चीनको बीआरआई परियोजनाको साख खस्किँदै « Khabarhub

चीनको बीआरआई परियोजनाको साख खस्किँदै


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन ।

जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको चेतावनी दिएका छन् । युक्रेनमा जारी आक्रमणसँगै पश्चिमा मुलुकले रुसमाथि लगाएको प्रतिबन्धको असर पनि बीआरआईमा देखिएको विश्लेषकहरु बताउँछन् ।

पछिल्ला केही वर्षयता बीआरआई मातहतका सम्झौतामा पनि कमी आएको छ । चिनियाँ कम्पनीले बीआरआई सम्झौता भएका मुलुकमा साझेदार पाउन पनि कठिन हुँदै आएको बताइन्छ ।

चीनको साङ्घाईमा रहेको फुदान विश्वविद्यालयको ग्रिन डेभलपमेन्ट एण्ड फाइनान्स सेन्टरका अनुसार नेपाल अङ्गोला, रुस, श्रीलंकाजस्ता १४ वटा मुलुकमा सन् २०२१ को तुलनामा सन् २०२२ मा बीआरआईअन्तर्गतका लगानी र निर्माण परियोजनामा शत प्रतिशत गिरावट आएको छ ।

त्यसैगरी, बीआरआई मातहत मै निर्माण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोरमा ३४ प्रतिशत, सब सहारन अफ्रिकामा बीआरआईका लगानीमा ६५ प्रतिशत तथा निर्माणमा ४४ प्रतिशत गिरावट आएको जनाइएको छ । त्यस्तै, पश्चिम एसियामा पनि चिनियाँ लगानीमा उल्लेखनीय गिरावट देखिएको छ ।

पछिल्लो समय साझेदार मुलुकहरुले पनि बीआरआईलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । बीआरआई परियोजना अन्तर्गत सञ्चालित इक्वेडोरको कोका कोडो सिनक्लेयर जलविद्युत परियोजना र अङ्गोलाको आवास कार्यक्रमको भविष्यबारे पनि प्रश्न उठेको छ । भ्रष्टाचार, भारी ऋण, वित्तीय समस्या, पारदर्शीताको अभावजस्ता कारणले पनि बीआरआईको औचित्यमा प्रश्न उठ्ने गरेको छ ।

सन् २०२१ मा एडडेटाले प्रकाशित गरेको तथ्यांकअनुसार बीआरआईसँग सम्बन्धित ३५ प्रतिशत परियोजनाहरु भ्रष्टाचार, श्रमिकमाथि हुने दुव्र्यवहार, पर्यावरणीय क्षतिजस्ता समस्याले ग्रस्त छन् ।

हालै मलेशियाले ११ अर्ब ६० करोड डलर बराबरको चिनियाँ पूर्वाधार परियोजना रद्द गरिदिएको थियो । त्यसैगरी, कजाखस्तानले १ अर्ब ५० करोड डरल तथा बोलिभियाले १ अर्ब डलर बराबरका चिनियाँ परियोजना रद्द गरेका थिए । यसबाहेक कोस्टा रिका, सुडान, इथियोपिया, इक्वेडोर, जाम्बिया, क्यामरुनजस्ता मुलुकले पनि ३ अर्ब ३० करोड डलर बराबरका चिनियाँ परियोजना रद्द एवम् स्थगित गरेका छन् ।

कोरोना भाइरसको महामारीसँगै विकसशील मुलुकमा देखिएको आर्थिक कठिनाईले पनि बीआरआईबारे नकारात्मक धारणा उत्पन्न हुने गरेको छ । बेलायतको ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले विश्वभर २ अर्ब ४० करोड डलर बराबरका १५ वटा बीआरआईअन्तर्गतका परियोजनामा आर्थिक समस्या देखा परेको उल्लेख गरेको छ ।

बीआरआईको घट्दो लोकप्रियताबारे चिनियाँ नेतृत्वले पनि चासो देखाउन थालेको विश्लेषकहरु बताउँछन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङले बारम्बार बीआरआईलाई ‘शताब्दीकै परियोजना’ बताउने गरेका थिए तर सन् २०२२ मा राष्ट्रपति सीले कुनै पनि सम्बोधनमा बीआरआईको नामसमेत उच्चारण गरेनन् । यसबाट पनि बीआरआई अझ जटिल बन्दै गएको र यसका लागि बलियो जोखिम नियन्त्रण एवम् साझेदारी आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ४१ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय