सडकमा प्रहरीको मनपरी | Khabarhub Khabarhub

सडकमा प्रहरीको मनपरी



काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शुक्रबार बिहानैदेखि प्रहरी तैनाथ गरियो । प्रसाईले आफूलाई नजरबन्दमा राखेको बताए भने भक्तपुर जिल्ला प्रशासनले सुरक्षा प्रदान गरिएको तर्क गर्‍यो ।

व्यवस्था परिवर्तनका लागि भन्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का नाममा मंसिर ७ गते काठमाडौंको बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आजदेखि तीनकुने केन्द्रित प्रदर्शनको घोषणा गरेको थियो । तर, प्रशासनले तितरवितर र धरपकड गरेपछि आज तीनकुनेमा प्रदर्शन हुन पाएन ।

प्रशासनले तीनकुनेमा प्रदर्शनको अनुमति नभएको प्रसाईं समूहलाई बिहानै जानकारी गराएको थियो । त्यसका बाबजूत पनि प्रदर्शनका लागि तीनकुने पुगेका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो । बाक्लो सङ्ख्यामा प्रहरीको उपस्थिति देखिएको तीनकुनेमा शुक्रबार प्रदर्शनकारी मात्र होइन, बाटो हिँड्ने सर्वसाधारणले समेत दुःख पाए ।

तीनकुनेको बाटोमा हिँडेका नागरिकदेखि रमिता हेर्न पुगेका सर्वसाधरणलाई पनि प्रहरीले छोडेन । उपचारका लागि अस्पताल हिँडेका सर्वसाधारणमाथि पनि प्रहरीले अभद्र व्यवहार गरेको पीडितको गुनासो छ ।

समाचार संकलनका लागि गएका सञ्चारकर्मी सविन तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरेर चार घण्टा हिरासतमा राख्यो । सूचना विभागबाट जारी भएको प्रेस कार्ड देखाउँदा पनि आफूलाई प्रहरीले पक्राउ गरेको तिमल्सिनाले खबरहबसँग गुनासो गरे । उनलाई प्रहरीले काठमाडौं जिल्ला परिसरमा लगेर चार घण्टा थुनेको थियो ।

तिमल्सिनाले आफूलाई प्रहरीले अमानवीय र अभद्र व्यवहार गरेको बताए । आफूमात्र नभई सडकमा हिँडेका प्रेसर र सुगरका बिरामीलाई पनि प्रहरीले नछोडेको उनले सुनाए ।

दमन र धरपकडको विरोध

यसैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति नै निकालेर प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दुर्गा प्रसाईं नेतृत्वको अभियानमाथि प्रहरीले अनावश्यक दमन र धरपकड गरेको बताएका छन् । कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरेका छन् ।

‘अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक छन्, हामी यसको निन्दा र भत्र्सना गर्छौं,’ राप्रपाको विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रले दिएको अधिकार सबैले बराबरी उपभोग गर्न पाउँछन् ।’

दुर्गा प्रसाईंको निवास अगाडि प्रहरी

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको कदमको विरोध गर्दै धरपकड र नजरबन्द जस्ता अलोकतान्त्रिक कामले कुनै पनि समस्याको समाधान ननिस्कने बताएका छन् ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि सरकारको कदमको विरोध गर्दै सरकारको निरंकुश र दमनकारी कार्यको भत्र्सना गरेका छन् ।

सरकारको कदमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि विरोध गरे । लोकतन्त्रमा सबै नागरिकलाई समान अधिकार भएको उनले बताएका छन् ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले जनताका मुद्दा सबैले उठाउन पाउने भन्दै निषेधको राजनीति नटिक्ने बताए ।

अधिकारकर्मी भन्छन्- सरकारको रबैयाले जटिलता ल्याउँछ

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन सरकारका लागि यतिबेला टाउको दुखाइको विषय बनेको छ । व्यवस्था नै नउल्ट्याएसम्म आफ्नो अभियान नरोक्ने दाबी गर्दै आन्दोलनमा होमिएका प्रसाईंले आजदेखि तीनकुने केन्द्रित आन्दोलन घोषणा गरेपछि सरकारले उनलाई रोक्न खोजेको हो ।
पूर्वराजनीतिज्ञ एवं नागरिक अगुवा डा. सूर्यराज आचार्य सरकारको यो कार्यशैलीबाट राजावादीहरुको आन्दोलनलाई थप टेवा पुग्ने बताउँछन् ।

खबरहबसँग संक्षिप्त कुरा गर्दै आचार्य भन्छन, ‘सरकारले सडकमा नागरिकमाथि देखाएको प्रवृत्तिले राम्रो सन्देश दिएन । देशमा जुन किसिमले ध्रुवीकरण हुन खोज्दैछ, यसलाई यस्ता क्रियाकलापले सहयोग पुग्छ।’

हिजो निरंकुश व्यवस्थामा जस्तो आज लोकतान्त्रिक व्यवस्थामा सरकारका यस्ता क्रियाकलाप सुहाउँदो नभएको आचार्यको तर्क छ । आज सरकारले गरेको गलत अभ्यास भोलिका लागि नजिर हुने भन्दै आचार्यले नागरिकहरुलाई स्वतन्त्रतापूर्वक विरोध गर्न दिइनुपर्ने बताए ।

हिजो केपी ओली नेतृत्वको सरकारका गलत कदमको विरोध गरेका गठबन्धन दलहरुको सरकार नै आज नागरिकमाथि अमानवीय ढंगले प्रस्तुत हुन नमिल्ने आचार्यको सुझाव छ ।

त्यस्तै, सरकारको कार्यशैलीको विरोध गर्दै नागरिक अभियन्ता एवं पत्रकार कनकमणि दीक्षितले सञ्चार माध्यम र आम नागरिकहरु सरकारका गलत कामको विरोधमा नभई कांग्रेस र एमालेको विरोधमा लागेको गुनासो गरे । सरकारको नेतृत्व गरेको दल नै आज भइरहेका गलत कामको जिम्मेवार रहेको उनको तर्क छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा बरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने नागरिकलाई धरपकड नगरिएकाे दावी गरे ।  प्रहरी नागरिकको सुरक्षाका लागि सडकमा खटिएको भन्दै उनले अनावश्यक धरपकड गरेर दुःख दिने प्रहरीको कुनै नियत नभएको बताए ।

यो पनि..

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : २२ बजे

पाइलट पन्तको उडान निलम्बन फुकुवा

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान

वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ सय जनाबाट १५ करोड ठगी 

काठमाडौं– विभिन्न देश पठाइदिने भन्दै तीन सय बढिलाई ठगी गर्ने

कोशीका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

काठमाडौं– कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच

जलवायु परिवर्तन र आर्थिक अस्थिरता मुख्य चुनौती : उपराष्ट्रपति यादव

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा