सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै | Khabarhub Khabarhub

सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सल्लेरी– समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् । बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष माघ लागिसक्दा समेत हिउँ पर्ने छाँटकाँट नरहेको स्थानीय सन्तोष मगरले बताए । 

गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेको उनको चिन्ता छ । सदरमुकाम सल्लेरीबाट आँखै अघि देखिने नुम्बुर हिमाल यस वर्ष खासै चहकिलो देखिएको छैन । सधैँजसो हिउँले पूरै भरिने नुम्बुर हिमालमा अहिले पहाडका कालो भाग देखिन थालेको सल्लेरीका एक वृद्ध जाङ्बु शेर्पाले बताए । 

सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुसको सुरुआत नै यहाँका लागि हिमपातको मुख्य याम हो तर यस वर्ष तल्लो क्षेत्र मात्र नभई उच्च हिमाली क्षेत्र खुम्बुमा समेत अहिलेसम्म हिमपात भएको हुन सकेको छैन । हिमपात हुने समयमा हिउँ नपर्दा खुम्बुका स्थानीयले समेत अनौठो मानेका छन् । 

सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोङ्गदे जस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ । 

मौसममा हिउँ नपर्नु, पानी नपर्नु जलवायु परिवर्तनको मुख्य असर भएको स्थानीयले समेत महसुस गरेका छन् । वनजङ्गलको तीव्र फँडानी, हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा असर पर्न थालेको वातावरणविद् राजन थापाले बताए।

 उनले भने, ‘मानव सिर्जित समस्या प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानवजीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको छ ।’ समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली क्षेत्रमा हरियाली कम देखिन थालेको छ भने हिम नदीले बहने धार समेत परिवर्तन गर्दै गएको खुम्बुका पेम्बा शेर्पाको अनुभव छ । 

    किसानलाई चिन्ता

समयमा हिमपात तथा वर्षात नहुँदा सोलुखुम्बुका किसान चिन्तित बनेका छन् । हिउँदयाममा परेको हिउँले बाली सप्रने भए पनि माघ लाग्दा हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । गएका वर्षमा मङ्सिर, पुसमै हिमपात हुने गरेकामा यस वर्ष माघ लाग्दा हिउँ परेको छैन । हिउँ नपर्दा बालीनाली पनि सुक्न थालेको गार्माका पृथ्वीबहादुर भुजेलको चिन्ता छ । 

उनले भने, ‘यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा भएका छन् ।’ हिमपात नहुँदा आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको लिखुपिकेका किसान कामीछिरी शेर्पाले बताए।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : ४३ बजे

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका