दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज दिनभर दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन, नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतले लियो १८ अभियुक्तको बयान, विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान, नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता, रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह,सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन जना बेपत्ता लगायत समाचारले प्रमुख स्थान पाए ।

दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवेदन दिएका छन् ।

तत्काल राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्य लक्ष्मी शाहसहितको हत्या भएको घटनाको सत्यतथ्य बाहिर नआउँदा नेपालको छवि अन्तर्राष्ट्रियरूपमा समेत धुमिल भएकोले यथाशक्य छिटो दरबार हत्याकाण्डको छानबिन एवम् अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट ध्यानाकर्षण गराउन चाहेको उनले बताएका छन् ।

नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतले लियो १८ अभियुक्तको बयान

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका १८ जनासँग बयान लिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो ।

आरोपितविरुद्धको बयान शुक्रबार सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

अदालतले शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले पाएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई पार्टी प्रवक्तामा प्रवक्तामा नियुक्त गरेको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन प्रमुख नवराज थापाले जानकारी दिए ।

त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन ’का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसकेका छन् ।

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड, यसरी गरियो स्वागत

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्।

इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका छन्।

विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न जानेछन्। मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन्।

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन्। आजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।

भोलि शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो। प्रधानमन्त्री प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण बढेकाले उक्त व्यवस्था हुनुपर्ने तर्क अघि सारिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव एवम् शैक्षिक अनुसन्धानकर्ता ईश्वरीप्रसाद पोखरेलले कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने र शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताए ।

मन्त्रालयको नीति तथा योजना शाखामा आफू रहँदा भएका विभिन्न अध्ययनको निचोड प्रस्तुत गर्दै पोखरेलले अझै विद्यालयको पहुँच नआएका लक्षित वर्गलाई शिक्षाको मूल प्रवाहमा ल्याउन राज्यका तर्फबाट ठोस पहल हुनुपर्ने बताए ।

उनले प्रविधिक तथा व्यावसायिक शिक्षा परिषद्ले आफैँले पाठ्यक्रम निर्माण, कक्षा सञ्चालन, परीक्षा सञ्चालन गर्नु नीतिसङ्गत नभएकाले परिषदमातहतका परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डको मातहतमा ल्याउन माग गरे । उनले आफूले गरेका अध्ययनका निचोडलाई माथिल्लो निकायबाट उचित सुनुवाइ नभएको गुनासो गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सरकारको प्रस्तावित बजेटले शिक्षक र विद्यालय कर्मचारीका मुद्दालाई सम्बोधन गर्न नसकेकाले सामुदायिक विद्यालयको सुधारमा धोका भएको टिप्पणी गरे ।

शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा रुपान्तरणका लागि गरिएको अध्ययन र निष्कर्षलाई तीनै तहका सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।

रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले विवाह गरेकी छिन् ।

काठमाडौँ २ बाट निर्वाचित सांसदले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

उनीहरुले परिवारका सदस्यहरुको उपस्थितीमा गत ७ जेठमा विवाह गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ ।

अखण्ड भारत नक्सामा नेपालको भूमि समेटिएको विरोधमा दुतावास अगाडि प्रदर्शन

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गरेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए । सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए ।

यसअघि संगठनले विज्ञप्तिमार्फत सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए ।

नेकपा एसद्वारा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) ले आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८-७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो ।

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिक गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी डी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार आयोजित एक समारोहमा उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। शर्मालाई बुधबार बसेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले दर्शन गर्ने महाकालेश्वर मन्दिरबारे थाहा पाउनुहोस्

महाकाल मन्दिर पहिलो पटक कहिले अस्तित्वमा आयो भन्न गाह्रो छ। यद्यपि, घटनालाई पूर्व ऐतिहासिक समयमा तोक्न सकिन्छ। पुराणले बताउँछ कि यो मन्दिर पहिलोपटक प्रजापिता ब्रह्माद्वारा स्थापित भएको थियो।

उज्जैनको प्राचीन नाम उज्जयिनी हो। उज्जयिनी भारतको मध्य भागमा अवस्थित यसको परम्परागत सांस्कृतिक राजधानी थियो। यो लामो समयसम्म भारतको राजनीतिक केन्द्र थियो ।

