काठमाडौँ– रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन् ।
राहदानी नम्बर ११०२७१७३ रहेका भरतबहादुर शाहको मृत्यु गत डिसेम्बर ३ मै भएको परराष्ट्र स्रोतले जनाएको छ ।
राहदानी नम्बर ०७५७३७३८ रहेका राजकुमार गिरीको मृत्यु डिसेम्बर २८मा भएको खुलेको छ भने हरिप्रसाद अर्यालको मृत्यु कुन मितिमा भयो भन्रे नखुलेको परराष्ट्र स्रोतले खबरहबलाई बतायो ।
यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।
- रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रुससँग सरकारको आग्रह
- रुसी सेनाबाट उम्केका पूर्वप्रहरीको बयान : नयाँ जुनी पाइयो
सरकारले रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीको शब फिर्ता ल्याउने प्रक्रियामा सघाउन आग्रह गरे पनि अहिलेसम्म रुस सरकारले नेपालीको शब फिर्ता पठाउन सकेको छैन ।
अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।
गत पुस ४ मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर थप एक नेपालीको मृत्यु हुनुका साथै चार जना नेपाली अपहरणमा परेको उल्लेख गरेको थियो । बेपत्ताको अवस्था अहिलेसम्म अज्ञात छ ।
प्रतिक्रिया