दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कृष्ण जन्माष्टमी मनाइयो, कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग, तस्करी र सरकार सँगसँगै रहन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ, एमालेमा पहिरो जाने नेकपा एसका सम्मानित नेता खनालको दाबी, सीमा नाकामा फहराइयो एक सय आठ फिट अग्लो राष्ट्रिय झण्डा, विद्युतीय सवारीका लागि ५१ चार्जिङ स्टेसन एकसाथ सञ्चालनमा, पहिलो पटक एसिया कप खेलेर स्वदेश फर्केको क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागतलगायतका समाचारले प्रमुख स्थान पाए ।

कृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार देशभर भगवान् श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइएको छ ।

यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

राष्ट्रपतिद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गएर दर्शन एवं प्रसाद ग्रहण गरेका छन् ।

सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशमशेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए ।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि वीर अस्पताल लगियो

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

काठमाडौँको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त, आईसीयूमा उपचार हुँदै

खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ ।

आज काठमाडौँको भृकुटीमण्डपमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रमपछि सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषिमाथि कडा कारबाहीको माग गरेका छन् ।

‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेविसंघद्वारा गृहमन्त्रीको पुत्ला दहन

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ ।

आज बेलुकी दोषिलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ त्रिवि इकाइ सभापति विष्णु बडैलाले जानकारी दिए । यादवमाथि भएको सांघातिक हमलालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले दोषिमाथि कडा कारबाहीको माग गरेका छन् ।

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् ।

प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।

तस्करी र सरकार सँगसँगै रहन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका हुन् ।

एमालेमा अब पहिरो जान्छ, जानुपर्छ; विस्फोट र विद्रोह पनि हुन्छ : सम्मानित नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् । बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र विस्फोट र विद्रोह हुने दाबी गरेका हुन् । एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने उनले बताए । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ । एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए ।

उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आज हामीले प्रवेश गराएका छौँ । यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ । र, हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र, एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विस्फोट हुनसक्छ ।’

सीमा नाकामा फहराइयो एक सय आठ फिट अग्लो राष्ट्रिय झण्डा

नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलबार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए ।

सो अवसरमा अर्थमन्त्री यादव र मलङ्गवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्त रुपमा पार्कको उद्घाटनसमेत गरे । कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रुपमा रहेको बताए । राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रविम्बित गर्ने उनले विश्वास व्यक्त गरे ।

देउवा समूहबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : नेता डा. शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्नसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिए ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईँ हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?”

विद्युतीय सवारीका लागि ५१ चार्जिङ स्टेसन एकसाथ सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन बुधबारदेखि एकसाथ सञ्चालनमा आएका छन् ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् ।

पहिलो पटक एसिया कप खेलेर क्रिकेट टिम स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ  ।

बुधबार दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ९ : ०८ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको