जहाँ बीपीका नाममा चार दशकदेखि कोठा खाली छ … « Khabarhub

जहाँ बीपीका नाममा चार दशकदेखि कोठा खाली छ …


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान स्व. श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।

विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त  सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गर्थे । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।

‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो  । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’ बीपी कतिपटक घरमा आए गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।’

सादा खाना बीपी बाबुले खाने गरेको प्रधान बताउँछिन् । उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, ‘बीपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनको स्मरण छ । बीपीले भनेको कुरा सम्झिँदै उनले भनिन्, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।’ बीपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उनको भनाइ छ । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने विपीको स्वभाव थियो ।

बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ ।

ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बीपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको उनको स्मरण अहिले पनि ताजै छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : ३४ बजे

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