खडेरीले मकै खेतमै सुके « Khabarhub

खडेरीले मकै खेतमै सुके


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भरतपुर – खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए। उनले भने, “घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।”

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएका थिए। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेका छन्। सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेका छन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताए। उनले भने, “मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।”

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्। उनले भने, “सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।” उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए। उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्। चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ–असारमा पाक्छ। वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ। चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : २० बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक