पछिल्लो समयमा सहकारीप्रति विश्वसनीयता विस्तारै हराउँदै गइरहेको छ । धेरै सहरकारी संस्थाहरू टाट पल्टिएका छन् भने सञ्चालकहरू फरार भएको भन्ने खबरहरु पनि आइरहेका छन् । यसबाट निजी क्षेत्रका लगानीकर्ताहरूको बचत जोखिममा परेको छ । यस्तो अवस्थामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था अर्थात् एन.एम.सी.ले के गरिरहेको छ ? यस्तै विषयमा आधारित रहेर नेपाल बहुउद्देश्यीय सहरकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:
एन.एम.सी.को सुरुवात कसरी भयो ?
नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको संक्षिप्त नाम एन.एम.सी. राखियो । २०५० सालको फागुन २४ गते यसको सुरुवात भएको हो । २६ जना मान्छेले सहकारी के हो भन्ने नै नबुझी सहकारी खोलेका हुन् । बोर्डर क्षेत्र भएकोले इन्डियनहरूले हाम्रो पैसा बाहिर लगे, उनीहरुलाई किन पैसा बाहिर लैजान दिने भनेर एन.एम.सी खोलेका हौँ । अहिले एन.एम.सी मा तीन जिल्ला झापा मोरङ र इलाम समेटिएका छन् । यहाँ १ लाख ४२ हजार सदस्यको १३ अरबको कारोबार छ, हामीले ५ वटा व्यवसाय पनि गरेका छौँ । पहिलो व्यवसाय बचत तथा ऋणको व्यवसाय, दोस्रो २०७२ सालबाट डेरी उद्योग सञ्चालन गरेको छौँ, तेस्रो एकीकृत नमुना कृषि फार्म सञ्चालन गरेका छौँ, चौथो व्यवसायमा १६ वटा मार्टहरू सञ्चालन गरेका छौँ । पाचौँमा ३ वटा चिया उद्योगहरू सञ्चालन गरेका छौँ ।
सहकारीहरूमा पछिल्लो समय देखिएका समस्या, सञ्चालकहरू फरार भएका कुराहरूले झस्काउँदैन ?
सहकारीहरु नीति मूल्य मान्यता सिद्धान्तका आधारमा काम गर्छन् भने कुनै समस्या हुँदैन । हामीलाई पनि कुनै समस्या छैन । तर, जसले आफ्नो अनुकूलतामा चलाउन खोजे उनीहरु समस्यामा छन् । त्यसमा जो नजानेर बिग्रिए, तिनलाई राज्यले सच्याएर अगाडि लैजानु पर्छ । र, जानेर बिगार्नेलाई राज्यले सजायको दायरामा ल्याउनु पर्छ । हामी सुरुदेखी नै सदस्य बन्न आउनेलाई सहकारीका बारेमा बताउँछौँ र सदस्य भएका सबैलाई पनि वर्षमा दुई पटक बोलाएर सहकारीका नीति नियमबारे छलफल गर्छौँ । हाम्रा व्यवसायले गरेका काम, नाफा र घाटा सबैको जानकारी गराउँछौँ । यसले गर्दा हाम्रा सदस्यहरू एन.एम.सी. प्रति ढुक्क छन् ।
के कारण एन.एम.सी. मा समस्या देखिएन ?
समस्यामा परेका सहकारीभन्दा नपरेका धेरै छन् । हामी सदस्यलाई विश्वासमा लिएर कारोबार गर्छौँ । सहकारीको मूल्य मान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीहरू समस्यामा परेका छैनन् । राज्यले पनि सहकारी खोल्ने, चुप लागेर बस्ने गर्यो।
सहकारीमा समस्या आउनुमा राज्य पनि दोषी छ, किनकी दर्ता गरेपछि सहकारीले नीति नियमअनुसार काम गरेको छ कि छैन भनेर राज्यले पनि नियमन गर्नुपर्छ । हुन त राज्यले नियमन गर्न खोज्दा पनि गर्न सक्दैन, किनभने राज्यले संघ र सहकारीको सङ्ख्या बढ्दै गए पछि त्यो अनुसारको पहिला नै अनुगमन गर्ने क्षमता विकास गरेन । त्यसकारणले यो समस्या आयो । कतिपय सहरकारी सञ्चालन गर्ने व्यक्तिहरूको नियत राम्रो भएपनि उनीहरूले प्रविधिलाई बुझ्न सकेनन् र समस्यामा परे ।
अहिले भइरहेका सहकारीलाई नियमन गर्न छुट्टै संस्था चाहिएको हो ?
सहकारी स्वनियमनमा चल्नुपर्ने संस्था हो । सहकारीहरूले स्वनियमन गर्न नसकेर सङ्कटमा परेपछि राज्यले हेरिदिनुपर्थ्यो । राज्यले त्यस किसिमको संयन्त्र बनाउनुपर्थ्य, भएको संयन्त्रमा पनि त्यस्तो नैतिकता भएन । तिनीहरूले सही समयमा काम गर्न सकेनन् । त्यसैले अहिलेको अवस्थामा हेर्दा राज्यले सहकारीहरूलाई मनिटरिङ गर्ने एउटा तेस्रो निकाय बनाउनु पर्ने वा भएका विभागलाई सशक्त बनाउनुपर्यो ।
तपाइले सहकारी मार्फत कृषि क्षेत्रका बढी उन्मुख भएर सफलतामा पनि हुनुहुन्छ यो सफलताको मोडलहरू के छन् ?
हामीले ग्रामीण भेगका मान्छेलाई मध्यनजर गर्दै दूध उत्पादनका लागि १५ करोड लगानी गरेर डेरी खोल्यौँ । त्यो डेरीले नै कृषि जन्मायो । त्यससँगै हामीले यसरी पशुपालन गर्ने, फाइदा यसरी लिने भनेर बुझायौँ । हामीले जग्गा खरिद गरेर उन्नत प्रजातिका बाछीहरू भारतबाट ल्याएर गाई फार्म सुरु गर्यौँ, त्यसपछि तरकारीका बेर्नाहरू सुरु गयौँ । माछा पालन गर्यौ । हामी सफल भएका कार्यहरू कृषकलाई सिकाउने र उनीहरूले उत्पादन गरेका सामग्री हामीले किनेर मार्केटमा ल्याउने भनेर सुरु गर्यौँ । त्यसमा पनि हामीले जैविक मल र जैविक विषादी मात्र प्रयोग गर्न प्रोत्साहन गर्यौँ । रासायनिक माल प्रयोग नगरौँ भनेर भन्यौँ । त्यसैले बजारमा हामी रासायनिक मल नै प्रयोग नगरेका तरकारी ल्याउँछौँ ।
आगामी योजना के छ ?
अहिले हामीले सिटीसी चिया उद्योग सुरु गर्यौ र त्यो बजारमा पनि ल्याइसक्यौँ । अब चाँडै मह उद्योग खोल्दैछौँ । किसानले उत्पादन गरेका खाद्यान्न बाली किनेर प्याकेजिङ गरेर बजारमा ल्याउँछौँ । खाद्यान्न प्रशोधन गर्ने उद्योग यही वर्षभित्र ल्याउँछौँ ।
प्रतिक्रिया