मुख्यमन्त्रीको चासोलाई सम्बोधन गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

मुख्यमन्त्रीको चासोलाई सम्बोधन गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा उनले भने, ‘सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस् ।’

मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे। 

छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्रीको अग्रसरतालाई गम्भीररूपमा लिँदै सङ्घीय मन्त्री र सांसद पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। कोरला नाका सञ्चालनमा प्रधानमन्त्रीले लिएको पहलका लागि धन्यवाद दिँदै उनले मुग्लिन–पोखरानारायणगढ–बुटवल सडक छिटो निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छिमेकी मुलुक भारतसँग जोडिएका छोटी भन्सार कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरे। मधेश प्रदेशमा सिँचाइ र खानेपानीको चर्को समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्न सङ्घीय सरकारले पहल लिनुपर्नेमा जोड दिए। मुख्यमन्त्री यादवले भने, ‘सङ्घ र प्रदेशको संयुक्त लगानीमा सिचाइँ आयोजना सञ्चालन गरौँ, तराई–मधेशमा उत्पादकत्व बढाऔँ ।’ 

कर्णाली प्रदेशका मुख्यमन्त्री  राजकुमार शर्माले सङ्घीयता कार्यान्वयनमा देखिएका ढिलासुस्तीका सम्बन्धमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । कर्णाली प्रदेशमा अझै विद्युतीकरणको समस्या रहेको, सिँचाइको भरपर्दो  व्यवस्था हुन नसकेको र दूरसञ्चार सेवा कमजोर रहेको उल्लेख गर्दै उनले यी समस्या समाधानमा सम्बन्धित सङ्घीय मन्त्रालयले ध्यान दिनुपर्ने बताए। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको लिनुभएको पहलको सरहाना गर्दै सोहीस्तरमा सङ्घीय सरकारका मन्त्रीहरूले पनि अग्रसरता दिनुपर्ने बताए। उनले सङ्घीयता लागू गर्न ढिलो हुनुमा केन्द्रिकृत मानसिकता मूलरूपमा जिम्मेवार उल्लेख गरे। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सङ्घीय मन्त्रालयले अधिकार छिटो हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भने, ‘कानुन बनाएर दिनुपर्ने अधिकारका लागि समय लाग्ला । तर, निर्णय गरेर दिनुपर्ने अधिकारमा ढिलाइ गर्नुभएन ।’ उनले सङ्घीयता कार्यान्वयनमा कर्मचारी प्रशासनले एकात्मक मानसिकता त्याग्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीले देखाएको सक्रियतालाई सङ्घीय मन्त्रीहरूले पनि अनुसरण गर्नुपर्ने बताए। 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको भावना मन्त्रीहरूले पनि बुझ्नुपर्ने बताए। 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ३९ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म