गोरखा– गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ ।
नगरप्रमुख विवश चिन्तनले कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक अवस्था कमजोर हुन पुगेकाले उपचारात्मक कक्षा सुरु गरेको बताए ।
नगर क्षेत्र आधारभूत तह तथा माध्यमिक तहका सबै विद्यालयमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।
‘नतिजा कमजोर देखिएका विद्यालयमा शैक्षिक सुधार गर्नै पर्ने अवस्था छ’, उनले भने, ‘त्यसका लागि विद्यालयले नतिजा कमजोर देखिएका विद्यार्थीको छनोट गरी थप ७२ घण्टा आधारभूत तह र माध्यमिक तहका विद्यालयले अनिवार्य कक्षा सञ्चालन गरी कमजोर देखिएको विषय पढाउनुपर्छ ।’
विद्यालयले उपचारात्मक कक्षा पढाएबापत शिक्षकले प्रतिकक्षा तीन सय ५० रुपैयाँका दरले पारिश्रमिक पाउने जानकारी दिए । ‘शिक्षकलाई अतिरिक्त कक्षा पढाएबापत नगरपालिकाले शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउन प्रत्येक विद्यालयलाई २५ हजारका दरले रकम उपलब्ध गराएको छ’, चिन्तनले भने, ‘विद्यालयले कमजोर भएका विषयका विद्यार्थीका लागि बिहान वा बेलुकी समय मिलाएर अनिवार्य पढाउनु पर्नेछ ।’
उपचारात्मक कक्षामा विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा कमजोर रहेको विषयका आधारभूत कुरा जानकारी गराइने र त्यसले बालबालिकाको शैक्षिक अवस्थामा सुधार आउने नगरपालिकाको विश्वास छ ।
प्रतिक्रिया