ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह « Khabarhub

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई उक्त आग्रह गरिएको हो ।

वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागिसमेत सहज रहेको उल्लेख गर्दै उनले थप केही महत्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गरे । 

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए। माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने र समयसीमै  सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे ।

सो आयोजना दुई देशबीचको मैत्री सम्बन्धलाई थप विस्तार गर्ने एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गरे। सरकारले वैदेशिक लगानीको सहजिकरणका लागि कानुनी, नीतिगत तथा संरचनागत सुधार गरेको जानकारी दिँदै उनले निर्माणाधिन माथिल्लो त्रिशूली एक आयोजना जस्तै अन्य ठूला र महत्वपूर्ण आयोजनामा लगानी गर्न विशेष अनुरोध गरे ।

माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई आफू वन तथा वातावरणमन्त्री रहँदा वनसँग सम्बन्धित विषयलाई सहजीकरण गरेको र शीघ्र निर्णय गरिदिएको स्मरण गर्दै मन्त्री बस्नेतले तोकिएको समयमा आयोजना सम्पन्न गर्न सरकार र मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण हुने विश्वास दिलाए।

सो आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाई  अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताएका छन् ।

उनले कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि आग्रह गर्ने विश्वास दिलाएका थिए। ‘म यहाँबाट फर्केपछि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आग्रह गर्नेछु । त्यसको उदाहरणका रुपमा माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना हो भन्ने विश्वास दिलाउँछु’, प्रमुख कार्यकारी अधिकृत होउले भने । 

उनले माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गराउन आफूहरूले सक्दो पहल गर्ने मन्त्री बस्नेतसमक्ष विश्वास दिलाएका थिए। सो आयोजनाको मंगलबार मात्रै शिलान्यास गरिएको हो । हाल आयोजनाको भौतिक प्रगति २२ प्रतिशत छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् । 

काठमाडौँ ‘लोड सेन्टर’बाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत एक सय चार मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै एक सय चार मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : १६ बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी