राणाविरुद्ध लड्न राजा त्रिभुवनले खोलेका थिए 'रक्तपात मण्डल'  | Khabarhub Khabarhub

राणाविरुद्ध लड्न राजा त्रिभुवनले खोलेका थिए ‘रक्तपात मण्डल’ 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

विक्रम संवत १९९३ सालमा श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेव राजगद्दीमा चढिबक्सेको पच्चीस वर्ष पूरा भएको अवसरलाई उदारतापूर्वक ‘रजत जयन्ती’ मनाएर श्री ५ को जीवनमा हर्षको लहर छाओस् र प्रधानमन्त्री श्री ३ जुद्धशमशेरसंग खुसी हुने मौका मिलोस् भन्ने अभिप्रायले  जुद्धशमशेरले यसको आयोजना गरे । अत : यही फागुन २५ गतेदेखि यस शुभ अवसरमा नारायणहिटी दरबारमा ७ दिनसम्म भाइभारदारहरु भेला हुने र रजत– जयन्ती धुमधामसँग मनाउने तथा भोज गर्ने कार्यक्रम बन्यो । 

त्यस कार्यका निम्ति आयोजित पालमा व्यवस्था मिलाउन तथा स्वागत गर्न नारायणहिटी मूल ढुकुटीका फूर्तिला युवक मुखिया गणेशराजा वन्त श्रेष्ठलाई पनि खटाइएको थियो । यस अवस्थामा दोस्रो दिन श्री ५ माहिला अधिराजकुमार हिमालयबाट गणेशराजलाई ‘अबदेखि तिमी पालमा भाइभारदार भएको ठाउँमा किन नजानू हुकुम भएको ? फेरि म आफूखुसीले गएको होइन, अफिसरहरुले खटाएर गएको हुँ । सरकारहरू सेता घरका कैदी होइबक्सिन्छ । कालो घरका कैदी बाहिर बागखोर पश्चिममा छन् । सिंहदरबारको इसाराबमोजिम सरकारहरूले चल्नुपर्छ । हामी रैतीका छोरालाई अफिसरहरुले नमानी सुख छैन ।’

यस्तो जवाफ सुनेपछि श्री ५ माहिला अधिराजकुमारले अँध्यारो मुख लगाएर वाल्ल परेर मुखमा हेरिबक्स्यो र केही नबोली फिरिबक्स्यो । त्यसको भोलिपल्ट अड्डा लागेपछि श्री ५ महाराजाधिराज त्रिभुवनबाट गणेशराजलाई बोलाउन मानिस पठाइबक्सियो । उनी सरकारको दर्शन गर्न गए । सानो भुइँ बैठकमा एकान्त थियो । 

श्री ५ त्रिभुवनबाट हँसिलो मुहार लगाएर ‘होइन, तिमीले हिजो माहिलालाई के भन्यौ ?’ भनी सोधनी भयो । गणेशराज मनमनै डराए, वाक्य खुलेन । सरकारबाट फेरि त्यही कुरा सोधिबक्स्योराजासंग लुकाउने कुरा भएन । उनले श्री ५ अधिराजकुमार हिमालयले भनेको र आफूले दिएको प्रत्युत्तर सबै बिन्ती गरे । श्री ५ त्रिभुवन रिसानी हुन्छ कि भन्ने लागेको थियो । त्यसैले उनको गोरो मोहडाका कान मुख सबै राता भएका थिए तर रिसानी भएन, बरु चाख लिएर सुनिबक्स्यो । र ‘ल जाऊ राम्ररी काम गर्नु’ भनी प्रफुल्ल मुद्राले बिदा बक्स्यो । गणेशराज रजत–जयन्ती र मूल ढुकुटीको काममा पूर्ववत् लागे । 

त्यसको केही दिनपछि भाद्र महिनाको कृष्णपक्षमा फुटबल आदि खेलहरू सकिएपछि बेलुकी घर जाने बेलामा गणेशराजलाई ‘बस्नु’ भन्ने खबर आयो । बस्ताबस्ता राति १२ बज्यो । ग्यारेजबाट बोलावट भयो । श्री ५ त्रिभुवन र मौसुफका पुत्ररत्नहरु तीनैजना, जर्नेल अग्निशमशेर अनि ले. रामदास, क. चन्द्रमान, मु. गणेशराज, ड्राइभर कटकबहादुर र ड्राइभर मरिचमान यति दसजना मोटरमा बसी गुह्येश्वरी गौरीघाट पुगे । 

त्यहाँ सबैलाई श्री ५ त्रिभुवनबाट राणाहरूको अत्याचारबाट मुक्त हुन र श्री ५ सुरेन्द्रका पालामा गुमेको हाल हुकुम राणा प्रधानमन्त्रीबाट लिने र जनताको भलाइका निम्ति ज्यानको बाजी लगाइ काम गर्ने कुरा सम्झाइबक्स्यो । र बागमतीको पवित्र जल लिएर भगवती जगन्माता गुह्येश्वरी र पशुपति साक्षी राखी धर्म भकाइबक्स्यो । त्यसपछि पूर्ववत् सबै दरबार फर्के । दरबारमै खानापिना गरी आआफ्ना घर गए । 

