्जनासँग फिल्म पूर्णबहादुरको सारङ्गी केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानीः

तपाईं फिल्ममा किन ग्रामीण महिलाको पात्रमा देखिनुहुन्छ ?

मेरो पहिलो फिल्म ‘महापुरुष’मा म ग्रामीण पात्र थिइनँ । पुजार सार्की र पूर्णबहादुरको सारङ्गीमा चाहिँ म ग्रामीण महिलाको भूमिकामा छु ।

यी दुई फिल्म समाजका संवेदनशील विषयमा बनेका छन् । मेरो हकमा यो लागु भएको हो । त्यसै पनि अहिले ग्ल्यामरभन्दा आर्ट फिल्म बढी बनिरहेका छन् । रैथाने कथाको फिल्म बन्दा म यस्ता पात्र निर्वाह गर्छु ।

ग्याल्मर फिल्मका लागि प्रस्ताव आएको हुन्छ, तर कथा सशक्त हुँदैन । बलियो कथामा खोज्ने क्रममा मैले यस्ता पात्रहरू निर्वाह गरिरहेकी हुँ ।

बढी प्रस्ताव कस्तो चरित्रका लागि आउँछ ?

मलाई शहरिया युवतीको चरित्र निर्वाह गर्न प्रस्ताव आएका थिए । त्यस्ता फिल्मका स्क्रिप्ट मलाई कमजोर लाग्यो । एउटा कलाकारलाई राम्रै स्क्रिप्टमा त काम गर्न मन हुन्छ नि ! राम्रो लागेको स्क्रिप्टमा त मैले काम गरेको नै छु ।

तपाईं हिट फिल्ममा अभिनय गरिसकेकी उदयीमान नायिका हो, स्क्रिप्ट चयन कसरी गर्नुहुन्छ ?

मैले अभिनय गरेका फिल्म हिट भएको छ । भाग्य वा संयोग के भनौं, मलाई नै थाहा छैन ।

मलाई स्क्रिप्ट चयन गर्दा एकदमै डर लाग्छ । पहिलो फिल्म ‘महापुरुष’ हिट भयो । त्यसपछि राम्रै फिल्म गर्नुपर्छ भन्ने दबाब हुनेरहेछ । पहिलो भन्दा दोस्रो राम्रो र दोस्रो भन्दा तेस्रो राम्रो हुनुपर्छ है भन्ने लाग्दोरहेछ ।

मैले स्क्रिप्ट चयनमा यिनै कुरालाई ध्यान दिन्छु । अनि आफ्नो पात्र पनि कति सशक्त छ भन्ने हेर्छु । सकेसम्म फरक चरित्रमा आफूलाई उभ्याउने कोशिस गर्छु ।

‘पूर्णबहादुरको सारङ्गी’मा ‘बाटुली’ बन्न कत्तिको मिहिनेत गर्नुपर्‍यो ?

‘बाटुली’ बन्न चुनौती नै भयो । परिस्थिति अनुसारको भूमिका थियो । जस्तो – मैले फिल्ममा युवती, नवविवाहित, गर्भवती र सानो बच्चाको आमाको भूमिका निभाएकी छु । म यी चार परिस्थितिका लागि ‘बाटुली’ बन्नुपर्ने थियो ।

मलाई सबैभन्दा गाह्रो चाहिँ गर्भवतीको भूमिका निर्वाह गर्दा लाग्यो । शारीरिक रूपमा गाह्रो हुँदा अभिनय गर्न पनि अलिक असहज महसुस भयो ।

कपडा राखेर पेट ठूलो बनाइएको थियो । एकदमै कसिलो हुने रहेछ । बस्न–उठ्न नै गाह्रो हुने ! नक्कली पेट बोक्न नै गाह्रो हुँदोरहेछ ।

पूर्णबहादुरको सारङ्गीमा तपाईं अभिनेता विजय बराल ‘पूर्णे’ की श्रीमति ‘बाटुली’को भूमिकामा हुनुहुन्छ, बरालसँग तपाईंको पहिलो सहकार्य पनि हो, उहाँसँग काम गर्दा कस्तो महसुस भयो ?

‘कबड्डी’ फिल्म हेर्दा उहाँ रमाइलो व्यक्ति नै हो भन्ने अनुमान गरेको थिएँ । यस फिल्मको वर्कसपमा भेट्दा पनि उहाँ हँसिलो मुद्रामै हुनुहुन्थ्यो । छायाङ्कन स्थलमा पनि हँसिलो र सरल व्यक्ति पाएँ ।

विजय दाइजस्तो कलाकारसँग काम गर्न सबै नायिकाहरूले पाउनुपर्छ जस्तो लाग्छ । विजय दाइ अभिनयमा लागेको १७ वर्ष भयो । अभिनयप्रति उहाँको बुझाइ गहिरो छ । उहाँबाट सिक्ने अवसर पाइयो ।

‘बाटुली’ पात्रप्रति कत्तिको आशावादी हुनुहुन्छ ?

चलचित्रलाई लिएर एकदमै आशावादी छु । फरक पात्रको भूमिका निर्वाह गरेकी छु । दर्शकले याद गर्ने पात्र नै हो मेरो । बाँकी त दर्शकहरूले नै प्रतिक्रिया दिनुहुनेछ ।

भन्न मन लागेको केही छुट्यो कि ?

अहिले हाम्रोमा साना बच्चादेखि उमेर ९० वर्ष कटेका बाआमा पनि फिल्म हेर्न जानुहुन्छ । उहाँहरू सबैलाई छुने फिल्म हो यो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ५७ बजे

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै

रोकिएको खेल सुरु, साम्बाले फर्काइन् बराबरी गोल

काठमाडाैं – नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ । एक

विश्वकप लिग–२ : अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा

विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन