दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 9 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रतिनिधिसभा बैठक : नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग, नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने एमालेको निर्णय, सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने सरकारको निर्णय,माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवर्ता, एकैपटक ४४ सहसचिवको सरुवा, मधेश प्रदेशमा २२ प्रतिशत बजेट खर्च लगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रतिनिधिसभा बैठक : नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग

प्रतिनिधिसभा सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरूले खबरदारी गरेका छन् ।

सांसदहरू ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । देवेन्द्र पौडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झौता र सन्धिविपरीत भएकाले दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने एमालेको निर्णय

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारवाही गर्न हतार नगर्ने समेत जनाएको छ । बैठकले बैंशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्रम, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, मिसन ग्रासरुटको प्रतिवेदन पेश लगाएतका एजेण्डामाथि छलफल हुने गुरुङले जानकारी दिए ।

भारत भ्रमणमा विद्युत् निर्यातबारे सम्झौता हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा विद्युत बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताएका छन् ।

काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यसबारे जानकारी दिएका हुन् । सबै जनताको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबको ५ वर्षमा रेकर्ड बनाउने उनले बताए । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै भारत भ्रमणका क्रममा विद्युत बिक्री र उत्पादनबारे सम्झौता हुने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ चाहिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईँहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईँहरूसँग अपील गर्न चाहन्छु ।’

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताउँदै भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

‘जुन जुन प्रदेश हिजोको राज्यबाट पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु ।’ उनले भने, ‘काठमाडौँ वरिपरि नै भए पनि हिजोको राज्यसत्ताले पछाडि पारेका क्षेत्रहरू अर्थात् पालिकाहरूलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिबद्धता छ । त्यही प्रतिबद्धता अन्तर्गत नै अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरू ओइरिने छन् ।’

हिजोको राज्यले काठमाडौँको नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट बञ्चित गराएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही असुविधा र विभेद, अपमान र अन्यायविरुद्ध जनता आन्दोलन र क्रान्तिमा लागेको धारणा राखे ।

‘यी क्षेत्र क्रान्तिका आधार इलाका बने । महाभारत र खानीखोला जस्ता विकट गाउँहरू क्रान्ति र परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको क्षेत्र भएको नाताले गणतन्त्रको घोषणा पछि सबैभन्दा छिटो विकास र सुविधा पाउने अधिकार यही क्षेत्रको हो । यो क्षेत्रमा तपाईँहरूले पनि आफ्ना विकास प्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म धेरै पटक आएँ ।’ उनले भने ।

सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने सरकारको निर्णय

सरकारले सहकारी क्षेत्रमा देखिएको समस्याको सुधार गर्नका लागि कार्यदल गठन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल २०८० गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले बिदेशबाट आउदा आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्थाका लागि झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गर्ने निर्णय गरेको छ भने नेपाल कृषि वन सेवा समिकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले नेपाल व्यापार एकीकृत रणनीति २०८० स्वीकृत गरेको छ । त्यस्तै बैठकले ढल्केवर–वाणगंगा १३२ केभि प्रशारण लाईन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने, कोहलपुर बितरण केन्द्रका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले केहि सहसचिवको सरुवा गर्ने निर्णय पनि गरेको छ भने इसिमोड बोर्ड अफ गभरनेन्स मिटिङमा सहभागी हुन योजना आयोगका उपाध्यक्षलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए ।

नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकताका विषयमा भएको छलफल सकरात्मक रहेको छ ।

नक्कली शरणार्थी प्रकरण : टोपबहादुरको निवासमा प्रहरीको छापा

फरार सूचीमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।

एकैपटक ४४ सहसचिवको सरुवा

सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश सरुवा गरिएको छ ।

कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूह, माधव प्रसाद पोख्रेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र सुरेश न्यौपानेलाई प्रदेश नीति तथा योजना आयोग कोशीमा सरुवा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका बलराम निरौलालाई प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश, त्यहाँका रामकृष्ण पुडासैनीलाई सामाजिक विकास मन्त्रालय बागमती र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाजिलमा रहेका विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ ।

स्वास्थ्यतर्फका प्रमुख कन्सल्टेन्ट सर्जन एघारौँ तहका जनार्दन पन्थीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लुम्बिनी प्रदेश, शहरी विकास मन्त्रालयका विष्णु भण्डारीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नविनचन्द्र अधिकारीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीका देवराज निरौलालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको हो ।

सहसचिव पुष्पराज शाहीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश प्रमुखको कार्यालय मधेस प्रदेशका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकामा सरुवा गरिएको छ ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्यतर्फ एघारौँ तहका श्रीराम लुइँटेल स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, अर्थ मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाललाई गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका दिपक राज नेपाललाई नेपाल ट्रष्टको कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका झक्क प्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको लोकसेवा आयोग आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेशका कमल राज ढकाललाई गृह मन्त्रालय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैरेलाई गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालयका रमेश ढकालको निर्वाचन आयोग, निर्वाचन आयोगका तुल्सी बहादुर श्रेष्ठको गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका शिवराम न्यौपानेको गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुदूर पश्चिम प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।

सामाजिक विकास मन्त्रालय कर्णालीका सन्त बहादुर सुनारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, नेपाल ट्रष्टको कार्यालयका विष्णुराज ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भोजराज शर्मा९काफ्ले०लाई सामाजिक विकास मन्त्रालय, कर्णालीको प्रदेश सचिवमा सरुवा गरिएको छ।

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका यज्ञ नाथ दाहाललाई वन तथा वातावरण मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका ध्रुवराज पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका राम प्रसाद पाण्डेलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र गृह मन्त्रालयका सुमन घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ।

लोक सेवा आयोगलाई कारवाही गर्न सांसद डाँगीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोक सेवा आयोगलाई कारवाही गर्न माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले विवरण सुरक्षित राख्न नसक्ने आयोगलाई कारवाही गर्न माग गरेकी हुन् ।

विश्वमा प्रविधिले फड्को मारिरहँदा नेपालमा भने सरकारी कार्यालयबाटै डाटा हराउनु लज्जास्पद रहेको उनको भनाइ छ ।

राज्यले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : सांसद शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए ।

सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए ।

सोही क्रममा उनले भ्रष्टाचारको फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका हुन् । ‘भ्रष्टाचारका विरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ राज्यले,’ उनले भने, ‘सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दोष कोही फस्नु हुँदैन, दोषी कोही बच्नु पनि हुँदैन ।’

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताए ।

उनले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राखे । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उनले बताए ।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे । उनले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताए। उनले करमा केही घरानलाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रित हुनुपर्ने भन्दै उनले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गरे। उनले अनावश्यक साधारण खर्च नगर्ने प्रतिबद्धता सहितको बजेट उन्मुख हुने पनि बताए ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए । अहिलेको चुनौतीपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उनले बताए ।

मधेश प्रदेशमा २२ प्रतिशत बजेट खर्च

पछिल्लो नौ महिनामा मधेश प्रदेश सरकारले चैत मसान्तसम्म कूल बजेटको २१ दशमलव ४२ प्रतिशत अर्थात रु १० अर्ब पाँच करोड १३ लाख ९९ हजार एक सय ८६ खर्च गरेको छ ।

जसमा चालुतर्फ रु चार अर्ब ३६ करोड सात लाख २० हजार आठ सय ७७ र पुँजीगततर्फ रु पाँच अर्ब ६८ करोड ४३ लाख ७८ हजार तीन सय सात खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको बजेट सङ्घीय सरकारले दिने सामान्यकरण, सशर्त, राजस्व बाँडफाँटसहितमा भरपर्ने हुँदा आगामी वर्षको बजेटको आकारसमेत घटने अर्थ मन्त्रालयले जनाएको छ ।

विश्वव्यापीरुपमा रहेको आर्थिक मन्दिका कारण प्रदेश सरकारले प्रदेशको आन्तरिक आम्दानीसमेत गत वर्षको तुलनामा घटेकाले पनि त्यसको प्रभाव बजेटमा पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

बजेटको आकार चालु आर्थिक वर्षमा हुने खर्चमा पनि भरपर्ने भएकाले यस वर्ष बजेट खर्चको अवस्था न्यून रहेको र बजेट खर्च कम भएको खण्डमा बजेटको आकार केही बढ्नसक्ने अर्थ सचिव प्रेमप्रसाद भट्टराईले बताए ।

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ ।

यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ ।

सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए । नेपालमा आठ हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन् ।

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २६ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका सँगै नेपालमा २४ घण्टामा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भरतपुर महानगरले मापदण्ड विपरितका संरचना भत्काउने

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् ।

भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् ।

प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन् । महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पारिन् । यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्राचार पनि गरेको छ ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ ।

एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरूले फारम भरेका छन् ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ५९ बजे

जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।