दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

माओवादी नेता वर्षमानकी आमामाथि गोली प्रहार, रौतहटको गढीमाईमा गोली चल्दा एक जनाको मृत्यु मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शीर्ष नेताबीच छलफल, परराष्ट्रमन्त्री बन्दै एनपी साउद, थप ६४ जनामा कोरोना संक्रमणगायत समाचारले प्रमुख स्थान पाए ।

माओवादी नेता वर्षमानकी आमामाथि गोली प्रहार

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ।

उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशलाई शुक्रबार राति नै नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा ल्याएर अनुसन्धान थालिएको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अगुवा गाडीमा बस्ने प्रहरी हुन् । नेता पुन भने उपचारका लागि चीनमा छन् ।

रौतहटको गढीमाईमा गोली चल्दा एक जनाको मृत्यु

रौतहटको गढीमाई नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका कारण दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो ।

विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली कसले चलायो भन्ने खुल्न सकेको छैन ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शीर्ष नेताबीच छलफल

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरूप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गर्नुभएको थियो । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेको बुझिएको छ ।

कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । प्रधानमन्त्री प्रचण्ड कांग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा रहेका छन् ।

परराष्ट्रमन्त्री बन्दै एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त हुने भएका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्। उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।

साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको बताइएको छ ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ। यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ ।

राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने
राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने भएका छन्। आगामी मे ६ मा हुने बेलायती राजा चार्ल्सको राज्याभिषेकमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जनाएको छ ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए।

वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने जनाइएको छ।

विदेशबाटै मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा ९माओवादी केन्द्र० प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताएका हुन्।

उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । प्रधामन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।’

उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए। उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ । अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ ।” नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताए । निजी क्षेत्रका समस्या समाधानको पहल भएको जनाउँदै उनले देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम रहेको बताए।

आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै उहाँले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पुरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । “व्यापार घाटा कम गर्न ट्रान्जिट पोलिसीका विषयमा, हवाई रुटका बारेमा छिमेकी देशसँग मिलेर अगाडि बढ्ने छौं”, उनले भने ।

मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।

सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले बताए । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो ।

आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।

यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको गरिसकेको छ ।

संविधानको सफल कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ : निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस ओखलढुंगा काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे ।

नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद् विघटन गरेर जनतामाझ जान पाउन भएपनि संविधानमा नै पाँच वर्ष सम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

त्यस्तै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धीको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा विदेशी हस्तक्षेप बढ्यो : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् । शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रूपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदैन केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए ।

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरू समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे ।
मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै पत्रकारहरूलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरेका छन् ।

नेपालमा थप ६४ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् ।

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् ।

वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।

लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। उनले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताए । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभर सबै बालबालिका खोप दिइने निर्देशक लालले बताए ।

वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ ।

२७ वर्षीय सुजनले छेडे जिब्रो

मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो ।

बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए । दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ । उहाँ सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे ।

सुजनको आगमनसँगै बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा सुजन उक्लिएपछि लगातर यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए ।

भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे ।

दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए । ‘दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ’, उनले भने।

भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ । नेपालको विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ०१ बजे

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि