सबै चर्चित गीत राम्रा हुँदैनन् « Khabarhub

सबै चर्चित गीत राम्रा हुँदैनन्

गीत चर्चित हुँदा छायामा गीतकार


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गीत संगीत क्षेत्रमा गायकको जति चर्चा हुन्छ त्यत्ति नै चर्चा संगीतकार र रचनाकारको हुँदैन। गीत चिनेर पनि धेरैले गीतकारलाई चिन्दैनन्। गायक चर्चित हुँदा गायकलाई चिनाउने गीत सर्जक प्रायः छायामै हुन्छन्। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका लागि गीत लेख्ने लोकप्रिय गीतकार सुवासचन्द्र ढुंगेलसँग नेपाली गीत संगीत र सिर्जनाको विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंका गीतले २०३०/०४० को दशकमा चर्चा पाए। त्यो समय कस्तो थियो ?
बच्चा बेलादेखि नै म गीतहरू सुन्थेँ। ३४ सालमा एसएलसी दिएँ। त्यो भन्दा पनि अगाडि गीतहरू लेख्ने र फरमाइसमा पठाउने लेखहरू लेख्ने बाल कार्यक्रममा लेखहरू लेख्ने गर्थेँ। एसएलसीपछि मेडिसिन क्याम्पसमा भर्ना भएँ। त्यसको आदि खर्च रेडियो नेपालको पारिश्रमिकबाट जुटाउथेँ। त्योबाट पनि सङ्गीतप्रति आकर्षित भएँ।

एक जना सङ्गीत अनुरागीबाट स्रष्टा हुन कत्तिको संघर्ष गर्नुपर्यो ?
मेरो डिएमपिएस नामक स्कुलमा पढेँ। त्यहाँ विभिन्न साहित्यिक कार्यक्रम हुन्थ्यो। पढाइ पनि राम्रो थियो। पढाइको साथ साथै अरु भुवन केसी, विनोद चौधरी, रवीन्द्र खड्का त्यही स्कुल पढ्थे उनीहरू बाट नै अरु काम गर्नुपर्छ है भन्ने सोचाइ आयो र त्यही अनुसार गीतहरू कविताहरू लेख्न थाले। पछि रेडियो नेपालमा वासुदेव मुनाल, पाण्डव सुनुवार हामी सुरुवातदेखि नै जान थालेका हौँ।

तपाईंको पहिलो ‘गीत जति चोट दिन्छौँ देऊ मायालु’ त्यो बेलामा स्वर सङ्गीत भक्तराज आचार्यले गर्नुभएको थियो। त्यो सम्झना कस्तो छ ?
त्यो बेला एसएलसी सकेर माहाराज क्याम्पसमा हेल्थ असिस्टेन्ट पढ्दै थिएँ। त्यति बेला गीतहरू पनि लेख्थेँ। हामी गीत लिएर रेडियो नेपालमा पनि जान्थ्यौँ। भक्तराज आचार्य त्यही काम गर्नुहुन्थ्यो। मैले २०३८ सालको मंसिरमा तीन वटा अन्तरालाई दुई अन्तरा बनाएर गाएँ। रेकर्डिङ भएकामध्ये त्यो गीत तेस्रो थियो। चर्चित चाहिँ पहिलो गीत हो।

धेरै गीत रेकर्ड गराउनुभएको थियो। पेसा अर्कै थियो। समय कसरी मिलाउनुभयो ?
कामले त्यसलाई ऊर्जा प्रदान हुन्छ। काम गर्ने क्रममा धेरै व्यक्तिसँग भेट हुन्छ। त्यसको आधारमा नै गीत तयार हुन्छ। हिँडेर गीत लेख्ने मेरो बानी नै थियो। त्यसैले कामले कहिले अप्ठ्यारो भएन।

तपाईंका प्रकाशित कृतिहरू के कस्ता रहे ?
मैले गीत नै लेख्ने हो। २०४५ सालमा ‘चोट के हो बेथा के हो’ भन्ने एल्बम नै निस्कियो। त्यही एल्बममा रविन शर्मा र तार थापाले गाउनु भएको ‘फुल झरे पनि काडा झर्दैन’ भन्ने पनि थियो। त्यसमा १० वटा गीत समेटिएका थिए। पछि सुवास एल्बम निस्कियो। देवाकर खड्काको आनन्द नै आनन्द भन्ने भजनको एल्बम पनि निकाल्नु भएको छ। त्यस्ता धेरै गीत निस्किएका छन्। पुस्तकको रूपमा मेरो एउटा ‘भाँचिएको मन’ भन्ने गीतसंग्रह र अक्षरका गोली भन्ने मुक्तक संग्रह निस्केको छ। अरु पाइप लाइनमा छन्।

सबैभन्दा बढी मन छोएको गीत कुन हो ?
सबै चर्चित गीत राम्रा हुँदैनन्। सबै राम्रा गीत चर्चित पनि हुँदैनन् भने जस्तै ‘जति चोट दिन्छौ’ वा ‘फूल झरे पनि काँडा झर्दैन’ त्यो भन्दा राम्रा गीत अरु पनि मैले लेखेको छु। सङ्गीता राणा प्रधानले गाउनु भएको ‘मन बिना बाँच्न पाए हुन्थ्यो दुई चार वर्ष’ यो पनि मनपर्छ। दीपक खरेलले गाउनुभएको ‘मेरो यी हातहरूमा तरबार र छुरा नहोस् जसले जति घात गरे पनि बदलाको कुरा नहोस्’ यी गीतहरू चर्चामा छैनन् तर मनमा छन्।

पछिल्लो समय गहकिलो सिर्जना पाइँदैन। यो किन भएको होला ?
पहिलाका मात्र गीत राम्रो होइनन्। अहिलेका पनि राम्रा छन्। पहिला गीत रेकर्ड गराउन तपस्या जस्तो महिनौ कुर्नुपर्ने हुन्थ्यो। अहिले एउटा स्टुडियोमा गएर पाँच मिनेट अभ्यास गरेर गाउँछ। त्यसैले अहिले क्रियटिभिटी भनेको तपस्या हो। त्यो कम हुँदै गएको छ। टेक्निकल कुरा बढी हुँदै गए पनि लेखाइ र म्युजिकमा धेरै परिवर्तन छैन।

नयाँ पुस्तामा मेहनत कम भएको हो ?
सबैमा मेहनत कम भएको भन्न मिल्दैन तर धेरै कम भएको छ। एउटा दिगो रूपले सिर्जनामा लाग्ने भन्दा पनि छोटो समयमा चर्चित हुने र कमाउनेमा लागेका छन्। कोही सिक्नुपर्छ भनेर पनि आएका छन्।

पुराना पुस्ता कसरी अहिले ओझेलमा परे ?
यो समयले नै गर्ने हो। कसैले छेकेर छेकिँदैन। नयाँलाई ठाउँ दिनुपर्छ। तर पुरानालाई पनि सम्मान गर्नुपर्छ। नयाँ पनि राम्रो हुनुहुन्छ।

अरु देशमा पुरानो पुस्तालाई इतिहास मानेर राम्रा कुरा सिक्ने गरेको पाइन्छ। तर नेपालमा किन भएन ?
भारतमा पाँच वर्षको बच्चाले लता मंगेस्करको गीत गाएको हुन्छ। यहाँ त्यति छैन। त्यहाँ गुरुकुलदेखि कै शिक्षा त्यस्तो भयो। नेपालमा पनि कम छ तर त्यसलाई हामीले पुरानालाई सम्मान गर्नुपर्छ भनेर सिकाउनुपर्छ। पुराना जगलाई बिर्सेर हामी घर बनाउन सक्दैनौँ भन्ने कुरा सिकाउनु पर्छ।

अहिले भाइरलको जमाना आइसको छ। अबका साना बच्चालाई साङ्गीतिक क्षेत्रमा प्रेरणाको स्रोत को बन्ने ?
अहिलेको नयाँ पुस्ताले पुरानालाई आइडल मानेर म यसरी जान्छु भन्नु राम्रो हो। अब आइडल म मान्छु तर म फरक जान्छु भन्नु पनि राम्रो हो। त्यसैले हामीले आदर्श बन्दियौँ भने पछिल्लो पुस्तालाई लाभ हुन्छ। म किरण खरेल, रत्न शम्शेर लगायतको प्रेरणाबाट आएको हुँ।

अहिले गीत संगीत क्षेत्रमा कमजोरी के मा भएको हो जस्तो लाग्छ ?
सबै कुरामा सरकारलाई ल्याएर हुँदैन। सरकारले पनि एउटा नीति त बनाइदिनुपर्छ। उनीहरुबाट रुचि के हो भनेर सानो उमेरदेखि वा स्कुलमा पनि सहज बनाइदिनुपर्छ। संगीतलाई सबैको पहुँचमा पुर्याउनुपर्छ।

पाठकको रुचि अनुसार लेखकले नलेखेको हो ?
हो। अहिले लेखक भन्दा पाठक जान्ने भएका छन्। त्यसमा नयाँ पुस्ताको रुचि के हो त्यो बुझेर त्यता लाग्यो भने स्रष्टा टिक्छ नत्र हराएर जान्छन्।

तपाईंले नयाँ पुस्ताको लागि भनेर केही गर्नु भएको छ ?
मैले नयाँ पुस्ताको लागि भनेर गीत लेख्ने शैलीमा फरकपना ल्याएको छु। रेकर्ड भइसकेको छैन। सुगम संगीत भनेर पहिलाका गीत ल्याएर १२ मा पढ्नेलाई दियो भने सुन्दैनन्। त्यसैले मैले फरक पना ल्याएर लेखेको छु।

तपाईं मुक्तक कसरी लेख्नु हुन्छ ?
मुक्तक चार लाइनको र छिटो प्रभावित बनाउने भएकोले मनपर्छ। चेतन कार्कीसँगको लामो समयको सङ्गतबाट उहाँको प्रेरणाबाट मुक्तक लेख्न थालेको हुँ। उहाँ पनि मुक्तक लेख्नु हुन्थ्यो। अहिले म पनि मुक्तक लेख्छु।

तपाईंले धेरै सम्मान र पुरस्कार पाउनु भएको छ कस्तो लाग्छ ?
सम्मानित हुँदा धेरै खुसी हुने अवस्था छैन। हामी गीत सङ्गीतमा लागेको मान्छेहरुलाई सम्मान पुरस्कार भन्दा पनि एउटा बोझ थपियो। अझ राम्रो दिनुपर्छ भनेर लिन्छु मैले। जहिले पनि मैले लेख्दा अझ राम्रो लेख्नसक्छु कि सक्दिन जस्तो लाग्छ। त्यसैले पुरस्कारले थप चुनौती दिएको जस्तो लाग्छ।

तपाईंको जन्मस्थान भक्तपुर कटुन्जेमा तपाईंको गीत गाउँदा कस्तो भएको थियो ?
मेरो चर्चित गीत ‘जति चोट दिन्छौँ देऊ मायालु’ लाई सबैले त्यो गीत तेरो जीवनको गीत हो कि के हो भने सोध्थे। यो गीतले पनि छोएको थियो। पछि विवाह हुने समयमा पनि यो गीत अगाडि आएको थियो। सबै जनाले धेरैले गीत नगाउने भएकोले राम्रो प्रतिक्रिया दिन्थे। नयाँ गीत आउँछ भनेपछि साथीहरूसँग बसेर सुन्थ्यौँ।

नयाँ पुस्तालाई के भन्नु हुन्छ ?
पुरानो गायकले नयाँ पुस्ताको गीत गाउने। नयाँले पनि पुराना पुस्ताले लेखेको गीतहरू गाउने। नयाँ पुस्ताले धेरै चर्चाको पछि नलाग्ने सिर्जना भनेको लामो समयको प्रतिफल हो। लामो समयको तपस्या हो। मैले तपस्या गर्नुपर्छ भनेर बुझ्नुपर्छ।

अहिले पुराना सष्टाले नयाँ पुस्तासँग मिलेर काम गर्नुपर्छ भनेर स्वर्णिम गायन समाज निर्माण गरेको छ। यो विषयमा के भन्नु हुन्छ ?
हामी गीतकार भएकोले त्यसमा प्रत्यक्ष संलग्न छैनौँ। तर यो राम्रो हो। यो पुरानो यसरी आएको रहेछ यति दुःख गरेको रहेछ। हामीले पनि यसरी नै जानुपर्छ भनेर भन्ने अनुभूति नयाँमा हुन्छ। महिनामा हजारौँ गीतहरू आउँछन्। त्यसको राम्रो पक्ष देश र राष्ट्रलाई आवश्यकता पर्ने खालका गीतलाई बढी माया र हौसला दिनुहोला भन्न चाहन्छु। (एभिन्युजसँगको सहकार्यमामा तयार अन्तवार्ता)

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ०१ बजे

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता