प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने (कार्यसूचीसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने (कार्यसूचीसहित)


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।

बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सो प्रस्तावमाथि छलफल पश्चात निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले आव विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए । सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् ।

गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभामा अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा १५१ मत छ । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमत पार्टीसँग ६, लोसपासँग ४, नागरिक उन्मुक्ति पार्टीका ३, नेमकिपा र राष्ट्रिय जनमोर्चासँग एक–एक सांसद छन् । यस्तै तीनजना स्वतन्त्र सांसद छन् ।

यस आधारमा प्रधानमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै, आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : १७ बजे

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित