आज दिनभर एमाले नेतामाथि आक्रमण गरेको भन्दै अब चुप नबस्ने ओलीको चेतावनी,गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित, राष्ट्रियसभा बैठक : बजेटमा छुटेका विषय सम्बोधन गर्न माग, निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन, दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु, साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा लगायतका समाचारले प्रमुख स्थान पाए ।
एमाले नेतामाथि आक्रमण गरेको भन्दै अब चुप नबस्ने ओलीको चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरूले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गरे । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातीय द्वेष फैलाउदै समाजलाई विभाजन गर्ने षड्यन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।
गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित
गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गते प्रदेशसभासमक्ष पेस गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएका थिए ।
सो क्रममा उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समन्नुत बनाउने अभियानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरे । प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाए। उनले वर्तमान सरकारका लक्ष्य र प्राथमिकता स्पष्टरूपमा नीति तथा कार्यक्रममा झल्केको बताए ।
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिएसँगै बहुमतले पारित भएको हो ।
राष्ट्रियसभा बैठक : बजेटमा छुटेका विषय सम्बोधन गर्न माग
राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा विसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गरे ।
सांसदहरू सुरेशकुमार आलेमगरले बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी होइन देशलाई समृद्ध बनाउने सोचबाट अघि बढ्नुपर्ने बताए। सांसद सोनाम ग्याल्जेन शेर्पाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन योजनाबद्ध कार्यक्रम चाहिने खाँचो औँल्याए ।
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ ।
संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद्भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको हो ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मदतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
निजी क्षेत्रको सहकार्य बिना समृद्धि असम्भव : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताएका छन् । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उनले स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवर्द्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताए ।
‘म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु’, उनले भने, ‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ ।’ उनले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताए ।
सांसद देवकोटाको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूतावास किन ?
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूतावासको नाम अहिले पनि शाही नेपाली राजदूतावास लेखिएको भन्दै नाम सुधार्न आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूताबासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘गणतन्त्र आएको लामोसमय बितिसक्दा पनि अझै भारतमा रहेको नेपाली राजदूताबासको नाम परिवर्तन नहुनु राम्रो भएन । यस्ता नाम अन्य कुन–कु देशमा छन् ती सबैको सुधार हुनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। रूपन्देहीको बुटवलमा आइएमई समूहको लगानीमा बनेको केबलकारको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।
बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म चल्ने केबलकारमा २४ वटा गोन्डुला (बाकस) रहेका छन्। केबलकार सञ्चालनको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ।
एक गोन्डुलामा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन्। केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।
आइएमई समूहको यो तेस्रो केबलकार हो। यसअघि चन्द्रागिरी र नवलपुरको मौलाकालिकामा केबलकार सञ्चालनमा आइसकेका छन्।
हिन्दुराष्ट्रको मागसहित राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने
राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासन सँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार दिउँसो २ बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरि व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए ।
जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका अधिकृत बैठकमा अनिवार्यरूपमा नोट गर्न पनि निर्देशन दिए ।
मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् ।
करिब दुई साता लामो विदेश भ्रमणबाट आज स्वदेश फर्किएपछि अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीले नेपालमा लगानी गर्न चाहिरहेको बताउँदै त्यसका लागि उनीहरूको लगानी सुनिश्चित गर्न आवश्यक नीति निर्माण तथा वातावरण बनाउनुपर्नेमा जोड दिए ।
गैरआवासीय नेपालीले स्वदेशमा औद्योगिक विकास तथा पूर्वाधारका क्षेत्रमा गर्ने लगानीबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
न्यूजिल्याण्ड र अष्ट्रेलियाको भ्रमण गरी फर्किएका पूर्वप्रधानमन्त्री नेपालले गैरआवासीय नेपालीले त्यहाँ गरिरहेको प्रगतिका साथै स्वदेशमा लगानी गर्न चाहेको कुरा सुन्दा आफूलाई खुसी लागेको भन्दै विदेशका विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको बताए ।
शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भने, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ।”
उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ र यसलाई अझ उचाइमा पुर्याउनेमा उनले विश्वास व्यक्त गरे।
धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उनले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए।
“आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा शेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो”, उनले भने।
शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उनले पुँजीबजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए।
“शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ। कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश विषय छ। धितोपत्र बोर्डलाई ‘अटोमेटेट सिस्टम’ लैजानुपर्छ”, उनले भने, “हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउनुपर्छ।”
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ । १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए ।
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध
सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी कार्यालय अन्तर्गत सडक डिभिजन मातहतका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ ।
वर्षायामको समयमा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले स्पष्ट पारेको छ ।
दादुरा रोगविरुद्ध नौ जिल्लामा आजदेखि खोप अभियान सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न नौ जिल्लामा आजदेखि बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाकाअनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरारुवेला रोगविरुद्धको खोप लगाइने भएको हो ।
देशका विभिन्न जिल्लामा दादुराको महामारी देखिएको र अन्य जिल्लामा पनि फैलिन सक्ने जोखिम रहेकाले बालबालिकालाई खोप दिन लागिएको हो ।
दादुरारुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्मलाई यो रोग सार्न सक्छ ।
साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । भारतमा हुन गइरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्यीय टोलीका घोषण भएको हो ।
मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुँदैछ ।
नेपालले प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्नेछ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा पहिलो पटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउनेछन् । नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।
प्रतिक्रिया