तेहरान– इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा उक्त टिप्पणी गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौध पक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो ।
अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताएका छन् ।
मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन्। उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् ।
सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको सुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका थिए।
प्रतिक्रिया