नारायणहिटी दरबारको पुरानो भुइँ बैठक पनि गजबको थियो । त्यहाँ तहखाना जस्तो पनि थियो । त्यसै बैठकमा श्री ५ बाट राणा प्रधानमन्त्री वा अन्य विशिष्ट व्यक्तिहरूलाई भेटने काम हुन्थ्यो । त्यही बैठकमा ५,७ पटक छलफल भयो । यो अति गुप्त संस्थाको नाम ‘रक्तपात मण्डल’ राखियो । त्यही मिटिङमा यो भयंकर कार्य सफल हुन्छ भन्न सकिदैन, अत : श्री ५ का छोराहरुमा एक जनाले फाटो परेको जस्तो बहाना गरी राणाहरुका गुप्त कुरा पत्ता लगाउनुपर्छ, त्यसका निम्ति श्री ५ युवराजाधिराज महेन्द्र उपयुक्त व्यक्ति भएकाले उहाँले बुबा र भाइहरुमा फाटो परेको जस्तो देखाउने निर्णय गरियो र तदनुसार हल्ला चलाइयो र राणाहरुसमक्ष व्यवहार पनि त्यस्तै गरियो । 

रक्तपात मण्डलका सदस्यहरूले पेस्तोल, बन्दुक हान्न सिके र त्यस बैठकमा कहाँ बस्ने, कसरी प्रधानमन्त्री र अन्य प्रमुख राणाहरूलाई पेस्तोल, बन्दुक हानेर मार्ने आदि सबै योजना तयार भयो र त्यसबमोजिम रियाज पनि गरियो । कार्यक्रमअनुसार प्रधानमन्त्री र अन्य प्रमुख राणाहरूलाई पार्टी भनी श्री ५ त्रिभुवनबाट बोलाउने कार्यक्रम बन्यो तर जुन दिनका निम्ति बोलावट गरिएको हो, त्यो दिनभन्दा एकदिन अगाडि नै प्रधानमन्त्री श्री ३ जुद्ध एक्लै राति आए । यसरी यो पहिलो योजना असफल भयो किनकी त्यो दिन तयारी गरिएको थिए । यस्तै अरु धेरै योजना पनि असफल भए । राणाहरुले शंका गर्न थाले र चलाखी गर्दै श्री ५ त्रिभुवन कहाँ आउँदा प्रधानमन्त्री आएका बेला कमाण्डर इन चिफ र जङ्गीलाठ नआउने, जङ्गीलाठ आए प्रधानमन्त्री र कमान्डर इन चिफ नआउने नीति लिन थाले । 

कमसेकम यी तीन प्रमुखलाई एउटै थलो नपारी श्री ५ त्रिभुवनले कार्य सफल नहुने थियो । अनि दरबारमा चियोचर्चो र कडाइ पनि बढ्यो । रामदास, चन्द्रमान, गणेशराज, कटकबहादुर र मरिचमानहरुउपर पनि गुप्तचरहरु लागे । यिनीहरूको प्रत्येक कदममा निगरानी हुन थाल्यो । त्यतिकैमा नेपाल प्रजापरिषद्को जन्म भयो र कम्पाउन्डर चन्द्रमानमार्फत श्री ५ मा सबै कुरा जाहेर भएपछि रक्तपात मण्डलको कार्य शिथिल भयो । 

श्री ५ त्रिभुवन जनआन्दोलन गराएर आफ्नो शक्ति हस्तगत गर्नेतर्फ विचार गर्न लागिबक्स्यो । तथापि श्री ५ त्रिभुवनबाट अर्को एउटा योजना गरिबक्सियो । नारायणहिटी दरबारमा नाचघर बन्दै थियो । १९९७ वैशाखमा श्री ५ महेन्द्रको विवाह श्री ५ इन्द्रराज्यलक्ष्मीका साथ सुसम्पन्न भयो । यस अवसरमा प्रमुख राणाहरूलाई मात्र एकैपटक बोलाई भोज ख्वाउँदा बिजुलीको करेन्टबाट तिनीहरूको इतिश्री गर्ने योजना बन्यो । त्यसका निम्ति कटकबहादुरका छोरा अत्यन्त सिपालु बिजुली कालिगढलाई पनि मिलाइयो । उनी त्यस सिनेमा घरमा बिजुली फिट गर्ने कालिगड थिए । यो आयोजना पनि असफल भयो । ती कालिगडमाथि राणाहरूको शंका भयो र दरबारबाट झिकिए । पछि तिनको मृत्यु भयो । नत्र उनी पनि १९९७ मा जेल पर्ने थिए वा मारिने थिए ।

 विसं १९९७ साल कार्तिकमा नेपाल प्रजा परिषद्का कार्यकर्ताहरू पकडिई बयान हुन थालेपछि र धर्मभक्तको कोठाको खानतलासीमा प्रजापरिषद्को अधिवेशनका कागजपत्र र श्री ५ त्रिभुवनको चिठी र पत्र व्यवहारको कोड बरामद भएपछि प्रजापरिषद्को संगठन र आन्दोलनमा श्री ५ त्रिभुवनको संलग्नता देखिन आयो । त्यस्तै कार्तिक ६ मा ले.रामदास, मु. गणेशराज, ड्राइभर कटकबहादुर र ड्राइभर मरिचमान पनि पत्रिइएयिनीहरूलाई बरफबागमा राखियो ।

कम्पाउन्डर चन्द्रमान प्रजापरिषद्कै सिलसिलामा पहिले नै पक्राउ भएका थिए । यी राजदरबारका जागिरदारहरु र चन्द्रमानलाई रक्तपात मण्डलसम्बन्धी मुद्दामा केरकार गरियो, कोर्रा तथा कटक बिजुली लगाइयो र आखिर सबै कुरा खोलाइयो । यस मुद्दामा श्री ५ हरु र जर्नेल अग्निशमशेरलाई पनि नजरबन्द गरियो । अब राणाहरुले श्री ५ त्रिभुवन, श्री ५ युवराजाधिराज तथा अधिराजकुमारहरुलाई पनि आआफ्ना दरबारमा नजरबन्द गरी बन्दीतुल्य कडाइ गरे । एकले अर्कासँग भेट्न पनि नपाइने भयो अनि बेला बेला गरी तीन पटक सिंहदरबारको पुतली बगैंचामा मौसुफहरुलाई ल्याई चार कमान्डिङका समक्ष उपस्थित गराई मुद्दाबारे सोधपुछ गरी अपमानित गरे, तेजोबध गरे, तर्साए, धम्काए तर मौसुफहरुप्रति यही गर्ने भनी निश्चित गर्ने आँट भने गर्न सकेनन । 

एकदिनको कुरा हो, मु. गणेशराजलाइृ पुतली बगैंचाको काठे बैठकमा चार कमान्डिङका अगाडि उभ्याइयो र सोधपुछ गरियो अनि बाहिर जान भनियो । गणेशराज त्यस बैठकको ढोका बाहिर उभिए । त्यसपछि उनलाई बरफबागतिर वा कतै कसैले लगेन । त्यही उभिइरहे । भित्र बैठकमा चार कमान्डिङको छलफल भयो । आखिर श्री ५ त्रिभुवनलाई पदच्युत गरी गोरखा धपाउने र बन्दी बनाइ राख्ने र अधिराजकुमारहरुलाई पनि ठाउँ ठाउँमा धपाई बन्दी बनाई राख्ने कुरा नै धेरै चल्यो ।

 त्यस्तैमा केशरशमशेरले ‘यो कुरा ठीकै हो, अङग्रेजले मानेको छैन हिन्दुस्तानका नेपाली फौज भड्किन्छन भनेर फेरि हामीहरुले उहाँहरुलाई भोलि जस्ताको तस्तै राख्नुपर्‍यो भने नाक कसरी ठाडो गर्ने नि’ भने । यसरी यिनीहरुको राय मिलेन र त्यसदिनको बैठक भंग भयो । यो कुरा गणेशराजले बाहिरबाट आफ्नै कानले सुनेका हुन र पछि गणेशराजलाई बाहिर उभिइरहेको देखेर ‘यो त यहीँ पो रहेछ’ भने । 

धर्मभक्तलाई सम्बोधन गर्दै प्रधानमन्त्री जुद्धले भने– ‘भागवत काजीको नाति, आदिभक्त सुब्बाको छोरो भनेर मैले तँलाई राजदरबारमा काम गर्ने ठूलो मौका दिएको थिएँ, तैंले यस्तो गर्ने ?’ धर्मभक्त केही नबोली उभिइरहे । जुद्धशमशेर पुतली बगैंचाको ढोकाभित्र पसे । बन्दीहरुलाई आआफ्ना ठाउँमा फिर्ता गरियो । रामदासप्रभुतिलाई ज्यान सजाय दिँदा आफ्ना छोरा ज.अग्निशमशेरलाई पनि ज्यान सजाय दिनुपर्ने परिस्थिति परेकाले आफ्ना छोरालाई बचाउन यिनीहरूको पनि ज्यान बच्यो तर मोहन, बबर आदि चन्द्रशमशेरका छोराहरु अग्निशमशेरलाई पनि सजाय दिने पक्षमा चाल चलिरहेका थिए । 

साभार : गोविन्द शर्माकृत नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ५७ बजे

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’

काठमाडौं । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

मोरङ – खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला – फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको