आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’ | Khabarhub Khabarhub

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र  आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।

स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत  जिल्लाका पर्यटक सिमसार र पोखरी र अवलोकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिंह राईले बताए । पोखरीमा डुङ्गा सञ्चालन गरेपछि पर्यटक आउन थालेका उनको भनाइ छ ।

समितिले पोखरीमा दुईवटा डुङ्गाको व्यवस्था गरेको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुङ्गा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताए ।

‘पोखरीमा डुङ्गा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भए पनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ’, अध्यक्ष राईले भने, ‘डुङ्गाबाट पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् ।’ पर्यटक प्रतिव्यक्ति एक सयको टिकट काटेर नौका विहारमा रमाउने गरेका छन् ।

तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका स्थानीय पर्वत राईले बताए । ‘शनिबार र सार्वजनिक बिदाका अन्य दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गरेको छ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ’, उनले भने, ‘सिजनको बेला वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।’

तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताए । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो ।

विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्र तीन सय रोपनी भएपनि पोखरी क्षेत्र भने एक सय रोपनीमा सीमित छ । नागबेलीजस्तो देखिने १३ वटा कुना भएकाले यसको नाम तेह्रकुने राखिएको अध्यक्ष राईले बताए ।

वरिपरिको हरियाली, डाँडाकाँडा र वनजङ्गलले पोखरीको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ । विशेष गरी आदिवासी राई समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको संस्कृतिका बारेमा पनि जान्न सकिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : १५ बजे

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती