काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारले अवैध आप्रवासीका लागि ल्याउन लागेको ‘ब्याक फर गुड’ कार्यक्रममा सहभागी भएर स्वदेश फर्किन चाहने नेपालीलाई सिधै दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
दूतावासले एक विज्ञप्ती जारी गरी आगामी अगष्ट १ तारिखदेखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने सो कार्यक्रममा सहभागी भई लाभ उठाउन दूतावासले आग्रह गरेको हो ।
कार्यक्रमअन्तर्गत नेपाल फर्किन मलेसिया सरकारलाई ७ सय रिंगेट जरिवाना बुझाउनु पर्नेछ भने पासपोर्ट नहुनेहरुले एकतर्फी यात्रा अनुमति पत्र बनाउन दूतावासलाई १ सय ६० रिंगेट तिर्नुपर्नेछ । यसैगरी मलेसियाबाट नेपाल फिर्ता हुने हवाई टिकटसमेत सम्बन्धित व्यक्तिले नै काट्नु पर्नेछ ।
दूतावासका अनुसार राहदानी वा दूतावासबाट बनाइएको एकतर्फी यात्रा अनुमति पत्र लिएर सिधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्नेछ ।
अध्यागमन कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकट बुकिङको प्रतिलिपिसमेत अनिवार्य रुपमा साथमा लिएर जानु पर्नेछ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल उड्ने मिति अध्यागमन कार्यालयमा गएको ७ दिनभित्रको हुनुपर्ने छ ।
कुनै सहयोग आवश्यक परेमा दूतावासको फोन नम्बरहरु ०३–२०२०१८९८, ०३–२०२०१८९९, ०३–२०२०१८९०१ वा हटलाईनमा ०१६–२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
मलेसिया सरकारले मलेसियाको भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेख विहिन भएर बसेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन लक्षित गर्दै आममाफीको कार्यक्रम ल्याएको हो ।
प्रतिक्रिया