नाटकको जादुयी आकर्षण, कर्मा र कर्म | Khabarhub Khabarhub

कला

नाटकको जादुयी आकर्षण, कर्मा र कर्म


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्मा करिब ३८ वर्ष पहिले काठमाडौंमै जन्मिएका हुन् । काठमाडौंको रैथानले परिवारमा जन्मिएकाले उनको बाल्यकाल सुखसयलमै बित्यो ।

उनले विद्यालय र क्याम्पस तहको पढाइ भारत र काठमाडौंमा सके । शैक्षिक गन्तव्यबाटै थाहा हुन्छ – उनले आम बच्चाको तुलनामा सुविधायुक्त बाल्यकाल पाए ।

१८ वर्ष पुग्दै गर्दा उनलाई सेनामा भर्ती हुने इच्छा जाग्दै थियो । तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा सञ्‍चालित १० वर्षे सशस्त्र संघर्षको भूमरीबीच बुवाले उनलाई नेपाली सेनामा भर्ती हुन दिएनन् । सशस्त्र प्रहरी बन्ने बुवाको सुझाव उनले पनि मानेनन्‌ ।

यही अन्योलताबीच उनी गुरुकुल पुगे । त्यसपछि भने उनको स्पष्ट लक्ष्य कलाकार बन्ने भयो । त्यही लक्ष्यले गति लियो र कर्मा अहिले नेपाली फिल्मका चल्तीका स्टार बनेका हुन्‌ ।

बाल्यकाल

काठमाडौंका रैथाने कर्माको पुर्ख्यौली घर लाजिम्पाटमा छ । उनको सुरुवाती बाल्यकाल त्यही घरमा बित्यो ।

उनी सानै छँदा बुवा अमेरिका गएकाले आमाको संरक्षणमा ललितपुरको पाटनस्थित मामाघरमा हुर्किए । उनको बाल्यकालीन स्मृति पाटन दरबार क्षेत्रकेन्द्रित छन् ।

भन्छन्, ‘हामी खेल्ने ठाउँ नै दरबार वरपर हो । लाजिम्पाटको घर चाहिँ बेला-मौकामा मात्रै जान्थेँ । मेरो बसाइ मामाघरमा नै बढी भयो मेरो ।’

दरबार क्षेत्रमा कुदे–खेलेको स्मृति पनि होस्टेल बिदामा घर फर्किँदा सँगालेका हुन्‌ । नभए उनको स्कुलको पढाइ होस्टेलमै बसेर पूरा भयो ।
भन्छन्, ‘यूकेजीदेखि झम्सीखेलको एक स्कुलको होस्टल बसेको हुँ । तीन कक्षासम्म त्यही होस्टलमा बिताएँ ।’

कर्मा तीनमा पढ्दैगर्दा १० वर्षअघि अमेरिका गएका बुवा फर्किए । बुझ्ने भइसकेपछि उनको बुवासँगको त्यो पहिलो भेट थियो ।

तर, यो पटक पनि उनले बुवासँग समय बिताउन पाएनन् । उनलाई गुणस्तरीय शिक्षा दिन बुवाले भारतको दार्जिलिङ पठाए । त्यहाँ होस्टल बसेरै उनले चारदेखि सात कक्षासम्म पढे ।

सानै उमेरमा दार्जिलिङ गएका उनलाई त्यहाँको पढाइभन्दा साथीसङ्गतबारे बढी याद छ । भन्छन्, ‘भारत, बंगलादेश र भुटानका साथीहरू थिए । धेरै देश र भाषीहरूसँग मेरो संगत भयो ।’

कर्माले ८, ९ र १० कक्षा काठमाडौंमै पढे । यताको पढाइ पनि बढीजसो होस्टलमै बसेर भएको उनी सुनाउँछन् । काठमाडौंको रैथाने र पढाइ महँगा स्कुलमा भएकाले आफूले पढेका आधारभूत आवश्यकता गाँस, बाँस, कपासबाट आम नेपाली वञ्चित छन् भन्ने यथार्थ कलेज पुगेपछि मात्रै थाहा पाएको उनी बताउँछन् ।

भन्छन्, ‘म काठमाडौंकै रैथाने परेँ । सुविधाको बाल्यकाल पाएँ । चरम गरिबी र अभाव अनुभव गर्न संगत नै भएन । खाना र शिक्षाबाट नेपालीहरू वञ्चित छन् भन्ने थाहा पाउँदा आश्चर्यमा परेको थिएँ ।’

नेपाली गीत मोह

बुवाले तत्कालीन समयका ‘शैक्षिक गुणस्तर’ मा राम्रो कहलिएका स्कुलमा भर्ना गरिदिए पनि कर्मा आफूलाई पढाइमा कमजोर विद्यार्थी ठान्छन् । सानैदेखि पढाइभन्दा बढी गायन, स्केच, साहित्य र अभिनयमै रुचि भएको उनी बताउँछन् ।

‘हाम्रो बाल्यकालमा मोबाइल थिएन । क्यासेटमा अंग्रेजी गीत सुन्ने ट्रेन्ड थियो । नेपाली गीत सुनेको थाहा पायो भने साथीहरूले जिस्काउने चलन थियो । तर मलाई नेपाली गीत एकदमै मन पर्थ्यो । कोठामा एक्लै भए पनि सुन्थेँ,’ उनी भन्छन् ।

नेपाली गीतप्रति आकर्षण जगाउने जस भने उनी उदितनारायण झाको ‘यो गाउँको ठिटो म’ लाई दिन्छन् । ‘यो गीत भर्खरै निस्किएको थियो । बाटोमा हिँड्दा बज्यो भने पनि उभिएर नसक्किने बेलासम्म सुन्थेँ । त्यो गीत मलाई असाध्यै मन पर्थ्यो,’ उनी भन्छन् ।

उनलाई त्यसबेला किन साथीहरूले नेपाली गीत मन पराउँदैनन् भन्ने चाहिँ लाग्थ्यो । गीतप्रतिको मोह देखेपछि उनलाई बुवाले गितारसमेत किनिदिए । तर, गायन यात्राले गति लिएन ।

यता, रुचि भए पनि भाषाको कमजोरीले नेपाली साहित्यका सामग्री पढ्न नपाएको स्थिति उनलाई खट्किरहन्छ । भन्छन्, ‘पढाइ नै मेरो अङ्ग्रेजी विद्यालयमा भयो । त्यही भएर नेपाली कमजोर भयो ।’

रङ्गमञ्चको चस्का

काठमाडौंको सेन्ट जेभियर्स स्कुलमा कक्षा ९ मा पढ्दा कर्माले पहिलोपटक नाटकमा अभिनय गरेका हुन् । जुन नाटक सेन्ट जेभियर्स स्कुलको थियटरमा मञ्चन भएको थियो ।

नाटकमा अभिनय गर्ने अवसर उनलाई अमेरिकी मूलका नेपाली नागरिक शिक्षक फादर मिलरका कारण जुरेको हो । भन्छन्, ‘उहाँ कलाप्रेमी हुनुहुन्थ्यो । रङ्गमञ्चमा खुबै रुचि राख्नुहुथ्यो ।

सेन्ट जेभियर्स छात्रको मात्रै स्कुल भएकाले नाटकका लागि चाहिने महिला पात्र सेन्ट मेरिज स्कुलबाट ल्याएर मञ्चन भएको ‘फिड्लर अन द रुफ’लाई उनी आफ्नो पहिलो नाटक मान्छन् ।

भन्छन्, ‘म दार्जिलिङ पढ्दा पनि नाटकका लागि मञ्चमा चढेको हो । त्यसमा भूमिका थिएन भन्दा पनि हुन्छ । यो नाटकमा सानो भूमिका थियो । केही संवाद पनि थियो ।’

नाटक गरेको वर्ष नै कर्मा नौ कक्षामा अनुत्तीर्ण भए । खेलकुद र बाह्य क्रियाकलापले पढाइ बिग्रिएको उनलाई महसुस भयो । त्यस समय उनी स्कुलको बास्केटबल टिममा समेत थिए ।

भन्छन्, ‘पढाइभन्दा पनि बास्केटबल, फुटबल र टेनिसमा लगाव थियो । त्यतै बढी ध्यान दिँदा फेल भइयो ।’

नतिजासँग बुवा असन्तुष्ट हुनुहुन्छ भन्ने उनलाई परेको थियो । सोहीकारण उनले बुवालाई भने, ‘अब सबै छोडेर पढाइमा केन्द्रित हुन्छु ।’

तर, बुवाबाट आएको जवाफले उनी आश्चर्यमा परे । उनलाई बुवाले भनेका थिए, ‘रङ्गमञ्च चाहिँ नछोड्नू ! सानो भूमिका गरेका छौ, अब ठूलो भूमिकामा लागि अडिसन दिनू ।’

पढाइमा छोरोको रुचि छैन भन्ने थाहा पाएरै बुवाले रङ्गमञ्च नछाड्न भनेका हुनसक्ने कर्मा अनुमान गर्छन्‌ ।

भन्छन्, ‘मेरो क्षमता त बुवालाई थाहा थियो नि ! त्यसैले रङ्गमञ्च नछोड् भन्नुभएको होला ।’

नौ कक्षा दोहोर्‍याएकै वर्ष उनले दोस्रो नाटक गरे । सो नाटक थियो– ‘किङ एण्ड आई’ । यस नाटकका भने उनले ठूलो भूमिकाकै लागि अडिसन दिए । जसबाट उनले नाटकको दोस्रो ठूलो भूमिका पाए । त्यो भूमिका प्रधानमन्त्रीको थियो ।

भन्छन्, ‘नाटकको केन्द्रीय पात्र चाहिँ राजा हो । त्यसपछिको ठूलो भूमिका प्रधानमन्त्रीको थियो, जुन मैले निर्वाह गरेको थिएँ ।’

यो नाटकमा निभाएको भूमिकाबाट कर्माले सकारात्मक प्रतिक्रिया पाए । साथै, साथीहरूको अटेन्सन पनि पाए । यही नाटककै कारण जीवनमा दुई नयाँ कुराको अनुभव गर्न पाएको उनी स्मरण गर्छन् ।

पहिलो – लजालु स्वभावका कर्मालाई मान्छेका अघि बोल्ने आत्माविश्वास मिल्यो । भन्छन्, ‘म यति लजालु थिएँ कि मान्छेसँग बोल्न पनि आँट बुटुल्नुपर्थ्यो । त्यो नाटक खेलेपछि त ममा जोसँग पनि बोल्न आँट भरियो ।’

दोस्रो – नाटककै कारण उनले कुनै किशोरीबाट ‘प्रेमपत्र’ पाए । भन्छन्, ‘मेरो भूमिकाले केटी साथीहरूलाई बढी आकर्षित गरेछ । केहीले भेटेर र केहीले पत्रमार्फत् प्रेमप्रस्ताव गर्नुभएको थियो ।’

यो घटनाले नाटकको शक्तिबारे थोरै भए पनि अनुभव गर्न पाएको कर्मालाई महसुस हुन्छ ।

भारतबाट फर्किएर गुरुकुल

वि.सं. २०५९ मा सेन्ट जेभियर्सबाट दोस्रो डिभिजनमा एसएलसी पास भएपछि कर्मा क्याम्पस पढ्न भारत गए । त्यसबेला पढाइमा उत्कृष्ट विद्यार्थीले प्लसटूमा साइन्स र कमर्श पढ्ने चलन थियो ।

पढाइमा कमजोर भएकाले उनले पुना पुगेर पनि आर्ट्स नै पढे । भारतमा एक्लो हुँदाको अवसर ‘दूरूपयोग’ गर्न आफू अग्रसर भएको उनी स्वीकार गर्छन् ।

भन्छन्, ‘म त भारतमा पढ्न गएको, तर पढाइ बाहेक सबै गरेँ भन्दा हुन्छ । भारतका सबैजसो पर्यटकीय गन्तव्यमा पुगेँ । एक्लो भएपछि कसैको डर भएन । त्यो दुई वर्षमा भारतमा घुम्न मन लागेको कुनै ठाउँ घुम्न बाँकी राखिनँ ।’

उनको भारत घुमाइ यति अनिश्चित थियो कि दसैं मान्न पुनाबाट काठमाडौं हिँड्दा पनि सिलोङमै बरालिए । यद्यपि बोर्ड परीक्षाको एक महिनाअघि मेहनत गर्दै प्लसटू कटाए ।

भन्छन्, ‘बुवाले प्लसटू नगरी विदेश जान पनि पाइँदैन भन्नुभएको थियो । त्यसैका लागि पनि मैले अन्तिम समयमा मेहनत गरेँ ।’

प्लसटूको परीक्षा दिएपछि कर्मा काठमाडौं फर्किए । त्यसबेला स्नातक गर्न विदेश जाने चलन व्याप्त थियो । तर, उनी जान चाहेनन् । कारण – उनलाई सेना बन्नु थियो ।

देशमा सशस्त्र संघर्ष भएका कारण बुवाले कर्माको योजना अगाडि बढ्न दिएनन् । जिद्दी गरेपछि सशस् त्र प्रहरीका लागि भिड्न अनुमति दिए । तर, कर्मालाई प्रहरी बन्नु थिएन ।

भन्छन्, ‘आर्मी भनेपछि छुट्दै शान हुन्छ जस्तो लाग्थ्यो । प्रहरीप्रति आकर्षण नै थिएन । हलुका रूपमा लिइयो । जान मन लागेन ।’

सेना-प्रहरीको बाटो नरोजेपछि बुवा–छोराले सल्लाह गरे । गुरुकुलमा अभिनय सिक्ने निष्कर्ष निस्कियो । गुरुकुलबारे पुना बस्दा नै कर्माले पत्रिकामार्फत् थाहा पाएका थिए ।

‘पुनामा नेपाली दैनिक पत्रिकामा काम गर्ने दाइ र म एउटै फ्ल्याटमा बस्थ्यौँ । उहाँले ल्याएका पत्रिकामा गुरुकुलबारे छापिएको थियो,’ उनी भन्छन्, ‘त्यो पत्रिकामा भारतीय कलाकार नसुरुद्दिन शाहले गुरुकुलमा नाटक गर्ने समाचार थियो ।’

गुरुकुलका संस्थापक सुनील पोखरेल र कर्माका बुवा साथी हुन् । सोहीकारण पनि कर्मालाई गुरुकुल पढाउन बुवा राजी भएका थिए ।

गुरुकुलमा प्रवेश

कर्मा गुरुकुलमा गए । उनी पुग्दा त्यहाँ ‘बाघ भैरव’भन्ने नाटक मञ्चन भइरहेको थियो ।

सो नाटकमा राजकुमार पुडासैनी, राजन खतिवडा, सौगात मल्ल, पशुपति राई, भोलाराज सापकोटा र सरिता गिरी लगायतको अभिनय थियो ।

गुरुकुल स्थापनाको एक वर्ष पूरा भएको थियो । दोस्रो ब्याचका लागि विद्यार्थी राख्ने तयारी थियो । देशभर सुस्ताएको रङ्गमञ्च गुरुकुलले जगाउने प्रयास गरिरहेको थियो ।

नाटक हेर्ने दर्शक शून्यप्रायः थिए । दर्शकदीर्घामा आफू र बुवासहित तीन जनामात्रै भए पनि कर्मालाई अभिनय कर्ममा लाग्न प्रेरित गर्न यही नाटक काफी बन्यो ।

‘मैले त्यसरी नाटक हेरेको नै थिइनँ । व्यवसायिक नाटक मैले सोचेको भन्दा विशाल रहेछ । मलाई जादुयी तरिकाले नाटकले तान्यो,’ उनी भन्छन्, ‘नेवारी समुदायको कथा भएकाले पनि मैले त्यो नाटक बुझेँ । सुरुमै आकर्षित भएँ ।’

नाटकले उनलाई यति आकर्षण गर्‍यो कि घर फिर्ता हुन चाहेनन् । गुरुकुलका पहिलो ब्याचसँग दोस्ती गरेर त्यो रात त्यहीँ बस्ने निर्णय गरे ।

‘नाटक सकेपछि गुरुकुलको चमेना गृहमा खाना खाने क्रममा नाटकका कलाकारसँग दोस्ती गरेँ । उनीहरूले पनि आज यतै बस्दा हुन्छ भने । त्यो रात त्यहीँ बसेँ, बुवा एक्लै घर फर्किनुभयो,’ कर्माले सुनाए ।

बुवा र सुनील पोखरेलको कुरा भयो वा भएन, कर्मालाई थाहा छैन । तर, भोलिपल्ट उनको अडिसन भयो । उनको अडिसन सुनीलले नै लिएका थिए ।

अडिसन लिने क्रममा अन्तिममा सुनीलले उनलाई भनेका थिए रे – ‘तिमी हिरो बन्ने भए गलत ठाउँमा आएका छौं । जीवनभर अभिनय कर्म गर्ने भए स्वागत छ ।’

कर्मालाई सुनीलको सो भनाइको तात्पर्य बुझ्न वर्षौं लाग्यो । तर, उनलाई कला क्षेत्रमा छिर्नु थियो । सो समयमा नाटक गर्नकै लागि ‘हुन्छ’ भनी स्वीकार गरे ।

त्यतिखेर आफूलाई गुरुकुल प्रवेश गर्न भाग्यले पनि साथ दिएको उनी सम्झन्छन् ।

‘गुरुकुलले विद्यार्थी समावेशी ढंगले राख्थ्यो । एउटा केटा अडिसन पास भएर पनि नआएको कारण मैले प्रवेश पाएको हुँ,’ उनले भने ।

गुरुकुलमा तीन वर्ष

गुरुकुल प्रवेशको स्पष्ट उद्देश्य थियो– तीन वर्ष अभिनय पढ्ने ! त्यहाँ अभिनयसँगै अर्को विभागको जिम्मेवारी लिनुपर्ने बाध्यकारी नियम थियो । कर्माले सेट र लाइटको जिम्मेवारी पाए ।

सैद्धान्तिक भन्दा प्रयोगात्मक शैलीमा अभिनय सिकाउने गुरुकुलको शैली कर्मालाई सुरुमा अनौठो लागेको थियो । अप्ठ्यारो पनि महसुस भयो । त्यसमा पनि उनी विस्तारै अभ्यस्त हुँदै गए ।

‘सुरुमै अभिनयका लागि मञ्च दिइन्थ्यो । यो के गरेको होला भन्ने लाग्थ्यो । पछि थाहा पाएँ – त्यो गुरुकुलको शैली रहेछ,’ थप्छन्‌, ‘जे होस् – पछि सहज हुँदै गयो ।’

गुरुकुलमा सबैको हैसियत समान थियो । सबै विद्यार्थीले अभिनय, सरसफाइ र प्रचारका लागि पोस्टर टाँस्नेसम्मको काम गर्नुपर्थ्यो । उनले नगर्ने कुरै भएन ।

‘जे जस्तो जिम्मेवारी आए पनि नाइँ भनिएन, गरियो । भित्रका जिम्मेवारी त गर्नैपर्‍यो। सार्वजनिक बस चढेर पोस्टर टाँस्न पनि हिँडियो,’ उनी भन्छन्, ‘घरमा बाइक भए पनि त्यो सुविधा लिन मन लागेन । अरू साथीहरू जसरी नै नाटकसँग जोडिएका जिम्मेवारी पूरा गर्न मात्रै ध्यान भयो ।’

सुस्ताएको रङ्गमञ्च उकास्ने गुरुकुलको लक्ष्य पूरा गर्न आफू जिम्मेवारी सिपाही भएर लागिपरेको उनलाई महसुस हुन्छ ।

गुरुकुलले विस्तारै दर्शक पायो । सुस्ताएको रङ्ग कर्ममा चलहपहल बढ्यो । गुरुकुल साहित्यिक नाटकघर मात्रै नभएर केन्द्र नै बन्यो । यो उदाहरणीय कामको जस कर्माको भागमा पनि पर्छ ।

त्यो तीन वर्षको अवधिमा गुरुकुलले मात्रै गति लिएन, व्यक्तिगत रूपमा कर्माको अभिनय क्षमतामा पनि वृद्धि भयो । उनले करिब एकदर्जन नाटकमा अभिनय गरे ।

फिल्म यात्रा

गुरुकुलको तीन वर्षे यात्रापछि कर्मा फिल्मतर्फ लागे । उनले पहिलो पटक अडिसन दिएको फिल्म ‘कागबेनी’ हो । जसमा उनी चयन भएनन् । अडिसन दिन सँगै गएका सौगात मल्ल छानिए ।

यद्यपि त्यसको केही समयमै उनले फिल्म ‘सानो संसार’मा अडिसन दिए । यसपटक भने उनी चयन भए । भन्छन्, ‘अडिसनको पनि अनुभव थियो । अभिनयमा लागि गुरुकुलमा पढिएको नै थियो ।’

सो फिल्ममा त्यसबेला चर्चामा रहेका स्टार जीवन लुइँटेल, विनय श्रेष्ठ र नम्रता श्रेष्ठ मुख्य कलाकारमा चयन भएका थिए । कर्मा भने स्टार बनिसकेका थिएनन् । अडिसन पास भएपछि फिल्मका लेखक मोहम्मद हानिफले स्क्रिप्ट सुनाउँदाको क्षण विशेष रह्यो ।

उनले नम्रता, जीवन, विनय र कर्मालाई स्क्रिप्ट सुनाएका थिए । आधा स्क्रिप्ट सुनाएपछि फिल्ममा निभाउनुपर्ने भूमिकाबारे हानिफले नै जानकारी दिएका थिए । कर्माको भागमा रविको भूमिका पर्‍यो ।

‘स्क्रिप्टभर रविकै भूमिका छ । म नै लिड रोलमा हो र भन्ने भयो । पूरा स्क्रिप्ट सुनेपछि म नै लिड रोलमा हो भन्ने पक्का भयो,’ उनी भन्छन्, ‘त्यो समय अपेक्षाभन्दा राम्रो भूमिमा पाउँदा म निकै आश्चर्यमा परेको थिएँ ।’

सो फिल्मले जस्तो व्यापार गर्‍यो, त्यो आफ्नो ठाउँमा छ । तर, त्यही फिल्मले कर्मालाई नायकको परिचय दिलायो । चल्तीका स्टारसँग केन्द्रीय भूमिकामा काम गरेका कारण पनि नायक परिचय पाउन थप सहज भएको उनलाई महसुस हुन्छ ।

त्यसपछि भने कर्मा पछाडि फर्कनुपरेन । फिल्मबाट लगातार प्रस्ताव आउन थाल्यो । उनले त्यसपछि एकदिन एक रात, फर्स्ट लभ, गुडबाइ काठमान्डू, हाइवे, मृगतृष्णा लगायत एकपछि अर्का फिल्ममा शीर्ष भूमिकामै अभिनय गरे ।

एक नेवारी भाषाको सहित आठ फिल्ममा अभिनय गरेपछि उनले ‘लुट’ मा अभिनय कलाले तरङ्ग ल्याएका हुन्‌ । फिल्ममा थियटरबाट आएका दयाहाङ राई र सौगात मल्ल लगायत छँदैथिए । त्यही फिल्मले उनलाई धेरै दर्शकमाझ पुर्‍याएको हो ।

लुटको अनुभव

कर्मासँग लुट निर्देशक निश्चल बस्नेत ‘सर्ट फिल्म’ बनाउन भेटिएका थिए । दुवैका साथी निर्देशक मीन भामले उनीहरूको भेट गराएका हुन् ।

कर्माको सुझावमा निश्चिल सर्ट फिल्मलाई विस्तार गरेर फिचर फिल्म ‘लुट’ बनाउने निर्णयमा पुगे । ‘कथामा दम छ । हामी फिचर फिल्म नै बनाउन सक्छौं भनेर मैले निश्चललाई भनेको थिएँ,’ कर्माले सुनाए ।

‘लुट’ बनाउन कर्माले नै निश्चललाई निर्मातासँग भेट गराए । भन्छन्, ‘मैले केही फिल्म गरिसकेकाले निर्माताहरूसँग चिनजान थियो । सोहीकारण निर्माता खोज्न मैले निश्चललाई मैले सहयोग गरेँ ।’

यही फिल्मबाट दयाहाङ राई र सौगात मल्ल स्टार बने । कलाकारका रूपमा कर्मालाई पनि फाइदै भयो । उनी लुट फिल्मको पोस्टरसँग आजको दिनमा पनि सहमत हुन सकेका छैनन् । हाकु काले (सौगात) केन्द्रीय भूमिकामा रहे पनि आफू केन्द्रित पोस्टर बनाएकाले उनी असन्तुष्ट बने ।

‘मैले त्यो बेला पनि असहमति राखेको थिएँ, आज पनि असहमत नै छु । पोस्टर हेर्दा केन्द्रीय भूमिका मेरो छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘मैले केही फिल्म गरेकै भरमा म केन्द्रित फोटो राख्नु उचित होइन ।’

यद्यपि लुट नेपाली फिल्म क्षेत्रको कोशेढुंगा सावित भएकामा उनी सन्तुष्ट छन् । भन्छन्, ‘सौगात दाइ र दयाहाङजस्ता कलाकारको उदय भएको फिल्म हो त्यो । त्यो फिल्मसँग मेरो छुट्टै भावना छ ।’

साम्बालासम्म

कर्माले अभिनय गरेकामध्ये केही फिल्मले राम्रो व्यापार गरे । केही भने बक्स अफिसमा असफल रहे ।

मीन भाम निर्देशित फिल्म साम्बालासम्म आइपुग्दा कर्माले अभियन गरेको फिल्म सङ्ख्या तीन दर्जन पुगिसकेको छ । पछिल्लो फिल्म साम्बालालाई ओस्कर अवार्डका लागि नेपालको प्रतिनिधित्व गराएर पठाइएको छ ।

साम्बालामा कर्मा सहायक, तर शक्तिशाली भूमिकामा छन् । तिब्बती भाषा नजान्दा आफूले सो फिल्ममा सानो भूमिका पाएको उनी बताउँछन् ।

साम्बालाका निर्देशक मीन गुरुकुलबाटै चिनजानका साथी भएकाले यो फिल्मको सुरुवाती प्रक्रियादेखि नै आफू ज्ञात रहेको उनी बताउँछन् ।

‘फिल्मको शीर्षक सुरुमा चिसो वर्षा थियो । अंग्रेजी भाषामा बन्ने कुरा थियो । पछि तिब्बती भाषामा बन्ने भयो । मैले भाषा सिकेँ, तर फिल्मका लागि पर्याप्त भएन,’ उनी भन्छन् । आफूले अभिनय गरेको फिल्मले उचाइ लिँदा खुसी लागेको कर्माले सुनाए ।

उनी अभिनय कर्ममा लागेको डेढ दशक भयो । अभिनयबाट आफूले प्राप्त गरेको कुरामा उनी सन्तुष्ट छन् ।

खबरहबसँगको कुराकानीमा अन्तिमतिर उनले भने, ‘सुरुवाती १० वर्ष फिल्ममा प्रयोग गरियो । अहिले केही अनुभव छ । पहिले फिल्ममा अभिनय गर्नु मेरो इच्छा थियो, अहिले कर्म बनेको छ । अब त ढुक्कले यही क्षेत्रमा जीवन बिताउन सक्नेमा म स्पष्ट छु ।’

उनले रङ्गमञ्चको अभिनयलाई पनि निरन्तरता दिने योजनामा छन् । लामो समयपछि उनी नाटक ‘ढकुढुकी ७२ मेगाहर्ज’मा अभिनय गर्दैछन् । जुन मण्डला थियटरमा छिट्टै मञ्चन हुँदैछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : २९ बजे

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य

कालो बजारी नियन्त्रण गर्न एमालेको माग

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका

एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो

काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति