परम्परागत घारमै मौरीपालन | Khabarhub Khabarhub

परम्परागत घारमै मौरीपालन


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

रामपुर– कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो । 

मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो भन्ने गाउँभरी नै चर्चा हुन्थ्यो । तर अहिले भने यसरी परम्परागत ढङ्गले मौरीपालन गर्ने चलन गाउँमा कम हुँदै गएको छ । गाउँमा बस्ने बुढापाकाले परम्परागत रुपमा आफूले गरिआएको व्यवसाय झट्ट हटाउन नसक्दा केहीले निरन्तरता दिएका छन् । पहिलेको तुलनामा घारको सङ्ख्या भने घटाउँदै गएका छन् ।

रामपुर नगरपालिका– १ कुमैडाँडामा गोबद्र्धन वंशीको घरमा पुरानो शैलीमा घरकाभित्ता, बार्दलीमा लहरै मुढेघार छन् । परम्परागत व्यवसाय गाउँमा सबैले छाड्दै गएको अवस्थामा उहाँले भने निरन्तरता दिइरहेका छन् । 

उनले गाउँमा जङ्गलबाट उडेर आएका मौरी छोपेर घारमा राखेर पाल्न सुरु गरेका हुन् । माउको सङ्ख्या वृद्धि हुँदै जाँदा गोला छुट्टाएर क्रमिक रुपमा घार विस्तार गर्दै गएको उनले बताए। उनका घरमा हाल १३ वटा परम्परागत (मुढेघार) र एकवटा आधुनिक घारमा मौरी छन् । 

मुढेघारमा मौरी पाल्न समस्या छैन । तैपनि हिजोआज गाउँमा धेरैले छाड्दै गएका छन् । घार तयार पार्न गाउँमा काठपातमा लगानी गर्नुपर्दैन । आफ्नै खरबारीका काठले घार तयार हुन्छन् । चिलाउने, कटुस, क्यामुना, टुनीलगायतका काठबाट मौरी बस्न मिल्ने खालको हातले नै कुँदेर घार तयार पारी मौरीगोला राख्ने गरेको वंशी बताउँछन् ।

उनले एक वर्षमा ५० मानासम्म मह उत्पादन गर्छन्। प्रतिमाना रु एक हजारमा अहिले मह धमाधम बिक्री भइरहेको छ । मौसम राम्रो भएका बेला मह धेरै उत्पादन लिन सकिन्छ । खडेरीयाममा भने उत्पादन घट्ने उनको भनाइ छ । ‘दुई छोरा रामपुरको बजार क्षेत्रमा बसोबास गर्छन्, हामी श्रीमान श्रीमती गाउँमै बसेर मौरीपालन, बाख्रा, भैँसी, कुखुरापालन, कोदो, मकै, गेडागुडी खेतीमै भुलेका छौँ’, उनले भने, ‘गाउँ छाडेर शहर बजारमा किनेर खानुभन्दा आफ्नै पौरखमा रमाउँदाको मज्जा नै बेग्लैछ’ ।

तीन-तीन महिनामा पनि मह निकाल्न सकिने हुँदा एकै घारमा राम्रो समय परेका बेला सात मानासम्म मह निकालेको वंशीले अनुभव सुनाए । माउ धेरै भएमा तीन-तीन महिनामा उकम हुँदाका बखत छ-छ महिनामा उनले मह काढ्छन् । उनका अनुसार मह निकाल्नका लागि असार, साउन, माघ, चैत महिना उपयुक्त समय हो । पहिलाजसो ठूलो सङ्ख्यामा बस्तुभाउ पालन गर्न नसकिए पनि थोरै–थोरै भए पनि गाउँमै बसेर पशुपालन, खेतीपातीमा समय बिताउने माध्यम बनेको उनको भनाइ छ ।

कुमैडाँडा क्षेत्रमा करिब ६५ घरपरिवारको बसोबास छ । पहिला सबैका घर–घरमा मौरीघार राखिन्थ्यो । अहिले भने पाँचदेखि सात घरपरिवारमा मात्रै सीमित बन्न पुगेको छ । रामपुर १ मकैडाँडाका राजकुमार खत्रीको घरमा अहिले १२ मुढेघार छन् । तीमध्ये सात घारमा मौरी छन् । विसं २०५५ देखि परम्परागत घारमा मौरीपालन गर्दै आउनु भएका खत्री अहिले भने पहिलाको तुलनामा कम घारमा मौरीपालन गरिएको बताउँछन् । 

जङ्गलबाट उडेर आएको मौरी छोपेर घारमा पाल्न थालेका खत्रीले हरेक वर्ष त्यसबाटै गोला विभाजन गरी घार बढाउँदै गएको बताए । उनले भने, “हिजोआज गाउँमा बस्नेक्रम पातलिँदै गएको छ, हाम्रो परिवार अहिले गाउँदेखि तल बेँसीमा पनि बसोबास गरेपछि मौरीपालन व्यवसाय कम हुँदै गएको छ” । परिवार दुई ठाउँमा बसोबास गर्दा रेखदेख गर्न अप्ठ्यारो भएकाले घार घटाउँदै गएको उनले बताए।

 खत्रीले दुई दर्जन बढी घारमा मौरीपालन गर्दा वर्षमा ७० मानासम्म मह उत्पादन गर्ने खत्रीले हिजोआज भने वर्षमा १२ देखि १५ मानासम्म मह उत्पादन हुने गरेको अनुभव बताए  । मुढेघारको मह औषधिका लागि प्रयोग हुने भएकाले विदेशमा बसोबास गर्ने नेपालीको मागअनुसार विभिन्न देशमा मह पुर्‍याउनु भएका खत्रीका घरमा अहिले पनि मह खरिद गर्न जाने गर्छन् । तर उत्पादन कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपरेको छ ।

पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिन व्यवसाय गर्न आवश्यक पर्ने सामग्री तथा उत्पादित वस्तुको बजारमा खपत गराउन वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सहयोग गर्ने नगर प्रवक्ता एवम् वडाध्यक्ष कपिलबहादुर खाण बताउँछन्। ‘गाउँमा उत्पादन भएका विभिन्न उपभोग्य वस्तु पोखराको न्युरोडमा रहेको पाल्पा हाउसमा राखेर बजारीकरण गरिदिने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘स्थानीयले बाहिर लगेर बिक्री गर्ने उद्देश्यले उत्पादनलाई बढाउनुपर्‍यो’ ।

व्यवसायमा लगानी गर्न नपर्ने, सामान्य रेखदेख गरेर पनि यस व्यवसायबाट मनग्य कमाउन सकिन्छ । मानिसहरूले पछिल्लो समय परम्परागत मौरीपालन अहिले छाड्दै गएको उनको भनाइ छ । मौरीपालनमा सोख भएकाले बजारमा आधुनिक घार खरिद गरेर घरमा पाल्ने गरेको पाइन्छ ।

मह बेचेर मनग्य आम्दानी गर्न सकिने, लगानीमा धेरै रकम खर्च गर्न नपर्ने, बिक्रीका लागि बजार सहज हुँदा परम्परागत मौरीपालन व्यवसायीलाई निरन्तरता दिन सकियो भने स्थानीयवासीको आयस्रोतमा टेवा पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ११ बजे

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं– संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