यस सहरको पौराणिक र धार्मिक महत्व सबैलाई थाहा नहुन सक्छ। यो नगर भगवान श्रीकृष्णको शिक्षास्थल हो भने ज्योतिर्लिङ्ग महाकालले यसको गरिमा बढाउँछ। आकाशमा तारक लिङ्ग, पातालमा हटकेश्वर लिङ्ग र पृथ्वीमा महाकालेश्वर मान्य शिवलिङ्ग छ।

सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन जना बेपत्ता

सुनकोसी नदीमा सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता भएका छन्।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका- ७ को लौकुनबाट सुनकोसीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । बेपत्ता भएकाको स्थानीय र प्रहरीले खोजी गरिरहेको छ।

बीआरआईका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनलाई माओवादी नेताको प्रस्ताव

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् ।

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपाध्यक्ष सापकोटाले जानकारी दिए । भ्रमण अगाडि आफूले प्रधानमन्त्रीसँग भेट गरेको र कुन विषयमा छलफल गर्ने भनेर परामर्श लिएको उनले बताए ।

“प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बीआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो”, उपाध्यक्ष सापकोटाले भने, “मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।”

उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिन्पिङसम्म पुर्याउने विश्वास दिलाएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाध रुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उनको भनाइ छ । “अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ”, उनले भने, “उहाँहरु सकारात्मक हुनुहुन्छ ।”

उपाध्यक्ष सापकोटाले काठमाडौँ–ल्हासा सिधा उडान गर्न आफूहरुले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । “हामीले एक चीन नीतिका दृढताका साथ समर्थन गर्यौँ, असंलग्न परराष्ट्र नीतिमा पनि प्रतिबद्ध रहेको र त्यहीअनुसार पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रति हामी प्रतिबद्ध छौँ भनेर विश्वास दिलायौँ”, उनले भने ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको पुनःगठन भए आफूहरुलाई खुसी लाग्ने सन्देश दिएको उपाध्यक्ष सापकोटाले जानकारी दिए । “एउटा कम्युनिष्ट पार्टीले अर्को मित्र कम्युनिष्ट पार्टीलाई वाम एकता होस्, कम्युनिष्ट पार्टीका पुनःगठन होस् भन्ने सद्भाव राख्ने कुरा त भइहाल्यो”, उनले भने, “तर उहाँहरुले बारम्बार के भन्नुहुन्थ्यो भने निर्णय गर्ने तपाईँहरुले हो, त्यसो भए हामीलाई राम्रो लाग्छ, खुसी लाग्छ, भनेर भन्नुभएको छ ।”

अहिलेको पस्थितिमा नेपाल र चीनको सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउने आवश्यकता रहेको उल्लेख गर्दैै उनले दुई देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताए ।

“चीनले आर्थिक क्षेत्रमा धेरै प्रगति गरेको छ, चीनबाट धेरै सिक्न सक्ने विषय छन् । नेपाल–चीन सम्बन्धलाई मैत्रीपूर्ण, सुदृढ र घनिष्ठ बनाउँदा नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ”, उनले भने ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायत विभिन्न प्रान्तका पार्टी प्रमुख र सेक्रेटरीसँग छलफल भएको उनले जानकारी दिए । “अहिले छलफलमा आवश्यक भएका विषय र मिलेर अगाडि बढ्ने विषयमा बृहत कुराकानी भयो”, उनले भने, “भ्रमण उपलब्धिमुलक र फलदायी रह्यो ।”

सुनको भाउ बढेको बढ्यै, कति पुग्यो?

नेपाली बजारमा सुनको भाउ बढेको बढ्यै छ। आज तोलामा ८०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको छ।

योसँगै छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।

गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

चितवन जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ ।

सबै पालिकाले स्थानीय बिदा र वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालय बन्द गरेका छन् । चार वटा पालिकाले आजदेखि जेठ २४ गतेसम्म विद्यालय बन्द गरेका हुन् ।

जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी विद्यालय बन्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । रत्ननगर, खैरहनी, राप्ती र माडीले यसरी बिदा गरेका हुन् ।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको ती पालिकाका शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

खैरहनी नगरपालिकाले नियमित सञ्चालन भइरहेका परीक्षालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : ०० बजे

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ– युरोपेली सङ्घ (इयू) ले  युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५

श्रीमतीको हत्या अभियोगमा पक्राउ

उदयपुर– आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा

बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाजजस्ता संस्थाले पो चलाएका रहेछन् 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज

रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद

रौतहट – रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक