समयले फेरि लुट्यो शेरबहादुरको ‘जवानी’ | Khabarhub Khabarhub

समयले फेरि लुट्यो शेरबहादुरको ‘जवानी’

प्रचण्डको ‘प्लान’ मा कांग्रेस नेताहरु दोस्रोपटक बेखर



काठमाडौं– शीतल कादम्बिनीले ०६६ सालमा एउटा गजल लेखिन्, जसलाई शिव परियारले संगीत भरेर गाए– ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ । समयले जवानी यो लुटेपछि आयौ ।’

नेपालको राजनीतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हालत यही गजलजस्तो भएको छ । समयमै प्रधानमन्त्री पुष्पकमल दाहाललाई नबुझ्दा कांग्रेसको राजनीतिक रङ्गमञ्चमा फेरि एकचोटि पर्दा खसेको छ ।

‘प्रधानमन्त्री प्रचण्डले मागेको राष्ट्रियसभा अध्यक्ष र अर्थमन्त्री दिन हाम्रा सभापति तयार हुनुहुन्थ्यो,’ नेपाली कांग्रेसका एक नेताले खबरहबसँग भने, ‘सायद धेरै ढिलो भयो । शुरुमै दिएको भए गठबन्धन टुट्ने थिएन ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस १० गते सरकार गठनको वर्ष दिन पुगेको उपलक्ष्यमा गरेको सम्वोधनमा एक महिनाभित्र मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए । यसक्रममा सरकारलाई प्रभावकारी बनाउन अर्थ र गृह मन्त्रालय प्रधानमन्त्रीले आफ्नै दलसँग राख्नुपर्ने रहेछ भन्ने देउवासँग आग्रह गरेका थिए । तर, देउवाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन नसकिने अडान राखे ।

शेरबहादुर देउवाको विमतिका कारण मन्त्री हेरफेर गर्न नपाएपछि प्रधानमन्त्री दाहाल कांग्रेससँग रुष्ट बने र एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कसरतमा लागे । यो कुराको सुइँको देउवाले पाएनन् ।

सोमबार कांग्रेसको पदाधिकारी बैठकमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले एकै स्वरमा भन्दै थिए, ‘उनी (प्रचण्ड) एमालेसँग अर्को गठबन्धनको तयारीमा लागिसकेका रहेछन्, हामीलाई पत्तै भएन ।’

आइतबार प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष र अर्थमन्त्री दुबै माओवादीलाई दिन आफू तयार रहेको संकेत दिएका थिए । गठबन्धन कायम राख्न र अर्थमन्त्रीसमेत लिन देउवाले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

कांग्रेस स्रोतले खबरहबसँग भन्यो, ‘देउवाले गत पुस–माघमै अर्थमन्त्री फेर्न मानेको भए अहिलेको परिस्थिति आउने थिएन, तर, उनी ढिलो भए । जब बालकोटमा एमाले–माओवादीबीच सहमतिको ड्राफ्ट नै बन्न थाल्यो, त्यसबेला बल्ल देउवाले अर्थमन्त्री फेर्न सहमति दिए ।’

अझ रोचक त के छ भने जसका कारण गठबन्धन तोडिँदै थियो, उनै अर्थमन्त्री महतलाई देउवाले आइतबार प्रचण्डसँग गठबन्धन जोगाउनेबारे कुरा गर्ने जिम्मा दिइरहेका थिए ।

त्यसो त ०७९ पुसमा पनि कांग्रेस सभापति देउवा प्रधानमन्त्री कांग्रेसले नै पाउनुपर्ने अडानमा थिए । पुस १० गते जतिखेर उनी प्रचण्डलाई प्रधानमन्त्री बन्न तयार भए, त्यसबेला बालकोटमा एमाले–माओवादी–रास्वपा र राप्रपाको गठबन्धन बनिसकेको थियो । ०८० फागुन २१ गते सोमबार उही पुरानै इतिहास प्रहसनका रुपमा दोहोरिएको छ ।

कांग्रेसलाई झस्काउने त्यो बैठक

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिमा आइतबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयकमाथि छलफल चलिरहेको थियो । टीआरसी विधेयकमा एमालेको ‘अप्रत्याशित भूमिका’ देखेपछि कानुनमन्त्री धनराज गुरुङ नराम्रोसँग झस्किए ।

टीआरसी विधेयकलाई समितिबाट पारित गर्ने विषयमा आइतबारको बैठकमा मुख्य राजनीतिक दलहरुबीच सहमतिसमेत भयो । त्यसअघि आइतबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग विधेयकका विषयमा छलफल गरेका थिए ।

विधेयकमा भाँजो हाल्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बाहिरै राखेर भए पनि विधेयक अगाडि बढाउनुपर्ने कांग्रेसको मत थियो भने प्रधानमन्त्री दाहालचाहिँ एमालेलाई पनि सहमतिमा ल्याउनुपर्ने पक्षमा थिए ।

माओवादी नेताहरु सङ्क्रमणकालीन न्याय राजनीतिक विषयसमेत भएको भन्दै यो सहमतिबाटै अघि बढोस् भन्ने चाहन्थे । सहमति सम्भव भएन भने अन्तिम विकल्पका रुपमा मात्र संसदीय प्रक्रियामा जानुपर्ने उनीहरुले बताउँदै आएका थिए ।

एमालेले आफ्नो नेतृत्वको सरकार नबन्दासम्म यो विधेयक अड्काउने कांग्रेस नेताहरुको विश्लेषण थियो । यही बुझाइका साथ कांग्रेस नेताहरु संसदले अल्पमत–बहुमतको प्रक्रियाबाट भए पनि टुङ्गो लगाउनुपर्ने पक्षमा थिए ।

तर, यही विधेयकलाई लिएर राष्ट्रियसभा अध्यक्षमा बार्गेनिङ गरिरहेको एमालेले पछिल्लो पटक गत माघ ११ को राष्ट्रियसभा निर्वाचनमा पनि भागवण्डाको प्रयास गरेको थियो ।

एमालेले गत भदौमा पनि टीआरसी विधेयक अगाडि बढाउने गरी सत्ता गठबन्धनबाट ३ वटा संसदीय समितिको सभापतिसमेत लिएको थियो । तर, एमाले समितिका सभापति लिइसकेपछि पछि हटेको माओवादीको गुनासो थियो ।

अहिले राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखैमा एमालेले टीआरसी विधेयकलाई फेरि ‘बार्गेनिङ टुल्स’ बनाउन सक्ने आशङ्काबीच कांग्रेसले यसलाई प्रक्रियाबाट टुङ्ग्याउनु पर्ने बताएको थियो ।

तर, आइतबार संसदीय समितिमा भएको छलफलमा अरु दिनभन्दा केही फरक दृश्य देखियो । बैठकमा एमालेका सांसदहरुले एकाएक विधेयक सहमतिमै पारित गर्नुपर्नेमा जोड दिए । एमाले सचेतक महेश बर्तौला विधेयकलाई पारित गर्न सहमत देखिएपछि कांग्रेस झस्किएको समितिका एक सदस्य बताउँछन् ।

मतदान मार्फत भए पनि विधेयक टुङ्ग्याउने मनसाय बोकेर आएको कांग्रेसलाई प्रधानमन्त्रीको एमालेसँग भएको भेट र विधेयकमा एमालेको ‘युटर्न’ले झस्काएको कांग्रेस नेताहरु बताउँछन् ।

अनि मोडियो कांग्रेस….

टीआरसी विधेयकमा एमालेको भूमिकाबाट झस्किएका कानुनमन्त्री धनराज गुरुङले समिति बैठक चल्दै गर्दा सचेतक रमेश लेखकसँग कानेखुशी गरे । लगत्तै प्रमुख दलका शीर्षनेताहरू सहमति नजिक पुगेको भनिएको टीआरसी विधेयक टुङ्ग्याउन कानुनमन्त्री गुरुङले थप समय मागे ।

बैठकमा मन्त्री गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि आइतबारको कानुन समितिको बैठक निष्कर्षविहीन भयो । बैठक सोमबार बिहान ७ बजे नै बस्ने भनिएको थियो, तर एक रातमा राजनीतिक समीकरण नै उलटफेर बन्यो ।

समितिमा एमालेको भूमिकाले सशंकित बनेका कानुनमन्त्री गुरुङ र सचेतक लेखकले यो विषयमा सभापति शेरबहादुर देउवालाई जानकारी गराएका थिए । लगत्तै सभापति देउवाले प्रधानमन्त्री दाहालसँग परामर्श गरे ।

कांग्रेसले मन्त्रिपरिषद हेरफेरमा सहयोग नगर्दा आफू समस्यामा परेको बताएका प्रधानमन्त्रीले सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेर छलफल गरौं भन्दै देउवासँग कुराकानीलाई छोट्याएका थिए ।

दाहालसँगको कुराकानी पछि देउवाले पार्टीको तर्फबाट मन्त्री भएकालाई आफ्नै निवासमा बोलाएर प्रधानमन्त्रीलाई सहयोग गर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद हेरफेरमा बाहिरिन परे तयार रहन सभापति देउवाको निर्देशन थियो । तर, राजनीतिका चतुर तथा अस्थिर खेलाडी प्रधानमन्त्री दाहालले यो समयसम्म नेकपा एमालेसँगको नयाँ कोर्स निक्कै अगाडि बढाइसकेका थिए ।

देउवालाई दाहालको अर्को ‘सप्राइज’

गतसाल ०७९ पुस १० गते कांग्रेससँगको गठबन्धन छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल फेरि एकपटक एमालेसँग जोडिए । आइतबार यता २४ घण्टामा राजनीतिक कोर्षलाई ३६० डिग्रीमा घुमाएका प्रधानमन्त्री दाहालले सोमबार बिहान समिति, सत्ता गठन्धन र संसदको बैठकसमेत रोकेर एमालेसँगको सहकार्यलाई औपचारिकता दिए ।

बालुवाटारमा सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको कांग्रेससहितका गठबन्धन दलको बैठक नबसे पनि कांग्रेस सभापति देउवा उपसभासित पूर्णबहादुर खड्का र कृष्ण सिटौलासँगै बालुवाटार गएका थिए । तर, प्रधानमन्त्री दाहाल र देउवाबीचको वान–टु–वान वार्तामा प्रचण्डले ‘इट्स टु लेट’ भनेर देउवालाई बिदा गरे ।

यसअघि सोमबार बिहानै हुने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै उत्पन्न राजनीतिक उतार–चढावलाई सहमतिमा लैजाने अन्तिम प्रयास स्वरुप देउवा बालुवाटार गएका थिए ।

देउवासँगै गएका उपसभापति एवं उपप्रधानमन्त्री खड्कासँग पनि प्रचण्डले अब ढिला भइसकेको र आफूहरु अगाडि बढेको जवाफ दिएका थिए ।

योसँगै कांग्रेस सम्मिलित सत्ता गठबन्धन टुट्ने निश्चित गरेर नेताहरु बालुवाटारबाट बाहिरिएका थिए । १५ महिनाको अवधिमा देउवालाई दोस्रो पटक सप्राइज दिएका प्रधानमन्त्री दाहालले आइतबार बेलुकी माओवादी, एमाले, रास्वपा र जसपाका नेताहरु बसेर नयाँ सत्ता गठबन्धनको खाका तयार पारेका थिए ।

कांग्रेसले पत्तो नपाएको खेल

गत वर्ष पुस १० गते बिग्रेको गठबन्धनको समीकरणलाई तीन महिनापछि ०७९ चैत मा आफ्नो पोल्टामा फर्काएको कांग्रेसले ११ महिनामा फेरि गुमाएको छ । योसँगै कांग्रेस केन्द्र र प्रदेशमा समेत प्रतिपक्षी सीटमा पुग्ने भएको छ ।

तेस्रो पार्टी माओवादी केन्द्रको आडमा केन्द्रदेखि प्रदेशसम्म सरकारमा गएको कांग्रेसले आफ्नो पोल्टाबाट सत्ताको बागडोर खोसिँदैछ भन्ने विषयमा भने २४ घण्टा अघि मात्र पत्तो पाएको थियो ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले धोका दिँदा कोशीमा ब्यहोरेको हारबाट सशङ्कित बनेको माओवादी त्यसलगत्तै कांग्रेसको विकल्प खोज्न लागिपरेको एमाले सचेतक महेश बर्तौला बताउँछन् ।

जनतालाई डेलिभरीको गति दिने गरी प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न खोजे पनि कांग्रेसले साथ नदिँदा र निरन्तरको असहयोगका कारण कोर्ष करेक्सन गर्न परेको माओवादी नेता देवेन्द्र पौडेल बताउँछन् ।

पौडेल भन्छन्, ‘जनताको डेलिभरीलाई गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई कांग्रेसको साथ भएन । कतिपय मन्त्रलयको सपोर्ट भएन । डेलिभरी नभएपछि नैतिक रूपमा सरकारको नेतृत्व गर्नुको कुनै औचित्य भएन ।’

नेपालको राजनीतिक कोर्ष करेक्सन गर्ने गरी यो स्टेप चालिएको पौडेलको भनाइ छ । एमालेसँग राष्ट्रियसभादेखि प्रदेश सरकार सञ्चालनको योजना बनेको उनले बताए ।

प्रदेशदेखि केन्द्र सरकार सञ्चालनको योजना बन्ने समयसम्म गठबन्धनको मुख्य सहयात्री कांग्रेस भने बेखबर देखिएको थियो । प्रधानमन्त्रीले पटक–पटक ताकेता गर्दा पनि कांग्रेस गम्भीर नहुँदा गठबन्धन फेरिएको तर्कका बीच कांग्रेस सभापति देउवाले भने प्रधानमन्त्री दाहाल धोकेबाज भएको बताएका छन् ।

पदाधिकारी बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीलाई काम गर्न अनुकूल पार्न आफूले हर प्रयत्न गरे पनि उनले भने धोका दिएर गठबन्धन तोडेको बताएका थिए ।

प्रचण्डले धोका दिन्छन् भनेर आफू सतर्क रहे पनि उनले आफ्नो असिलयत नत्यागेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले सुनाएका थिए । गठबन्धन जोगाउन आफूले एमाले अध्यक्ष ओलीको फोन आउँदा पनि टार्ने गरेको भए पनि दाहालले गठबन्धन तोडेर कांग्रेसलाई मात्र नभई जनतालाई समेत धोका दिएको सभापति देउवाको तर्क थियो ।

पदाधिकारी बैठकमा सहभागी एक नेताका अनुसार देउवाले मन्त्री हेरफेरलाई कारण देखाए पनि उनी अर्कै कुराबाट प्रभावित भएर गठबन्धन तोडेको बताएका थिए ।

अब नेपाली कांग्रेसको राजनीतिक भविष्य के होला ? पार्टीभित्र सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काको पोजिसन कस्तो होला ? वाम गठबन्धनको सामना कांग्रेसले कहिलेसम्म, कसरी गर्ला ? यो भने भविष्यकै गर्भमा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ०९ बजे

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित

प्रधानमन्त्रीलाई माओवादी केन्द्रले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी,

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको