नेपालगञ्ज– बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९-८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक दुई हजार भत्ता वितरण गरेको जानकारी दिए ।
‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ’, उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए ।
नगरपालिकाले द्वन्द्वपीडितलाई सवल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि ६५ लाख बजेट छुट्याएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट हुने आम्दानी करिब सात करोड रहेको बताइएको छ ।
राजापुरकी द्वन्द्वपीडित रविना चौधरीले आफूहरुले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रशंसनीय काम भएको बताए। ‘हामीले केहीले बाख्रापालन गरेका छौँ, केहीले सिलाइकटाइको काम गरेर जीवन चलाएका छौँ’, उनले भने । चौधरीले आफूहरूलाई स्वास्थ्य बीमालगायतका सुविधा आवश्यक भएकामा जोड दिँदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताए।
नगरपालिकाका द्वन्द्वपीडित सुजन थारूले परिपूरण र क्षतिपूर्ति भए पनि द्वन्द्वपीडितलाई राहत हुने उल्लेख गर्दै द्वन्द्वका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताए । राजापुरमा एक सय छ जना द्वन्द्वपीडित स्वरोजगार कार्यक्रममा छन् । ‘परिपूरण र क्षतिपूर्ति भए, माफी दिँदा पनि राम्रो हुन्छ’, उनले भने ।
प्रतिक्रिया