प्रदेश खारेजीको अडान छाड्दै रास्वपा | Khabarhub Khabarhub

प्रदेश खारेजीको अडान छाड्दै रास्वपा

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्रीसहित केही मन्त्री प्रस्ताव



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश संरचना खारेजीको अडानबाट पछि हट्ने भएको छ । नेपालको संविधानको भाग ५ मा उल्लेखित राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड प्रावधान अनुसार नै अघि बढ्नेगरी रास्वपाले लिखित दस्तावेज ल्याउन लागेको हो ।

मङ्गलबार (आज) बाट काठमाडौंमा शुरू राष्ट्रिय परिषद्‌ भेलापछि सो पार्टीका नेताहरूले मुलुकको सर्वोच्च र कार्यकारी पदबारे पनि नयाँ रोडम्याप अघि सार्न लागिएको जानकारी दिएका छन्‌ ।

नेपालको संविधानको भाग ५ मा उल्लेखित राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड प्रावधानलाई अबलम्बन गर्ने, भाग ६ मा उल्लेखित राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था एवम्‌ भाग १३ मा उल्लेखित प्रदेश कार्यपालिकाको विद्यमान व्यवस्था हेरफेर प्रस्तावसहित सो पार्टीले प्रतिवेदन तयार गर्न लागेको हो ।

पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार सो पार्टीले प्रदेश संरचना खारेज गर्नुपर्ने एजेण्डा सच्याएर प्रदेशमा एकजना मुख्यमन्त्री र केही मन्त्रालयहरू मात्र रहनुपर्ने प्रस्ताव प्रतिवेदनमा समेट्दैछ । रास्वपाले एक प्रदेशमा आवश्यकता अनुसार चारवटादेखि पाँचवटा मात्रै मन्त्रालय राख्न आवश्यक ठानेको छ ।

सम्बन्धित प्रदेशको आवश्यकता र स्थानीयतालाई हेरेर मन्त्रालयहरू राख्नुपर्ने धारणा आएको पराजुलीले बताए । ‘प्रदेशको प्राथमिकतालाई हेरेर मन्त्रालयहरू राख्नुपर्छ,’ पराजुलीले भने, ‘गण्डकीमा कृषि मन्त्रालय आवश्यक नहुन पनि सक्छ । तर त्यहाँ पर्यटन मन्त्रालय अनिवार्य आवश्यक हुन सक्छ।’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय व्यक्ति राष्ट्रपति चुनिनुपर्ने व्यवस्था पनि रास्वपाको प्रतिवेदनमा समेटिने पराजुलीको दाबी छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने दस्तावेज ल्याउन लागिएको उनले बताए । यस्तै; स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रावधान पनि रास्वपाले आफ्नो प्रतिवेदनमा समेट्न लागिएको उनले जानकारी दिए ।

‘तत्कालै लागू गर्न नसकिएला, तर हामी बहुमतसहित सरकारमा गएका बेला यसलाई लागू गरेरै देखाउँछौँ,’ पराजुलीले भने, ‘देशको आर्थिक अवस्था सुधार गर्नका लागि प्रदेशहरूलाई सानो आकारको बनाउने र केन्द्रलाई पनि जननिर्वाचित गर्न लागि हामीले पहल गर्नेछौँ ।’

वैशाख तेस्रो साता महाधिवेशन, १२१ जना केन्द्रीय सदस्य

रास्वपाले वि.सं. २०८२ वैशाख तेस्रो साता पार्टीको पहिलो महाधिवेशन गर्ने भएको छ। महाधिवेशनले १२१ जना केन्द्रीय सदस्य चयन गर्नेछ।

यस्तै पदाधिकारीमा हाल कायम भएकामध्ये दुईजना थप हुने भएका छन्। एक उपसभापतिमा महिला अनिवार्य गरिने र अब तीनजना उपसभापति रहने तथा एक महिला पदाधिकारी पनि थप हुने पराजुलीले जानकारी दिए ।

वैशाखमा हुने महाधिवेशनमा कोषाध्यक्ष, सह-कोषाध्यक्ष, प्रवक्ता र सह-प्रवक्ता बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले खबरहबलाई जानकारी दिए।

‘लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यास नै गर्न चाहेका हौं । वैशाखमा जसरी पनि महाधिवेशन हुन्छ र हामी निर्वाचनमा जान्छौं,’ प्रवक्ता झाले भने, ‘हाम्रो पार्टीमा महिला र सीमान्तकृत समुदायको विशेष उपस्थित अबको महाधिवेशनपछि अझ व्यापक हुनेछ ।’

उनले पार्टी सभापतिमा योग्यता पुगेका सबै व्यक्तिहरू दाबेदार हुनसक्ने दाबी समेत गरे । ‘हामीले अरू पार्टीको जस्तो शीर्ष पदाधिकारीमा सहमति गरेर अन्यमा निर्वाचन गर्दैनौँ,’ झाले खबरहबसँग भने, ‘सभापति स्वयम्‌ अब निर्वाचित भएर आउनुहुन्छ ।’

झाका अनुसार रास्वपाले हरेक पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था पार्टीको विधानमा समेट्न लागेको छ। यस्तै; पार्टीले अवलम्बन गर्नुपर्ने मूल्य मान्यताका विषयमा पनि व्यापक छलफल भएर प्रतिवेदन बन्ने पार्टी सहमहामन्त्री सुमना श्रेष्ठको भनाइ छ ।

प्रतिनिधि सभा सांसद समेत रहेकी श्रेष्ठले पार्टीमा केही मूल्यमान्यताका सवालमा गम्भीर रूपमा छलफल हुन आवश्यक रहेकाले यो पटक पार्टीमा आस्था राख्ने सांसदहरूले न्यूनतम मूल्यमान्यता पालना गर्न केही नियमहरू बनाएको बताएकी छिन् ।

‘पार्टीका सदस्यहरू र पार्टीमा आस्था राख्ने व्यक्ति कहाँ कसरी प्रस्तुत हुनुपर्छ र के गर्न जरुरी छ भन्ने विषयमा मूल्य मान्यतामा समेटिएको छ,’ श्रेष्ठले भनिन्, ‘हाम्रो पार्टीलाई निरन्तर प्रहारहरू भएकाले केही मूल्य मान्यतालाई अङ्गीकार गर्दै नागरिकमा आशा जगाउन र नागरिकको निराशा चिर्न पार्टी एक्सनमा जानैपर्छ ।’

‘संगठन चाहिने रहेछ’

रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउने र अन्य तहमा सानो आकारको संगठन बनाउने परिकल्पना गरेको केन्द्रीय सदस्य तथा सांसद्‌ पराजुलीको भनाइ छ । पराजुलीका अनुसार; अन्य पार्टीको जस्तो भातृ संगठन नबनाउने, तर सानो आकारको संगठनहरू स्थापना गर्नेबारे कल्पना गरिएको छ।

‘विद्यार्थी संगठन, कर्मचारीहरूको संगठन, शिक्षकको संगठन जस्ता अभ्यासहरू हामी गर्दैनौं,’ पराजुलीले भने, ‘हामीले स्थानीय तहका वडा र पालिकाहरूमा सानो संगठन बनाउने कल्पना भने गरेका छौं । गएको उपनिर्वाचनमा पनि संगठन नबनेका कारण हामीले समस्याहरू झेलेका छौं, यसलाई सुधार गरेर लैजाने योजना अघि सारिएको छ ।’

संगठनको नीति विचार र सिद्धान्तबारे व्याख्यात्मक टिप्पणी

रास्वपाले जलेश्वर बैठकमा गरेको लोकतान्त्रिक बहुलवादी पार्टीको विषयमा व्याख्यात्मक टिप्पणी सहित छर्लङ्ग हुने गरी प्रकाश पार्दै नीति विधान प्रतिवेदन ल्याएको सांसद्‌हरूको दाबी छ ।

लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रवादी मूल्यमान्यतालाई अङ्गीकार गर्दै सबै पार्टीसँग सह-अस्तित्व कायम गरी कुनै पार्टीलाई पनि प्रधान शत्रु नमान्ने रास्वपाको निष्कर्ष छ ।

‘हामीले सबै पार्टीलाई एकनास रूपले लोकतान्त्रिक पद्धतिबाट हेरेका छौं । कुनै पनि प्रतिवेदनमा कुनै पार्टीप्रति गलत दृष्टिकोण राखेका छैनौँ,’ पार्टीका केन्द्रीय सदस्य तथा सांसद्‌ शिशिर खनालले भने, ‘हामी पुरानो पार्टीको विकल्पमा भने आएका हौं, तर पुरानो पार्टीको विकल्पमा मात्रै भनेर अब सिद्धान्त र विचार बिना कहीँ पुगिँदैन । त्यसैले हामीले अङ्गीकार गरेको पार्टीको सिद्धान्त र विचारलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिवेदनमा समेटेका छौं ।’ धार्मिक स्वतन्त्रताको अभ्यासलाई पनि रास्वपाले व्याख्यात्मक रूपमा प्रतिवेदनमा छर्लङ्ग पारेको उनले दाबी गरे ।

यस्तै सभापति लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा राजनीतिक पार्टीहरूले लगाएका आरोप र राजनीतिप्रति जनताले राखेको भरोसाका विषय पनि व्यापक रूपमा समेटिएको झाको दाबी छ ।

सभापतिले प्रस्तुत गर्ने प्रतिवेदनमा पार्टी सच्चिएर जानुपर्ने कुराहरू समेत राखिएको र पार्टी अनुशासनमा कायम गराउन विभिन्न प्रावधानहरू समावेश गरिएको उनले बताए ।

यस्तै; २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्नका लागि वृहत्‌ रूपमा जनतामाझ पुग्नुपर्ने भन्दै अब रास्वपालाई अभियानले मात्रै नहुने, सिद्धान्त,विचार र नीतिमा खारिएर जनतालाई बुझाउन सक्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन आउन लागेको सो पार्टीका नेताहरूले बताएका छन्‌ ।

रास्वपामा  सभापति रवि लामिछानेले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गरेका नीति तथा विधान मस्यौदा प्रतिवेदन र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका संगठनात्मक प्रतिवेदन बुधबार पारित हुने बताइएको छ ।

रास्वपा राष्ट्रिय भेला : १४ सय प्रतिनिधि सहभागी हुने, विधान र दुई प्रतिवेदन पेश गरिने

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ११ : २० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले