संरक्षणको पर्खाइमा ‘पराशर पार्क’ « Khabarhub

संरक्षणको पर्खाइमा ‘पराशर पार्क’


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भाइरल पर्यटकीय क्षेत्र मानहुँकोटको फेदी र सेती तथा मादीको सङ्गमस्थलमा निर्माण गरिएको पराशर पार्कको संरक्षण हुन सकेको छैन । सदरमुकाम दमौली नजिकै व्यासऋषिको तपोभूमि व्यास गुफा छ । उक्त गुफाको ठीक अगाडि भागमा पराशर आश्रम अवस्थित छन् । दायाँ र बाँया सेती तथा मादी नदी बग्छन् । 

धार्मिक र पौराणिक दृष्टिकोणले यो क्षेत्र धार्मिक पर्यटकीय स्थलका रुपमा पनि उत्तिकै परिचित रहेको पाइन्छ । सो स्थानमा घुम्न स्वदेश र भारतका विभिन्न स्थानबाट पर्यटक आउने गर्दछन् । व्यास गुफा, पराशर आश्रम र पार्कलाई जोड्न मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।  

धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न नेपाल सरकारको आर्थिक सहयोगमा व्यास नगरपालिका-५ बेनीपाटनस्थित सेती र मादी नदीको संगमस्थलमा पराशर पार्क निर्माण गरिएको छ । चारवेद र १८ पुराणका रचयिता वेदव्यासको तपोभूमिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण कार्य अघि बढाइएको थियो । 

आर्थिक वर्ष २०७७-७८ मा अन्तिम निर्माण कार्य सम्पन्न गरे पनि सञ्चालनमा ल्याउन नसक्दा विगत दुई वर्षदेखि पराशर पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ ।

विसं २०७८ मा सेती र मादी नदीमा आएको बाढीले निर्माण गरिएका केही संरचना बगाएर पूर्ण क्षति बनाएको छ । बचेका केही संरचना पनि भत्किन थालिसकेका छन् । तनहुँ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत बचेका संरचना जोगाउन सेती र मादी किनारमा पर्खाल निर्माण गरेका कारण रहेका केही संरचनाको संरक्षणमा सहयोग पुगेको छ ।   

पार्क निर्माणपश्चात् शौचलायका लागि पानी आवश्यक पर्ने भएपछि ट्यांकी निर्माणका लागि विनियोजित ५० लाखको लागतमा ट्याङकी निर्माण गरिएको थियो । विसं २०७५ साउन १६ गतेदेखि निर्माण सुरु गरी विसं २०७६ माघ १६ गते नै पार्क निर्माण कार्य सम्पन्न गरे पनि उक्त समयदेखि पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ । 

उक्त पार्कमा माछाको आकारमा पानी पोखरी, क्यारी वल, वनभोज स्थल, बास्केटबल कोर्ट, एमपी थ्रेटर, पार्किङस्थल निर्माण गरिएको छ । व्यास गुफा र पराशर क्षेत्रलाई जोड्दै धार्मिकस्थलका रुपमा प्रवर्द्धन गर्नमा थप सहयोग पुग्ने स्थानीय पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउँछन्। 

निर्माण गरिएका संरचना संरक्षण गर्न जति सक्दो चाँडो स्थानीय तह मातहत ल्याएर सञ्चालनमा ल्याउनुपर्ने उनले भने । उनका अनुसार संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले जति सक्दो चाँडो व्यास नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने देखिएको छ । 

सो संरचना तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग गोरखाले निर्माणको जिम्मा पाए पनि अहिले संघीय आयोजना कार्यन्वयन एकाइ कास्की मातहत रहेको छ । आयोजनाको कूल लागत रु तीन करोड ५३ लाख ७१ हजार पाँच सय ७६ रहेकामा भ्याटबाहेक कबोल अंक रु दुई करोड ७९ लाख ९८ हजार चार सय तीन लागत रहेको थियो । 

उक्त पार्कको न्यू ड्रैगन-एएनजी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको संघीय आयोजना कार्यन्वयन एकाइ कास्कीका आयोजना प्रमुख सरोज पौडेलले जानकारी दिए । संघीय आयोजना कार्यान्वयन एकाइले संघीय सरकारबाट प्राप्त बजेटअनुरुप निर्माण कार्य सम्पन्न गरेको उनले बताए । 

पार्क सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । संघीय सरकारको बजेटमा संघीय आयोजना कार्यान्वयन एकाइले पार्क निर्माण गरे पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यमा ढिलाइ हुँदा निर्माण गरिएका संरचना अलपत्र बन्दै गएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

पार्कलाई सुन्दर र सफा देखाउन लगाइएको टायल उप्किने तथा भाँचिने भइसकेको छ । पार्कमा बिच्छ्याइएका टायल फुट्न थालेका र यसको मर्मतसम्भार गरेर नगरपालिकाले संरक्षण तथा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । 

प्रयोगमा नआउँदै र यसको उद्घाटन नहुँदै जीर्ण देखिन थालेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार पर्यटकीय गन्तव्य विकासका लागि पार्क निर्माण गरिनु राम्रो कार्य भए पनि सरकारको लगानीको संरक्षण नहुँदा यति ठुलो लगानी बालुवामा पानी हालेजस्तो बनेको छ ।  

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : १२ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द