पाल्पा– नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्ने बताए ।
आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले भने, ‘देशको महत्त्वपूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचानभन्दा पनि कांग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ ।’
कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउँदै पार्टीमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्त्वपूर्ण काम गरेको बताए ।
प्रतिक्रिया