पर्यटन प्रवर्द्धन अभियानमा बाँके राष्ट्रिय निकुञ्ज « Khabarhub

पर्यटन प्रवर्द्धन अभियानमा बाँके राष्ट्रिय निकुञ्ज


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जानकी– देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको छ । 

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार यस वर्षभरी नयाँ मार्ग निर्माण गर्ने र निकुञ्ज परिसरलाई सजाउने योजना छ । उनले भने, ‘हाम्रो उद्देश्य निकुञ्जमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने  छ । यसका लागि निकुञ्जमा नयाँ मार्ग निर्माण गर्दै छौँ ।’ पर्यटन प्रवर्द्धनका लागि विस्तृत योजना बनाउँदै गरेको उल्लेख गर्दै वरिष्ठ संरक्षण अधिकृत शाहले त्यसलाई चाँडै कार्यान्वयनमा ल्याइने बताएका छन् । 

बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजना तथा निकुञ्जको सहकार्यमा सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीलाई जंगल सफारी गराइएको थियो । नाट्टाका संयोजक श्रीराम सिग्देलले सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताए ।

‘निकञ्जबारे तीनै तहका सरकारले चासो दिन आवश्यक छ । बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकीयस्थल छन् । ती सबैको विकासका लागि ध्यान दिन जरुरी छ’,  उनले भने। 

निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यसको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रभित्र पर्छ । निकुञ्जभित्र पूर्व पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमीको रहेको छ । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको यो निकुञ्ज बर्दिया, दाङ र सल्यानसँग जोडिएको छ ।

निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायत जनावर पाइन्छन् । जैविक विविधताको दृष्टिले आठ पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पक्षी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने (सरिसृप) तथा छ प्रजातिका उभयचर प्राणी पाइन्छन् ।

सालक, हुँडार, जंगली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरोलगायत संरक्षित वन्यजन्तु पनि निकुञ्जमा रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पक्षी अभिलेख गरिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका सात स्तनधारी यस निकुञ्जमा पाइन्छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ४९ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल