जब गोरखाका घलेले न्याय पाएनन्…. « Khabarhub

जब गोरखाका घलेले न्याय पाएनन्….

प्रचण्डलाई भोट हालेका तेलबहादुर न्याय खोज्दै सडकमा



काठमाडौं– नेपालीमा एउटा पुरानो आहान छ, न्याय नपाए गोरखा जानू !

शायद गोरखाका राजालाई सम्झेर हुनुपर्छ, सर्वोच्च अदालत रहेको स्थानलाई ‘रामशाह पथ’ भन्ने गरिएको ।

इतिहास साक्षी छ– द्रव्य शाहलाई दौड प्रतियोगितामा सहभागी गराउनुअघिसम्म लिगलिगकोटमा घलेहरुको शासन थियो । त्यही बंशका एकजना घले दाइ अहिले न्याय नपाएर काठमाडौं पसेका छन् ।

‘न्याय नपाए गोर्खा जानू’ भन्ने आहान अब ‘रिभर्स’ भएको छ ।

गोरखामा न्याय नपाएर काठमाडौं छिरेका पात्र हुन्– बारपाक वडा न–२ सुलिकोट निवासी ६६ वर्षीय तेलबहादुर घले । यिनै घले दाइको दुखको कहानी यहाँ प्रस्तुत गरिएको छ –

काठमाडौंका प्रायः सबै पत्रकारको मोबाइलमा एकाबिहानै टिङ्ग ‘नोटिफिकेसन’ आउने गरेको छ– काठमाडौंमा आज हुने कार्यक्रम । जसमा लेखिएको हुन्छ–

‘जिल्ला गोरखा बारपाक गापा वडा नम्बर २ सुलिकोट घर बताउने वर्ष ६६ को तेलबहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रममा बिस्फोन गर्दा घर र होडल पूर्णरुपमा क्षति भएको र क्षतिपूर्ति नपाएको भन्दै शान्तिपूर्ण धर्ना बस्ने । स्थान शान्तिबाटिका । समय १० बजे ।’

तेलबहादुरको ‘कार्यक्रम स्थल’ अघिल्लो महिनासम्म माइतीघर मण्डलामा थियो । आफैंले भोट हालेर काठमाडौं पठाएका प्रचण्ड नेतृत्वको सरकारले तेलबहादुरलाई माइतीघरबाट खेदाएपछि उनको ‘कार्यक्रमस्थल’ फेरिएर रत्नपार्कमा सरेको छ । अन्य ‘सेड्युल’ यथावत छ । माइतीघरमा प्रचण्ड सरकारले निशेधाज्ञा जारी गरेको छ ।

उमेरले ६६ पुगेका तेलबहादुर सामान्य नागरिक हुन् । उनले ट्रेकिङ गाइडका रुपमा भारी बोक्ने पेसा गरेको ३५ वर्ष भयो । यही पेसा गरेर उनले जहान परिवार पाल्दै आए ।

जीवनको ऊर्जाशील समयमा उनले अर्काको भारी बोके । खाना पकाउने काम गरे । ३५ वर्ष अनुभव संगालेपछि उनलाई लाग्यो– ऋण गरेर भए पनि एउटा सानो होटल व्यवसाय किन नगर्ने ? उनले ऋण–धनको जोहो गरे । साथ दिने अरु कोही नभए पनि जहान परिवारको आड भरोसा थियो ।

ट्रेकिङ गरेर घरपरिवार धानेको सम्झँदै तेलबहादुर भन्छन्, ‘यही पेसा गरेर छोराछोरी हुर्काएँ, पालेँ, पढाएँ । अब बुढेसकालमा सधैं त्यसरी काम गर्न सकिँदैन भनेर होटल चलाउने निधोमा पुगेँ ।’

अन्ततः २०७४ सालबाट गोरखाको दोभानस्थित पाखोमा घलेदाइको होटल व्यवसाय शुरु भयो । अनि खुल्यो दोभान–९ गोर्खामा ‘बुढी गण्डकी भ्याली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ ।

मनास्लु हिमाल जाने बाटोमा पर्ने दोभान गाउँमा होटल थाप्दा पर्यटकहरुलाई सहज हुने र आफूलाई पनि कमाइ हुने तेलबहादुरको विश्लेषण थियो । यही आशमा उनले त्यहाँ लगानी गरेका थिए ।

‘थोरै बचत मसँगै थियो, रत्नपार्कमा घाम तापिरहेका घले सुनाउँछन्, ‘बाँकी ऋण काढेर व्यवसाय सुरु गरेँ । हातमा सीप थियो, आँट गरेर ऋण लिएँ तर…..।’

एक रोपनी पाखो भाडामा लिएर उनले होटल व्यवसाय सुरु गरेका थिए । वर्षको एक लाख रुपैयाँ भाडा थियो । भूकम्परहित काठको घर बनाएका थिए । आठ वटा कटेज । दुईवटा ट्वाइलेट, बाथरुम । ३८ फिट लम्बाइ र ८ फिट चौडाइको भान्साघर बनाएका थिए उनले ।

घलेले होटल खोलेको अर्को वर्ष गाउँमा ‘विकास’ आयो । अर्थात आरुघाटबाट लार्केभञ्ज्याङ जोड्ने सडक निर्माणको ठेक्का नेपाली सेनाले लियो । सडक निर्माणका क्रममा नेपाली सेनाले बम ब्लाष्टिङ गर्दा आफ्नो सबै संरचना ध्वस्त भएको उनी सुनाउँछन् । घलेको व्यवसायी बन्ने सपना पनि त्यही बिस्फोटनको धुलोमा बिलायो । भारी बोकेर यहाँसम्म घिस्रिएको परिवारको थाप्लोमा अर्को ऋणको बोझ थपियो ।

सुनौं घलेकै मुखबाट घटना विवरण–

 सरकारले सुकुम्बासी बनायो

आरुघाट–लार्केभञ्ज्याङ सडक जोड्ने काम नेपाली सेनाले ठेक्का लियो र ०७४ बैशाख १४ गतेबाट सडक खन्ने काम शुरु गर्न आयो । एक सिजन होटल चलाउन दिनोस् न भनेर बिन्ती गर्दा पनि दिएन ।

आर्मीको नियममा एक दिन पनि काम रोक्न मिल्दैन भनेर ५ किलोमिटर टाढाको मेलो छोडी आएर ०७५ साल असोज १४ गते बम पड्काएर मेरो होटल ध्वस्त बनायो । कामदारले तीन दिन मात्रै काम गर्‍यो, दशैं तिहार मान्न गयो । आर्मीको नियममा एक दिन पनि काम रोक्न मिल्दैन भनेको थियो, ६ महिनासम्म काम बन्द गर्‍यो।

०७६ साल लाग्नासाथ आर्मीको मेजर निशान्त पण्डितले ८ करोड भ्रष्टाचार गर्‍यो भनेर काठमाडौंबाट कर्णेल साहेब आएर मेजरलाई कारवाही गर्न भनेर ०७६ भदौ १९ गते काठमाडौं लिएर गयो । काम किन बन्द भयो भनेर बुझ्न जाँदा भ्रष्टाचारी मेजर जेलमा रहेछ ।

मेजर जेलबाट छुटेछ । उसले ३ महिना काम गर्न दिनोस्, बाटो क्लियर गरेर क्षतिपूर्ति मिलाइदिन्छु, सरकारले दिने हो भन्यो । ६ महिनासम्म पनि बाटो क्लियर गरेन । क्षतिपूर्ति पनि मिलाइदिएन । भ्रष्टाचार गरेको पैसाले पुगेछ, मेजर काम छोडेर भाग्यो ।

दुई वर्षसम्म होटल चलाउन नपाएर मलाई गाह्रो भयो । निवेदन लिएर जिल्ला प्रशासनमा पुगें, निवदेन लिएन । पत्रकारले समाचार लेख्यो । नयाँ मेजर आएको रहेछ, आर्मीको किन बदनाम गरेको भनेर धम्क्यायो । मैले अदालत जान्छु भनें । अदालत गयो भने राम्रो हुने छैन भन्यो । अदालत नजानोस् म छिट्टै राम्रो क्षतिपूर्ति मिलाइदिन्छु भन्यो । मैले मानेर बसें । चाँडो, राम्रो मिलाएन । नयाँ मेजरले पनि आर्मीको बदनाम गरिस् भनेर एक वर्ष झुलाए । मेरो ऋणको ब्याज बढेको बढ्यै थियो । होटल बन्द भएकाले आम्दानी पनि केही थिएन ।

तीन वर्षपछि आर्मीले १३ लाख ८२ हजार अलिकति क्षतिपूर्ति लिन आऊ भनेर फोन गर्‍यो । मैले भनें, यति थोरै म लिन्नँ, बरु म अदालतसम्म न्याय माग्न जान्छु ।

मेजरले यति भए पनि लिने भए लिनु, नभए यो पनि पाइँदैन, अदालत गयो भने राम्रो हुने छैन भन्यो । ज्यान मार्ने धम्की पनि आएपछि ज्यान बाँच्नको लागि भए पनि लिनै पर्‍यो।

नयाँ मेजरले इञ्जिनियरलाई पठाएर समेत धम्क्याउन लगाए । इञ्जिनियरले पनि पाउने त्यति नै हो भने धम्क्यायो ।

क्ष्तिपूर्ति लिएपछि काठमाडौंको बानियाँटराको कुनामा बोलाएर सही गर्न लगायो । कागजपत्र हेर्दा सही नगरौं झैं भयो । सुभिल ड्रेसमा एकजना आर्मी जवान लुकेर एक्सनमा बसिरहेको रहेछ । मैले सही नगरेको भए त्यहीँ मेरो ज्यान जानेमा थियो । लकडाउनको बेलामा कोहीस् मान्छेहरु बाहिर निस्कन मिल्ने थिएन । त्यही समयको फाइदा उठाएर आर्मीले जबरजस्ती सही गर्न लगायो ।

तीन वर्षपछि १३ लाख ८२ हजार क्षतिपूर्ति दियो । एक वर्षपछि मात्र बाटो क्लियर गर्‍यो। मलाई ऋणमा डुबायो । ३६ लाख ऋणको ब्याज १८ प्रतिशतले तीन वर्षको ब्याज मात्र १९ लाख ४४ हजार पुगेको थियो । जग्गाको भाडा तीन वर्षको ३ लाख । दुबै गरेर २२ लाख ४४ हजार ऋणमा डुबायो ।

एउटा मेजरले हेडक्वार्टर गएको रिस गरेर दुईवर्ष झुलायो । अर्को मेजरले आर्मीको बारेमा पत्रकारकहाँ गएर केही कुरा लेख्यो भनेर रिस गरेर एक वर्ष झुलायो । तीन वर्ष झुलाएर तीन वर्षको ब्याजमात्र १९ लाख ४४ हजार तिर्न लगायो ।

बिडम्बना, बाटो तलबाट आएको, तल्लोमा भएको होटल चलाउन पायो । तर, मेरो होटल बाटोमाथि भएर पनि मैले मैले होटल चलाउन पाइनँ । यसमा मलाई दुःख लाग्यो । पीडितको उपस्थितिविना बनाएको कागजपत्र कानुनले मान्यता दिँदैन । हार्मीको मेजरले भ्रष्टाचार गरेकाले मैले धोका पाएँ ।

एक वर्ष होटल चलाउँदा मैले ११ लाख आम्दानी गरेको थिएँ । सक्नेले गरेर खाओस् मलाई गुनासो छैन तर मलाई होटल चलाउन नपाएकोमा दुःख लागेको छ । होटल बनाउँदाको खर्च र एकचोटि होटल मर्मत गर्दाको खर्च थरी ४५ लाख ५८ हजार भयो । मलाई सरकारले सुकुम्बासी बनायो ।

घलेले आफ्नो पीडा उल्लेख गरिएको ब्यानर रत्नपार्कमा टाँगेका छन् ।

सरकारले तीन वर्षसम्म झुलाएर १३ लाख ८२ हजार क्षतिपूर्ति दिए पनि आफ्नो लागत अनुसार क्षतिपूर्ति नपाउँदा अन्यायमा परेको घलेको गुनासो छ । उनी नौ महिनादेखि काठमाडौंमा भौंतारिरहेका छन् । उनी न्याय खोज्दै सडकमा ओर्लिएको शनिबार २०५ दिन पुगेको छ ।

होटल चलाउँदा लिएको ऋणको ब्याज र सावाँ उनले अहिलेसम्म तिर्न सकेका छैनन् । ऋणमा डुबेपछि घरव्यवहार मिलाउन र परिवार पाल्न मुस्किल भएको दुःख उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘मगरको छोरा, सोझो म । दुई वर्षसम्म केही हुन्छ कि भनेर पर्खें । तर, मेरो क्षतिका बारेमा कुनै पहल भएन ।’ उनी प्रशासनमा गएका थिए तर प्रशासनले आर्मीकैमा जाउ भनेर पठायो ।

केही उपाय नलागेपछि उनी २०८० जेठ १० गतेदेखि काठमाडौंमा धर्नामा बस्न थालेका हुन् । पहिले माइतीघर मण्डलामा धर्ना बसेका उनी अहिले त्यस स्थानलाई सरकारले निषेधित गरेपछि शान्तिवाटिकामा बस्दै आएका छन् । उनी शान्तिवाटिका उचित ठाउँ नभएको बताउँछन् ।

घले भन्छन्, ‘यहाँ कोही पत्रकार पनि आउँदैन । अरु नागरिकले पनि देख्दैन । सरकारले त झनै नदेख्ने ठाउँ रहेछ ।’

धर्ना बस्न माइतीघर मण्डला नै राम्रो हुने उनको भनाइ छ । तथापि माइतीघरमा बस्न नपाएका उनी हरेक दिन बिहान १० देखि बेलुका ४ बजेसम्म शान्तिवाटिकामै हुन्छन् ।

