काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस् मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा अर्थमन्त्री महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन् । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गरे ।
त्यसैगरी उनले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गरेको अर्थमन्त्री डा. महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । उनले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए ।
भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो ।
लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिन लण्डन पुगेका मन्त्री डा. महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी भएका थिए ।
सो क्रममा मन्त्री महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिए । उनले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिए ।
प्रतिक्रिया