पत्रु खानेकुराको विज्ञापन बन्द गरौँ | Khabarhub Khabarhub

पत्रु खानेकुराको विज्ञापन बन्द गरौँ

१५ रुपैयाँमा बालबालिकालाई के खाजा खुवाइएको छ ?



जनस्वास्थ्य भनेपछि खानेपानी, चर्पी र सरसफाइको राम्रो व्यवस्था हुनु हो । आजभन्दा ३० वर्ष अगाडिको अवस्था हेर्ने हो भने अहिले धेरै सुधार भएको स्थिति छ । गर्मी मौसम शुरु हुनेबित्तिकै जताततै हैजा, टाइफाइड, लगायतका रोगहरू फैलिने समस्या थियो, त्यसमा सुधार भएको छ । तर, अझै पनि कुपोषण र महिलाहरुमा रक्तअल्पता लगायतका समस्या यथावत् छन् ।

नसर्ने रोगहरू पनि तुलनात्मक रुपमा बढिरहेको अवस्था छ । यी सबै कुराहरू हेर्दा नेपालको जनस्वास्थ्यको एकदमै नराम्रो पनि छैन तर नसर्ने रोगहरू अहिलेकै अवस्थामा बढिरह्यो भने भविष्यमा जटिलता पैदा हुन सक्छ ।  

नेपालमा मात्रै होइन, संसारभरि नै कुपोषण र रक्तअल्पता लगायतका समस्या बढिरहेको अवस्था छ । अस्वस्थ जीवनशैली, अस्वस्थ खानेकुरा र कामको बोझको चाप लगायतका कारणले शारीरिकसंँगै मानसिक समस्या, मोटोपन, मुटरोग, मधुमेह र मिर्गौलासम्बन्धी रोगहरू बढिरहेका छन् ।

पहिले–पहिले युवामा मधुमेहको समस्या हुँदैनथ्यो । अहिले युवाअवस्थामै मधुमेह, उच्च रक्तचापको समस्या बढिरहेको छ । यसको मुख्य कारण भनेकै अस्वस्थ जीवनशैली हो ।

सरकारले स्कुलमा बालबालिकाहरूलाई पत्रु खाना दिनुहुँदैन भनेर नीति त ल्यायो । तर, १५ रुपैयाँमा एक कप चिया पनि नआउने अहिलेको अवस्थामा बच्चाहरूलाई खाजा कसरी पुग्छ ? 

जस्तै– बाहिरको पत्रु खाना खाने, कामको बोझ धेरै हुने, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, रातिसम्म मोबाइल हेर्ने, यस्ता धेरै कारणहरू छन् जसले गर्दा नसर्ने रोगहरू बढिरहेका छन् ।  अझ दुःखलाग्दो कुरा के छ भने यो समस्या अहिले शहरमा मात्रै होइन, गाउँसम्म पुगिसकेको छ । 

सरकारले दीर्घरोगहरुको उपचारका लागि पैसा दिन्छ । तर, यी समस्याहरू समयमै पत्ता लगाउन एकदमै सस्तोमा जाँच गर्न सकिने व्यवस्था छ तर त्यसतर्फ सरकारको चासो छैन ।

जताततै डाक्टर र नर्सहरू धेरै भए भने जनस्वास्थ्यको अवस्थामा सुधार हुन्छ भन्ने सरकारको धारणा छ । तर, वास्तवमा जनस्वास्थ्यको समस्या डाक्टर नर्स र औषधीले मात्रै समाधान गर्न सक्दैनन् । यसका लागि केही नीतिगत कुरामा परिवर्तन गर्न जरुरी छ ।

जस्तै– पहिले सञ्चार माध्यममा चुरोट र रक्सीको विज्ञापन एकदमै धेरै आउँथ्यो, पछि जनस्वास्थ्यविज्ञहरुले त्यसका विषयमा धेरै छलफल गरेपछि अहिले सुधार भए पनि त्यस्तै कुलतमा लाग्ने पत्रु खानेकुराहरूको विज्ञापन चाहिँ बिहानदेखि बेलुकासम्म आउने गरेको छ ।

यस्ता भ्रामक विज्ञापनहरू बजिरहँदा विशेष गरी बालबालिकाहरू त्यही खानाप्रति आकर्षित भएर भविष्यमा मोटोपन लगायत विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । 

कर्णाली लगायत ग्रामीण क्षेत्रको अवस्था
पहिले ग्रामीण क्षेत्रमा मातृ मृत्युदर एकदमै धेरै थियो, त्यसमा सुधार आएको छ । नर्स, डाक्टर र स्वास्थ्यचौकी धेरै थिएनन् । धेरैजसो महिला घरमै सुत्केरी हुन्थे । यद्यपि अहिले पनि कर्णाली, सुदूरपश्चिम लगायतका ग्रामीण भेकमा घरमै सुत्केरी हुने महिला छन् । तर तुलनात्मक रुपमा सुधार भएको अवस्था छ । 

सरकारले गर्भवती तथा सुत्केरी महिलाहरूलाई विशेष किसिमको कठिन परिस्थितिमा हवाई उद्धार पनि गर्ने गरेको छ । त्यो पनि सकारात्मक कुरा हो । तर, यति हुँदाहुँदै पनि गाउँघरमा बच्चाको कुपोषण, महिलाहरूको कुपोषण एकदमै धेरै छ ।

नीतिगत परिवर्तन आवश्यक
पुरुषहरूले मादकपदार्थ सेवन गरेर महिलामाथि गर्ने हिंसा र त्यसले महिलामा पार्ने मानसिक समस्या एकदमै धेरै छ । कतिपय महिलाले डिप्रेसनमा गएर आत्महत्या समेत गरेका घटनाहरू सुनिन्छन् । यी सबै समस्या एकैपटक समाधान गर्न सकिँदैन । तर, यी समस्याका बारेमा जनस्वास्थ्यविज्ञहरुसँग छलफल गरी नीतिहरूमा परिवर्तन गर्न आवश्यक छ ।

सिंहदरबारमा बसेर नीति बनाउने मान्छेले स्थानीय स्तरमा के समस्या छ भनेर बुझ्न आवश्यक छ, प्रदेश र स्थानीय सरकारले पनि समस्या बुझेको पाइँदैन

जस्तै, उदाहरणका लागि– सरकारले स्कुलमा बालबालिकाहरूलाई पत्रु खाना दिनुहुँदैन भनेर नीति त ल्यायो । तर, १५ रुपैयाँमा एक कप चिया पनि नआउने अहिलेको अवस्थामा बच्चाहरूलाई खाजा कसरी पुग्छ ? बालबालिकालाई के खाजा खुवाइएको छ ? कसरी खुवाउने गरेको छ ? यी विषयमा अनुगमन भएको छैन ।

सिंहदरबारमा बसेर नीति बनाउने मान्छेले स्थानीय स्तरमा के समस्या छ भनेर बुझ्न आवश्यक छ । प्रदेश र स्थानीय सरकारले पनि समस्या बुझेको पाइँदैन । हाम्रो अस्तव्यस्त राजनीतिक अवस्थाले पनि जनस्वास्थ्यमा धेरै प्रभाव पारेको छ ।

स्वास्थ्यचौकी तथा अस्पतालहरूमा औषधी दिँदा सस्तो खालको औषधी दिनू भन्ने सरकारले नियम नै बनाएको छ । सस्तो भएपछि गुणस्तरीय हुँदैन । कतिपय बिरामीले सरकारले निःशुल्क दिने गरेको एन्टिबायोटिक खाँदा निको नभएपछि बाहिरबाट किनेर खाँदा निको भएको घटना पनि मैले देखेकी छु । त्यसैले यो कार्यक्रम पनि प्रभावकारी नभएको पाइएको छ । 

मन्त्रीहरूलाई सुझाव दिएर केही पनि फाइदा छैन । किनभने, स्वास्थ्यका बारेमा मन्त्रीहरूले कुरै बुझ्नुहुन्न । मन्त्रीहरू त आज एउटा, भोलि अर्को आउँछन् । काम गर्ने भनेको कर्मचारीहरूले हो । 

सरकारी स्कुलमा राम्रो पढाइ र अस्पतालहरूमा उपचार सेवा राम्रो भए निजी स्कुल र अस्पतालको आवश्यकता पर्दैनथ्यो । त्यसैले शिक्षा स्वास्थ्य भन्ने कुराहरू सरकारकै मातहतमा हुनुपर्छ । तब मात्रै जनस्वास्थ्य राम्रो भएको मानिन्छ । सरकारले राम्रोसँग नीति बनाएर त्यसमा लगातार काम गर्ने हो भने जनस्वास्थ्यका कतिपय मुद्दाहरू सहजै समाधान गर्न सक्छ । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : ३६ बजे

उमेर हद निर्वाचनको परिणाम घोषणा गर्न क्रान्तिकारी विद्यार्थीको माग

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर

नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौं– साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप