नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश  « Khabarhub

नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश 


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ । 

करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको कारोबारबाहेक अन्य पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको सहभागिता हुनसकेको छैन । निगमले विराटनगर, भद्रपुर, अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, थानकोट, मन्थली, भैरहवा, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, दिपायल र धनगढीबाट पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ । 

निगम केन्द्रीय कार्यालय टेकुमा आज आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरोकारवालासँगको छलफलका आधारमा निगमलाई थप सुदृढ बनाएर लगिने घोषणा गरे । निगमले आफ्नो सेवालाई चुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले भण्डारण क्षमता विस्तारमा ध्यान दिन आग्रह गरे।

निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्तिसचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न विभिन्न चुनौती रहेको औँल्याउँदै दायित्वमुक्त हुँदैमा वित्तीय अवस्था सुदृढ छ भनेर ढुक्क हुन नहुनेमा सचेत गराए। उनले व्यावसायिक छवि उकास्न तथा नागरिकप्रतिको दायित्व पूरा गर्न नीतिगत सुधार आवश्यक रहेको बताए । 

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्न सुझाव दिए । 

त्यस अवसरमा मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’को विमोचन  गरे ।  वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो । 

निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार नौ सय ९० किलोलिटर क्षमताका भण्डारण ट्यांकरमा आयातित इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको छ । निगमसँग १३ हजार छ सय ६२ किलोलिटर पेट्रोल, ४५ हजार आठ सय ४८ किलोलिटर डिजल, दुई हजार छ सय ९५ मट्टितेल र आठ हजार आठ सय १५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ । 

सरकारी स्वामित्वको निगमसँग १३ दिनको माग धान्न सक्ने भण्डारण क्षमता छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट वार्षिक करिब रु ३० लाख किलोलिटर पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ । निगमले आव २०७९-८० मा करिब रु १६ अर्ब नाफा गरेको निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिले आव २०७८-७९ मा निगमले रु ४९ अर्ब नोक्सानी व्यहोरेको थियो । आव २०७९-८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी रु चार अर्ब ९४ करोड रहेको उहाँको भनाइ छ । 

कुल अधिकृत पुँजी रु ३० अर्ब र चुक्ता पुँजी रु ११ अर्ब रहेको निगममा नेपाल सरकारको ९८ दशमलव ३८ प्रतिशत सेयर रहेको छ । निगमले गत आव २०७९-८० मा करिब रु तीन खर्ब ८३ अर्बको कारोबारमार्फत सरकारलाई रु एक खर्ब १५ अर्ब राजस्व भुक्तानी गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ५ : ४० बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा