खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री « Khabarhub

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित  ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे ।

खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताए । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, ‘हामीले चार हजारदेखि चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ’, कृषक चौधरीले भने , ‘खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।’

खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार हजारदेखि चार हजार दुई सयसम्ममा खरिद बिक्री भइरहेको छ ।’विगत वर्षभन्दा यसवर्ष गहुँको उत्पादन राम्रो भएको छ, गाउँमै किसानले मूल्य पनि पाएका छन्’ किसान चौधरीले भने, ‘त्यसैले गहुँ बिक्रीका लागि खाद्यसम्म पुगेका छैनन्, गहुँको मूल्य अझै बढ्नसक्छ ।’

किसानले गाउँमै गहुँको मोल पाउन थालेपछि खाद्यलाई बिक्री नगरेर गाउँमै बिक्री गरिरहेका छन् । गहुँ खरिद गर्ने सरकारी निकाय खाद्यले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेकोले हालसम्म गहुँ खरिद नै गर्न सकेको छैन । उक्त संस्थाले गत  चैत १४ मा मूल्य निर्धारण गरेर  १६गते देखि गहुँ खरिद गर्ने निर्णय गरेकामा हालसम्म गहुँ खरिद नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए ।

‘हाम्रोभन्दा बढी मूल्य बजारमा छ, त्यही भएर हामीकहाँ गहुँ आएको छैन’, उनले भने, ‘त्यसैले यो निर्णय पुनःविचार गर्न आग्रह गरेका छौँ, गहुँको चलनचल्तीको मूल्य  चार हजार उल्लेख गरेर पठाएका छौँ ।’ कञ्चनपुरमा यसवर्ष ३२ हजार दुई सय १० हेक्टर जमिनमा गहुँखेती गरिएको छ । यसपटक जिल्लामा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै खेती, सिँचाइ र उन्नत बीउबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए ।

‘यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन’, उनले भने, ‘समयमै सिँचाइ र उन्नत बीउँको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’ यसवर्ष तीनदेखि साढे तीन मेट्रिकटन प्रतिहेक्टर गहुँ उत्पादन हुने केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ । 

गतवर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेकामा  ९४ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँखेती हुने गरेको छ । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : ०० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर