नयाँ प्रविधिले अस्पतालको फोहर व्यवस्थापनमा सहज « Khabarhub

नयाँ प्रविधिले अस्पतालको फोहर व्यवस्थापनमा सहज


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पर्वत– दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिबाट फोहर व्यवस्थापन गर्न थालिएको छ ।

जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो । अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ ।

दैनिकजसो सयौँ बिरामी उपचारका लागि आउने अस्पतालमा फोहरको मात्रा समेत अत्यधिक हुने गरेपछि नयाँ प्रविधि भित्र्याएर अस्पताल भित्रै व्यवस्थापन गर्न थालिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

विसं २०४६ मा अस्पताल स्थापना भएदेखि नै जोखिमयुक्त फोहर व्यवस्थापन गर्दा ‘जलाउने विधि’ रहेकोमा अहिले ‘अटो क्लेप्स’ मेशिनमार्फत व्यवस्थापन गर्न थालेपछि सङ्क्रमण फैलिने र दुर्गन्ध फैलिने दुवै समस्या हटेको उनको भनाइ छ ।

फोहर जलाउँदा निस्केको  धुवाँले अस्पतालमा उपचारका लागि आएका बिरामी  मात्र हैन आसपासको बस्तीका बासिन्दालाई पनि प्रत्यक्ष असर गर्ने गरेको थियो ।

स्वास्थ्य संस्थाबाट नै उत्सर्जन भएको धुवाँले वातावरण प्रदूषित बनाउँदै स्थानीयलाई समेत असर गरेपछि अस्पतालमा जोडिएको ‘अटो क्लेप्स’ उपकरणले धुवाँ विस्थापन गरेको अध्यक्ष गिरीले बताए । अस्पतालले १० लाखको लागतमा उपकरण जडान गरिएपछि फोहर व्यवस्थापनमा सहज भएको हो ।

बस्तीभरी दुर्गन्ध फैलिएपछि स्थानीयवासीले आन्दोलन नै गरेका थिए । धुवाँका कारण समुदाय नै दुर्गन्धित बनेको, बस्तीमा बस्न नै कठिन भएकोलगायतका समस्या भएपछि प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत अटो क्लेप्स मेसिन जडान गरिएको हो ।

सोही उपकरणबाट फोहरलाई निर्मलीकरण गर्न थालेपछि जलाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष गिरीले बताए ।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणु, रसायन वा अन्य पदार्थको सम्पर्कमा रहेको फोहरलाई नगरपालिकाको फोहर व्यवस्थापन गर्ने सवारीमा सिधै राख्दा उक्त रसायन, पदार्थ, कीटाणु हावा र पानीमा फैलिने जोखिम समेत रहेको थियो ।

यस्तो फोहरले धेरैलाई सङ्क्रमित गर्ने वा स्वास्थ्यमा हानी पुर्‍याउन सक्ने भएकोले अस्पताल परिसरमा नै खाडल बनाएर सोही खाडलमा जलाउने गरिएकामा अहिले स्वास्थ्यमा असर नगर्ने खालका फोहर पदार्थ मात्रै नगरपालिकाको सवारीले उठाउने गरेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले फोहरको वर्गीकरण गरेर जोखिम बहन गरेका फोहरलाई सुरक्षित तवरले अस्पतालमै नष्ट गरिने र सामान्य खालका फोहरलाई नगरपालिकाको सवारीमा पठाउने गरिएको बताए ।

फोहरलाई ‘अटो क्लेप्स’ मेसिनमा राखेपछि कम्तीमा पनि एक सय २२ डिग्री सेल्सियस तापक्रम कायम हुने गरी हानिकारक पदार्थलाई निष्क्रिय गरिदिन्छ । यसरी निर्मलीकरण गरिएको फोहर निकालेर सुकेपछि मात्रै नगरपालिकाको सवारीलाई दिने गरिएको उनको भनाइ छ ।

अस्पताल परिसरभित्रै व्यवस्थित फोहर व्यवस्थापन कक्ष स्थापना गरेर वाष्पीकरण विधिबाट सबै कीटाणु र जीवाणुलाई नष्ट गरिएकाले अहिले स्वास्थ्यकर्मी, बिरामी र समुदाय तथा आम नागरिकलाई पनि स्वस्थ रहन मद्दत गरेको डा. बास्तोलाले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ११ : २९ बजे

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’