ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत « Khabarhub

ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् ।

एक वर्षअघि रेशको कुँवरचोक मुहान भन्ने ठाउँमा सडक ढलानका लागि ठेकेदारले बिच्छ्याएको ढुङ्गा र रडका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै रड हटाएर पुनः सोलिङ गरिएको हो । घुम्ती र उकालो सडकमा सोलिङ तथा बिच्छ्याइएको रडमा एक वर्षसम्म ढलान नभएपछि स्थानीयको सक्रियतामा सडक मर्मत गरिएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

“विसं २०७७ मा ठेक्का सम्झौता भएको सडक अहिलेसम्म कालोपत्र भएन, उल्टै सडकमा बिच्छ्याइएको रडले दुर्घटनाको जोखिम बढ्यो, ढलान हुन्छ कि भनेर एक वर्ष कुर्‍यौँ, निर्माण कम्पनी सम्पर्कमै नआएपछि स्थानीयको श्रमदानमा सडकमा बिच्छ्याइएका रड हटाएर सोलिङ गरेका छौँ”, वडाध्यक्ष लामिछानेले भने, “दुई दिनको श्रमदानमा मात्रै एक सय मिटर सडक सोलिङ गरेर मर्मत गरेको र अन्य एक सय ५० मिटरभन्दा बढी सडक पहिले नै मर्मत गरिसकेको छ ।”

ठेक्का सम्झौता भएको उक्त सडक मर्मत गर्न वडामा बजेट नभएकोले श्रमदानमार्फत सडक मर्मत गरिएको हो । स्थानीय प्रेम कार्की र नेत्र शर्मासहित १२ जनाको दुई दिनको श्रमदानमा सडक मर्मत गरिएको हो । अहिले सडक ढलान र कालोपत्रका लागि थप गरिएको सम्झौता मिति सकिएको छ भने निर्माण व्यवसायी सम्पर्कमा नआएको स्थानीयको गुनासो छ । स्थानीयले सडक कालोपत्र नगरेर अलपत्र छाड्ने निर्माण व्यवसायीको ठेक्का रद्दका लागि गाउँपालिकासमक्ष पटक पटक माग गर्दै आएका छन् ।

स्थानीयले ठेक्का रद्दको मागसहित रेशका वडाध्यक्ष लामिछाने, वडा सदस्य तथा स्थानीयले गाउँपालिकामा ज्ञापनपत्रसमेत गत असारमा बुझाएका थिए । निर्माण व्यवसायीलाई कानुनी दायरामा गाउँपालिकाले ल्याउन नसकेको स्थानीयको आरोप छ । रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएका निर्माण व्यवसायीले सडक अलपत्र छाडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै श्रमदान गरेर मर्मत गरी चाडबाडको समयमा सहज तरिकाले यात्रा गर्न मिल्ने बनाएका हुन् । वडा कार्यालयले अन्य स्थानमा कच्ची नाली काट्ने, खाल्डा पुर्ने काम गरे पनि दुई सय ५० मिटर उकालो सडक स्थानीयको सक्रियतामा मर्मत गरिएको हो ।

विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनै पनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए । सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको रु छ करोड ७१ लाखमा ठेक्का सम्झौता भएको थियो ।

दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । उक्त थप गरेको म्यादभित्र समेत निर्माण व्यवसायीले काम नथालेपछि रेशका स्थानीय निर्माण व्यवसायी प्रति आक्रोशित हुँदै आएका छन् । ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम सकेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ५४ बजे

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको

‘राष्ट्रपति रनिङ सिल्डमा बागमतीको वर्चस्व, एथलेटिक्समा ११ स्वर्ण’

काठमाडौं– बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौं– गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