शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि... | Khabarhub Khabarhub

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन् । विपक्षमा हुँदा संसदीय समितिहरुमा यक्ष प्रश्नहरु उठाएर चर्चा कमाएकी मन्त्री समुना श्रेष्ठ सोसियल मिडियामार्फत जनतासँग प्रत्यक्ष सम्वादमा जोडिन चाहन्छिन् । पढेलेखेकी, जान्ने युवा भएकाले उनले देशको शिक्षा क्षेत्रमा केही राम्रो काम गर्लिन् भन्ने धेरै मानिसहरुमा अपेक्षा छ ।

यही क्रममा मन्त्री श्रेष्ठ बुधबार राति पौने ९ बजेतिर बूढानीलकण्ठ स्कुलसम्बन्धी एउटा भिडियोसहित प्रस्तुत भइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी मन्त्री श्रेष्ठले ट्विटरमा यस्तो लेखेकी छिन्–

‘जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा बूढानीलकण्ठ स्कुलमा पढ्न अब चैत्र २९ मा बिहान ११ बजे परीक्षा सञ्चालन हुँदैछ । सबै माझ जानकारी पुर्‍याइदिनु होला है ।’

मन्त्री श्रेष्ठले भिडियोमा ‘नमस्ते सबैजनालाई, आज म एक्साइटिङ न्युज लिएर आएकी छु’ भन्दै बूढानीलकण्ठ स्कुलको भर्नासम्बन्धी सूचनालाई निकै नै महत्व दिएकी छिन् ।

मन्त्री श्रेष्ठले प्रस्तुत गरेको ‘एक्साइटिङ न्युज’ लाई समाज र जनताले चाहिँ कसरी लिँदारहेछन् त ? मन्त्रीबाट हुने जनतासँगको यस्तो प्रत्यक्ष सम्वाद राम्रो काम हो कि स्टन्ट ? यसबारे चासो राखेर हामीले ट्विटरमा आएका प्रतिक्रियाहरुलाई नियाल्यौं । केही प्रतिक्रियाहरु हेरौं–

रञ्जु दर्शनाले शिक्षामन्त्री श्रेष्ठलाई व्यंग्य गर्दै लेखेकी छिन्,‘ मैलेजसरी राजधानीमा बसेर कर्णालीका बिद्यार्थीको कोटाको छात्रवृति हजम नगर्नुहोला छुटेछ ।’

शिक्षामन्त्री श्रेष्ठमाथि शशांक ट्विटर ह्याण्डिल भएका व्यक्तिको टिप्पणी छ,‘ तपाईं मन्त्री हुनुहुन्छ कि बूढानीलकण्ठको सूचना अधिकारी ? कोही मन्त्री वडा कार्यालय उदाटन गर्ने, कोही विद्यालयको विज्ञापन गर्ने ! यस्ता विज्ञापन नै गर्ने मन हो भने पनि कम्तिमा यस्तै २०० विद्यालय बनाउनुस् र सामुहिक विज्ञापन गर्नुस ! यो हदको प्रचार भोक उचित भएन !’

हाल लण्डनमा रहेका ‘बोज बराल’ शिक्षामन्त्रीलाई सुझाव दिन्छन्, ‘बूढानीलकण्ठ मात्र होइन रातो बङ्गला लगायत देशभरका सबै निजी विद्यालयमा कर्पोरेट सोसियस रेस्पोन्सिबिलिटी समग्र विद्यार्थी संख्याको निश्चित प्रतिशतलाई यस्तै निशुल्क आवासीय शिक्षा दिन पर्ने कानून पास गराएर अवलम्बन गराउनुस् यदि छैन भने सुमना श्रेष्ठजी ।’

रोशन सिवाकोटी लेख्छन्, ‘दुर्गम जिल्लाबाट शुरुवात गरौं, कम्तिमा एक जिल्लामा एक वटा बूढानीलकण्ठ मोडलको स्कुल बनाऔं, सार्बजनिक विद्यालयकै जमिन भौतिक संरचना प्रयोग गर्न सकियो, शिक्षक र व्यवस्थापन मात्रैको कुरा हो ।’

सुमन न्यौपाने भन्छन्, ‘ ७५३ स्थानीय तहका सबै स्कुललाई पनि यसै लेभलमा पुर्‍याउने कसरी हो ? त्यतापट्टि सोच्ने कि ! यो एप्रोच त उहिले नै अन्य जिल्लामा स्कुल नभएका बेलामा गरिएको प्रावधान हो जस्तो लाग्छ । यो त चलेकै छ, प्रायःलाई थाहा पनि छ । यसबाट त ४० लाखमा ४० जतिले मात्र अवसर पाउँछन् ।’

त्यस्तै, नरेशले लेखेका छन्, ‘ २०८० वैशाखमा सञ्चालित परीक्षाको ११ महिनापछि नतिजा प्रकाशित गर्नु त कता हो कता, आफ्नै कमी कमजोरीले परीक्षार्थीको उत्तरपुस्तिका हराउने र फेरि ११ महिनापछि परीक्षा लिने ? गैरजिम्मेवार त्रिविका पदाधिकारीलाई कसले कारबाही गर्ने ?’

तुम्बाहाङ लेख्छन्, ‘बूढानीलकण्ठ स्कुल आधुनिक शिक्षाका लागि ब्रिटिसका तर्फबाट नेपालीका लागि उपहार थियो । तर, यसलाई पनि राजतन्त्रदेखि अहिलेसम्म पावरको ब्याउने गोरु बनाएर कथित ठूलाबडाले बिगौती खाए । सोर्स फोर्सले समानमुलक कोर्ष हुनै सकेन ।’

महेश मल आक्रोश पोख्छन्, ‘राजाले बनाएका थिए र महारानीहरुले चिच्याउन पाउनुभयो । यस्तो दुईवटा स्कुल मात्रै बनाउनुस् तब भनौंला ।’

सक्कली शरणार्थी नामको आइडीबाट मन्त्री श्रेष्ठमाथि टिप्पणी आएको छ, ‘देख्यौ केटा हो, जान्नेलाई छानेपछि हिजोसम्म शिक्षामन्त्रीको काम के हो भन्थ्यौ नि, यी यसरी स्कुलमा भर्नाको विज्ञापन गर्दिने हो, मानौं जो–जसले बूढानीलकण्ठ पढ्न सकेन, उसको जिन्दगी खेरै गयो टाइपमा ।’

नारायण अधिकारी लेख्छन्, ‘यो कुनै एक्साइटिङ न्युज होइन, नियमित प्रक्रिया हो । हामी सानो छँदा पनि बूढानीलकण्ठमा आवासीयरुपमा निःशुल्क पढ्नका लागि परीक्षा सञ्चालन हुन्थ्यो । म २०३६ सालको एसएलसी हो । मैले ८ मा पढ्दा हाम्रो स्कुलमा छनोट परीक्षा भएको मलाई सम्झना छ ।’

नवीन अधिकारी लेख्छन्, ‘तपाईं देशको शिक्षामन्त्री हो । ठीक छ, आफू पढेको विद्यालयको बारेमा बोल्न मन लाग्यो, ठिकै छ । तर यस्ता विद्यालयहरु देशभर कति छन्, कुन–कुन विद्यालयले आवासीय छात्रावृत्ति दिन सक्छन्, दिनुपर्छ । एकीकृत गर्नुहोस् । प्रणाली एकीकृत गर्नुहोस् । अर्को वर्ष एकीकृत छनोटको विज्ञापन गर्ने हवस् ?’

सागर अक्टरेन नामको आइडीबाट मन्त्रीमाथि टिप्पणी आएको छ, ‘रास्वपामा कति अपरिपक्व, गैरजिम्मेवार र मन्त्रिपदको वजन सहन नसक्ने सांसद/मन्त्री छन् भन्ने सानो झलक । वहाँलाई उच्च शिक्षा भनेकै बूढानीलकण्ठ स्कूल हो, थियो र रहनेछ । तपाईं जतिको शिक्षा मन्त्री पनि पुग्यो है ! योभन्दा बढ्ता आश रहेन । अब खल्तीमा रहेको चेकलिस्ट छोडी राजीनामा दिनुस् ।’

शिक्षामन्त्री बनेपछि सुमनालाई बूढानीलकण्ठ स्कुलले दिएको बधाई

शिक्षामन्त्रीसँग होम दुलालको माग छ, ‘निम्न वर्गकाले पनि कसैले खाई नखाई दुःखले छोराछोरी निजी स्कुलमा पढाउँछन् । उनीहरूलाई पनि छोराछोरी बूढानीलकण्ठमा छात्रवृत्तिमा पढाउन मन भए पनि नपाइने । यस्तो भेदभावपूर्ण व्यवस्था हटाउनुपर्‍यो ।’

नवरथ बानियाको टिप्पणी छ, ‘माफ गर्नुहोला शिक्षामन्त्रीज्यू ! यो सूचना सम्प्रेषण गर्ने दायित्व बोकेका अधिकारी कोही हुनुहुन्छ होला । उहाँ मार्फत सूचना सम्प्रेषण गर्नुभए सबै पदको मर्यादा कायम रहन्थ्यो ।’

पुष्कर कँडेल शिक्षामन्त्रीको भिडियोमाथि टिप्पणी गर्दै भन्छन्, ‘स्टन्ट धेरै भो । बालाबालिकाहरूले बाबुआमाको हेरचाहमा बसेर आफ्नै गाउँ ठाउँमा गुणस्तरीय शिक्षा पाउनुपर्छ, यसका लागि सो अनुसारको प्रबन्ध गर्न शिक्षामन्त्रीले नीतिगत व्यवस्था गरेर लगानी जुटाउनुपर्छ न कि बूढानीलकण्ठको प्रचार । शिक्षा व्यवस्थाको चरित्र कस्तो हुनुपर्छ, यसका बारेमा बोल्नुपर्छ ।’

अब्दुल रहमानको गुनासो छ, ‘चैत्र २९ गते इस्लाम धर्मावलम्बीहरूको महान चाड ‘ईद’ परेको छ । त्यही दिन परीक्षा ? परीक्षा दिन जाने कि पर्व मनाउने मन्त्रीज्यू ?’

प्रेम मगर भन्छन्, ‘आफैले पढेको विद्यालयको विज्ञापन गर्नुभएछ । सेन्ट जेभियर्स, रातो बंगला लगायतका विद्यालयहरुलाई चाहिँ मन्त्राणीज्यूले किन हेला गर्नु भएछ ?’

मन्त्री श्रेष्ठले सुनाएको बूढानीलकण्ठको सूचनाप्रति सकारात्मक टिप्पणी गर्नेहरु ज्यादै नै थोरै मात्र भेटिएका छन् । यो समाचार तयार पार्दासम्म आएका १४६ प्रतिक्रिया मध्ये एकाध मात्रै मन्त्रीको समर्थनमा छन्, बाँकी सबै आलोचना र आक्रोश पोखिएका छन् ।

राष्ट्रवादी नामको ट्विटर ह्याण्डिलबाट प्रतिक्रिया आएको छ, ‘वाऊ धेरै राम्रो काम गर्नुभयो ।’

श्रेष्ठ एसले लेखेका छन्, ‘बीचमा आएर यस्ता कुरा सुनिएका थिएनन् । पुरानो असल कामलाई निरन्तरता दिनुभएकोमा धन्यवाद ।’

शेर सिंह पनि मन्त्रीको समर्थन गर्दै लेख्छन्, ‘वाह ! यस्तो धेरै नै नयाँ कामको शुरुआत गर्नुभयो मन्त्रीज्यू धन्यवाद । अब सबले बूढानीलकण्ठ र त्यसपछि एमआइटी । तर, टीयुको हराएका कापीहरु कहिले भेटिन्छन् होला त ..?’
अमृत थपलियाले लेखेका छन्, ‘राम्रो कामको थालनी ।’ त्यस्तै, दीपक कोइराला लेख्छन्, ‘तपाईको कारणले नै यो सम्भव भएको हो । धन्यवाद ।’

पदमप्रसाद पोखरेल सकारात्मक तर व्यंग्य मिसाएर लेख्छन्, ‘क्या दामी विज्ञापन ! केही थप छ कि ? मन्त्रीज्यू, अब क्रमशः रातोे बंगला, डीएभी, लिटिल एन्जल आदि–आदिको पनि दिइरहनु है । भर्ना कहिलेबाट ? अनि इन्ट्रान्स ?’

गुरुङ राम मन्त्री श्रेष्ठलाई समर्थन गर्दै लेख्छन्, ‘फारमको डाउनलोड लिंक पनि राखिदिनु भएको भए सुनमा सुगन्धित हुने थियो मन्त्रीज्यू । कति नकारात्मक कमेन्ट गर्नु भएको सबैले ? योभन्दा पहिलाका शिक्षामन्त्रीहरुले यस्तो जानकारी दिन्थे ? कम्तिमा पनि उहाँले यति जानकारी त दिनुभयो । धन्यवाद ।’

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : ०४ बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने-लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको