विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आज असार १७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

फ्रान्समा दङ्गा जारी

फ्रान्सको नान्तेरेमा प्रहरीको गोलीबाट मारिएका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

नाहेलको अन्त्येष्टिमा हजारौँको संख्यामा युवाहरूको सहभागिता रहेको थियो । सहभागीले आँसुका आँखाले उनको अन्तिम बिदाइ गरे ।

मिडिया रिपोर्टका अनुसार सयौँ मानिसहरूले अन्त्येष्टि अवधिमा ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए ।

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । 

नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

यसैबीच, नाहेल हत्याको विरोधमा केही दिनदेखि सुरु भएको दङ्गा अझै जारी छ । यही क्रममा आक्रोशित प्रदर्शनकारीको समूहले पेरिसको दक्षिणमा रहेको एक सहरका मेयरको घरमा कार जोतेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।

मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन्– प्रदर्शनकारीहरूले आगो लगाउनुअघि घरममा गाडी जोते, सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’

यसैबीच, फ्रान्समा जारी दङ्गाका क्रममा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ । आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।

 चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै कमजोर

 चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । 

चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो ।

गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई) का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झरेको बताएको छ । ‘गैरउत्पादन पर्चेजिङ म्यानेजर्स’ सेवा र निर्माण क्षेत्रको सेन्टिमेन्टलाई मापन गर्ने सूचकांक हो ।

यस्तै उपसूचांक पनि खस्किएको छ । यो महिना ५२. प्रतिशत पुगेको छ ।

चीनको अर्थतन्त्रका लागि सेवा क्षेत्र महत्वपूर्ण मानिन्छ । यसले जीडीपीको ५८ प्रतिशत र रोजगारीको ४८ प्रतिशत योगदान गर्दछ ।

उपभोक्ताको खर्चले प्रेरित सेवा र निर्माण क्षेत्रले यो वर्षको पहिलो आधामा चीनको अर्थतन्त्र वृद्धिदर कायम राखेको बताइएको छ ।

यस्तै, तथ्यांकमा औद्योगिक कारखाना गतिविधिको प्रमुख सूचक उत्पादन पीएमआई जुन महिनामा ४९ पुगेको जनाइएको छ । यो मे महिनाको तुलनामा सामान्य सुधार हो ।

५० भन्दा माथिको पीएमआई रिडिङले विस्तारलाई संकेत गर्दछ । तर त्यो स्तरभन्दा तलको कुनै पनि कुराले संकुचन देखाउँछ ।

श्रीलङ्कामा घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव पारित

श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद‍्मा बहुमतले पारित भएको छ ।

उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए। श्रीलङ्का संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसदलाई जानकारी दिएका छन्  ।

विपक्षी सांसद वडिवेल सुरेश, कुमारा वेलगामा र स्वतन्त्र सांसद अनुरा प्रियदर्शन यापा र डा सुदर्शनी फर्नान्डोपुल्ले प्रस्तावको पक्षमा मतदान गरेकाे कोलम्बो ग्याजेटले उल्लेख गरेको छ ।

संसद्ले शनिबार घरेलु कर्जा अनुकूलन सम्बन्धी प्रस्तावमाथि पूर्णता दिन बहस गर्ने निर्णय गरेको थियो ।

यसअघि सार्वजनिक वित्त समिति (सीओपीएफ)ले घरेलु ऋण अप्टिमाइजेसनसम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।

यसअघि डा हर्ष डे सिल्भाको अध्यक्षतामा रहेको सार्वजनिक वित्त समितिमा घरेलु ऋण अप्टिमाइजेसनबारे विस्तृत छलफल भएको थियो ।

कोलम्बो ग्याजेटका अनुसार श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) का गभर्नर डा नन्दलाल वीरासिंघे, कोष सचिव केएम महिन्दा सिरिवर्द्धना र अर्थ, आर्थिक स्थिरता र राष्ट्रिय नीति मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल भएको थियो ।

आर्थिक सङ्कटको  सामना गरिरहेको श्रीलङ्काले यसबाट मुक्ति पाउनका लागि विभिन्न किसिमका आर्थिक र  राजनीतिक उपायहरू अवलम्बन गरिरहेको छ ।

‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ’

भारतको गुजरात राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणले गुजरातलाई सबैभन्दा बढी फाइदा पुगेको बताएका छन् ।

जामनगरमा आयोजित एक कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा मुख्यमन्त्री पटेलले प्रधानमन्त्री मोदीको हालैको अमेरिका भ्रमणबारे उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशको विकासमा गरेको योगदानको प्रशंसा गर्दै मुख्यमन्त्री पटेलले गुजरात सरकार र अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीबीच भएको  समझदारीबाट आफ्नो राज्यलाई अधिक लाभ पुग्ने बताए । “प्रधानमन्त्री मोदीको सरकारको नौ वर्षको अवधिमा देशले सबै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, उहाँको अमेरिका भ्रमणबाट गुजरातले सबैभन्दा बढी फाइदा उठाएको छ, हामी अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीसँग सहकार्य गर्दैछौँ, चाँडै उक्त कम्पनीको यहाँ हामी शिलान्यास गर्नेछौँ,” मुख्यमन्त्री पटेलले भने ।

अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले दुई अर्ब ५० करोड अमेरिकी डलरको लगानीमा गुजरातको सानन्दमा सेमीकन्डक्टर, सेमीकन्डक्टर मेमोरीलगायत सूचना प्रविधिसँग सम्बन्धित विभिन्न उपकरणको ‘एसेम्बली, टेस्ट, मार्किङ, र प्याकेजिङ’ कारखाना स्थापना गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, प्रधानमन्त्री मोदीका साथै अमेरिकी तथा भारतीय उच्च अधिकारीहरूको उपस्थितिमा गुजरातमा माइक्रोन टेक्नोलोजीले कारखाना स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा गुजरात सरकारका अधिकारीसँग हस्ताक्षर गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : ०३ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का