एक महिना अगाडि उनले आर्थिक समस्याले गर्दा धर्ना स्थगित गरे । धर्ना रोकेर उनी खर्च जुटाउन पुरानै पेशा ट्रेकिङमा गए । ६६ वर्षे उमेरमा भारी बोकेर केही पैसा कमाएर फेरि उनी धर्नामै फर्किएका छन् ।

ऋणका कारण घलेकी पत्नी शान्ताकुमारी ‘डिप्रेसन’मा गएको उनले सुनाए । घले भन्छन्, ‘यसरी म धर्ना बसेको देखेपछि झन उसलाई निराशा हुन्छ त्यसैले श्रीमतीलाई कहिल्यौ धर्नामा ल्याएको छैन ।’

घलेका एक छोरी र एक छोरा छन् तर विदेशमा । उनी भन्छन्, ‘पढ्न ऋण तिर्न भनेर उनीहरु विदेश भासिएका छन् तर ऋण तिर्न सकिएको छैन । उनीहरु जादाँखेरि लागेको ऋण तिर्नमै छन् । कलेजको पनि फी तिर्न पर्यो । बाउलाई लागेको ऋण कहिले तिर्ने हो, अत्तोपत्तो छैन ।’

बस्ने घर र काम गरेर खाने होटल केही नरहेपछि घले परिवार टाउको लुकाउने ठाउँ खोज्दै काठमाडौं शहरमा छिरेको हो । उनी भन्छन्, ‘राजधानीमा काम गरेर गुजारा गर्न पाइन्छ कि भन्ने थियो तर म बुढोलाई कसैले काम दिएन ।

हाल उनी र श्रीमती सामाखुशीमा डेरा लिएर बसेका छन् । घले खबरहबसँग भन्छन्, ‘सरकारले निमुखालाई हेर्छ भनेर आएको हुँ । तर, धनवानहरुले मात्रै न्याय पाउने रहेछ । हामीजस्तो तल्लो वर्गले किन धर्ना बसेको छ भनेर हेर्नसमेत सरकारलाई फुर्सद छैन ।’

प्रचण्डलाई भोट !

धर्नामा बसेपछि घलेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कोसिस गरे तर भेट्न सकेनन् । भेट नभए पनि उनले अरु मार्फत नै ज्ञापनपत्र भने बुझाएका थिए । अहिलेसम्म प्रधानमन्त्री कार्यालयबाट उनलाई कुनै प्रतिक्रिया आएको छैन ।

घले संशय प्रकट गर्छन्, ‘प्रचण्डकोमा ज्ञापनपत्र पुग्यो वा पुगेन ? पुगेर पनि वास्ता नगरेको हो कि ? प्रधानमन्त्रीले केही भन्नुहुन्छ कि भन्ने आशमा छु ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भने घलेको भेट भइसकेको छ । गोर्खाकै नेता भट्टराईले जिल्लामा गएर निवेदन दिन सुझाव दिएको घलेले सुनाए । उनी भन्छन्, ‘मेरो लगानी पूरै फिर्ता पाउँ भनेर जिल्लामा गएर निवेदन दिनू भन्नुभयो ।’

तर, जिल्ला प्रशासनले साधारण मान्छेको निवदेनलाई कागजको खोस्टो मात्रै मान्ने गरेको घलेको गुनासो छ । उनी भन्छन्, ‘गुनासो सुनुवाइ नभएर नै मैले आफ्नो क्षेत्रका नेता, पूर्वप्रधानमनत्रीसँग गुहार मागेको हो ।’

सबैतिरबाट निराश भएपछि धर्नामा बस्नुपरेको घले सुनाउँछन् । उनी भन्छन्, ‘एक दिन न्याय पाउँछु भन्ने त छ, तर सात महिनासम्म ६६ वर्षको बुढो नागरिक धर्नामा बसेको छ, सरकारलाई कुनै मतलब छैन ।’

गत निर्वाचनमा भने घलेले गोरखाबाट प्रचण्डलाई भोट हालेका रहेछन् उनी  गोरखाली जोस निकाल्दै भन्छन्, ‘तर म माओवादीको कार्यकर्ता होइन । हामी गोरखालीहरु कांग्रेस, एमाले, माओवादी भन्नेमा छैनौ । गोरखामा कठोरवादी जनता छैनन् ।’

घलेले बिट मार्दै भने, ‘प्रचण्डलाई भोट हालेर प्रधानमन्त्री बनाएको हुँ, उहाँको प्रतिक्रिया नपाएसम्म धर्नामा बस्छु । कम्तिमा लगानी फिर्ता पाउनुपर्छ भन्ने मेरो माग हो ।’

तस्बिर/भिडियो : चिरायु शाक्य/खबरहब 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : ३३ बजे

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न