संस्कृति जोगाउन दलित समुदाय अग्रसर « Khabarhub

संस्कृति जोगाउन दलित समुदाय अग्रसर


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

रामपुर– देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।

तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विकले बताए । ‘अहिले देउसीभैलोको मौलिकपन नै भेटिँदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिकरूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिकरूपमा जुटेका छौँ’, उनले भने ।

समाजले गत वर्ष रु एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए । नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउँछन्, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर बिक । उनले पहिला–पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताए । आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकोमा उनी चिन्तित छन्। 

बालबालिका, युवा, उमेर ढल्कदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरबेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विकले बताए । देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए । नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिकरूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ ।

मौलिक बाजाको तालमा देउसीभैलो समूह घर-घरमा आउँदा स्थानीय पनि दङ्ग छन् । मेमोरीकार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ । मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ ।

देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मकरूपमा लिएका छन् । समाजमा ८० घरपरिवार दलित समुदायमात्र आबद्ध छन् । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ । 

हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो । चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बूढापाका बताउँछन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : ४९ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको