बाइडबडीमा पाइलट डामिए, प्रधानमन्त्री छुटे ! | Khabarhub Khabarhub

बाइडबडीमा पाइलट डामिए, प्रधानमन्त्री छुटे !

विमान खरीद प्रकरणमा स्वदेशी र विदेशीमाथि यस्तो छ अभियोग


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार ३२ जनाभन्दा बढीलाई प्रतिवादी बनाएर वाइडबडी विमान खरीद प्रकरणको घोटालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।

अख्तियारले दायर गरेको मुद्दामा केही सिनियर पाइलटहरु पनि परेका छन् । पूर्वमन्त्री, निगमका पूर्वसञ्चालक समिति सदस्य र पूर्वकर्मचारी मात्र छैनन्, पर्यटन मनत्रालयका बहालवाला सहसचिव र अन्य कर्मचारी पनि डामिएका छन् ।

देशको राष्ट्रिय ध्वाजाबाहक वायु सेवा निगम मात्र होइन, आम नागरिकको गाँस काटेर जम्मा गरिएको नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषको समेत अर्बौं रुपैयाँ विमान खरीदका नाममा घोटाला गरेर टाट पल्टाइएको यो प्रकरणमा अख्तियारले चालेको कदम सुशासनका लागि सकारात्मक कदम नै हो । तर, अख्तियारले ज-जसलाई यसमा प्रतिवादी बनाएको छ, त्यसले कतिपय जिम्मेवार व्यक्तिहरु छुटेका त होइनन् भन्ने प्रश्न पनि सँगसँगै जन्माएको छ ।

जस्तो– पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीलाई विपक्षी बनाउँदै गर्दा उनी मन्त्री रहेका बेला सरकारको नेतृत्वमा रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवार बनाउने कि नबनाउने ? यो प्रश्न पनि सँगसँगै उठेको छ ।

त्यसो त वाइडबडी विमान खरीद आफ्नो पालामा नभएर केपी ओली प्रधानमन्त्री भएका बेला गरिएको कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गर्दै आएका छन् । केपी ओली प्रधानमन्त्री र पर्यटनमन्त्री रविन्द्र अधिकारी भएका बेलामा के कस्ता निर्णयहरु भए ? वाइडबडी विमान खरीद प्रकरणमा मन्त्रालय र वायु सेवा निगम मात्रै जोडिएको छ कि मन्त्रिपरिषद पनि यसमा जिम्मेवार छ ? यसबारेमा पनि बहस सतहमा आएको छ ।

जसका पालामा भए पनि मन्त्रिस्तरको निर्णयबाट त्यत्रो घोटाला भएको हो भने सरकारले गरेको काममा तत्कालीन प्रधानमन्त्री नैतिकरुपमा जिम्मेवार हुने कि नहुने ? यो प्रश्न बालुवाटार प्रकरणदेखि नै उठिरहेको छ । किनभने, क्याबिनेटले गरेको निर्णयमा बालुवाटार प्रकरणमा मन्त्री र कर्मचारीलाई दोषी बनाइयो तर प्रधानमन्त्रीहरुलाई जवाफदेही बनाइएन । अहिले वाइडबडीमा पनि अख्तियारले त्यही नजिर अवलम्वन गरेको छ ।

विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि अख्तियारले जारी गरेको विज्ञप्तिमा बाइडबडी विमान किन्ने निर्णय कुन मितिको मन्त्रिस्तरको निर्णय थियो भन्ने कुनै तिथिमिति उल्लेख गरेको छैन ।

बरु महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदन हेर्दा केही तिथिमितिहरु खुल्छन् ।

कर्मचारी सञ्चयकोष कार्यालयसँग नेपाल वायुसेवा निगमले ०७४ जेठ २८ मा विमान खरीदका लागि ऋण सम्झौता गरेको थियो । कोषबाट १२ अर्बको ऋण प्रवाह भएको थियो । तर, निगमले ब्याज तिरेन जसले गर्दा ब्याजलाई समेत पुँजीकरण गर्दा तीन–चार वर्षमै सावाँ रकम बढेर १४ अर्ब १५ करोड पुग्यो । अहिले त्यो ऋण थप चलिएको स्थिति छ । यो अवधि भनेको शेरबहादुर देउवा कामचलाऊ प्रधानमन्त्री रहेका बेलाको हो ।

त्यसअघि २०७० असार ४ मा पनि ए–३२० न्यारोबडी एयरबस दुईवटा खरीदका लागि नेपाल सरकारको १० अर्ब जमानीमा सञ्चय कोष र निगमबीच ९ अर्ब ९८ करोड ११ लाख १७ हजार रुपैयाँको ऋण सम्झौता भएको थियो । त्यसबेला खिलराज रेग्मी प्रधानमन्त्री थिए । रेग्मीले ०७९ चैत १ देखि ०७० माघ २८ सम्म सरकार चलाएका थिए ।

नागरिक लगानी कोषसँग पनि०७४ जेठ २९ मा ए–३३० ए एकथान वाइडबडी एयरबस किन्न सरकारको १२ अर्बको जमानीमा ऋण सम्झौता भएको थियो । सरकार जमानी बस्ने यो निर्णय हुँदा सरकारको नेतृत्वमा भर्खरै शेरबहादुर देउवा आएका थिए । उनी ०७४ जेठ २४ मा प्रचण्डको ठाउँमा प्रधानमन्त्री बने लगत्तै २९ गते ऋण सम्झौता भयो । केपी ओली भने चुनाव जितेर ०७४ फागुन ३ मा मात्रै प्रधानमन्त्री बने । ओली ०७८ बैशाख ३० सम्म प्रधानमन्त्री रहे ।

निगमले सञ्चय कोषबाट लिएको ऋणको दायित्व ०७८ असार मसान्तसम्म १५ अर्ब ३४ करोड ७८ हजार पुग्यो । विमान किन्न दुबै कोषबाट लिइएको ऋणको कुल दायित्व ०७८ असार मसान्तसम्म आइपुग्दा २६ अर्ब ४९ लाख पुगेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

निगमले समयमै ऋण नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोषसमेत समेत डुब्ने स्थितिमा पुगेको महालेखाको ठहर छ ।

निगमको सञ्चालक समितिको ०७३ असोज ८ को निर्णय निर्णयबाट २ थान वाइडबडी ए–३३० विमान खरीद गरिएको थियो । त्यसबेला प्रचण्डको नेतृत्वमा सरकार थियो । प्रचण्डले ०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म सरकार चलाएका थिए ।

वाइडबडी विमानहरु ०७५ चैत मसान्तभित्रै जापान, साउदी अरब, ग्वाङझाओ र दक्षिण कोरियामा उडान गरिसक्ने व्यवसायिक योजना बनाइएको थियो । तर, योजना बनाएअनुसार उडान गरिएन । उडान क्षमता दैनिक १६ घण्टा रहे पनि ९ घण्टामात्र उडान गरियो । जापानको नरिताबाहेक अन्त लामो दूरीको उडान हुन सकेन । यसले गर्दा सञ्चयकोष र नागरिक लगानी कोषको ऋण डुब्ने स्थितिमा पुग्यो । यो अवधिमा केपी ओली सरकारको नेतृत्वमा थिए ।

अब अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा क–कसलाई के कस्ता अभियोग लगाइएको छ र दोषी देखाइएको छ, त्यसको बुँदागत चर्चा गरौं–

 

पूर्वमन्त्री जीवनबहादुर शाहीमाथिको आरोप

  • सार्वजनिक खरीद ऐन र नियमावली विपरीत कार्य गरेको ।
  • विमानको भारवहन क्षमता २४२ टनबाट घटाएर २३० कायम गरेको तर मूल्य भने २४० कै राखेको ।
  • निगमका कर्मचारीसँगको मिलेमतोमा बैंक जमानत/सुरक्षणविना नै भुक्तानीका लागि डलर सटही सुविधाको सिफारिस गरेको ।
  • कानून विपरीतको एमओयूलाई बैधानिकता प्रदान गरेको ।
  • आफूभन्दा पछि आउने मन्त्रीले पदाधिकारी वा निकायले एमओयू बदर गर्दा कमिनमेन्ट फी गुमाउनुपर्ने र विमान पनि प्राप्त नहुने जस्तो दोहोरो जोखिम सिर्जना गरेको।
  • शाहीको निर्णयका कारण कुल १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बढी भुक्तानीको दायित्व सिर्जना गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ८ (क), (घ) र (ञ) कमोजिमको कसुरजन्य कार्य गरेको ।
  • शाहीले कसूर गरेको ठहर भएकाले कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर गर्नुपर्ने देखिएको ।
  • शाहीलाई भ्रष्टाचारको कसूर र सजायँ सम्बन्धी थप सजायँ हुनुपर्ने देखिएको ।

निगमका तत्कालीन महाप्रवन्धक कंसाकारमाथिको अभियोग

  • सार्वजनिक खरीद ऐन, नियमावली र विनियमावली विपरीत कार्य गरेको ।
  • विनियमाली संशोधन नगराई ऐनले निर्दिष्ट गरेको कार्यविधि विपरीत कागजपत्र तयार पारेको र स्वीकृत गराएको ।
  • विमानको स्पेसिफिकेशसन र त्यसलाई मापन गर्ने स्पष्ट मापदण्ड नखुलाई इस्टिमेट अस्वाभाविक रुपमा बढाएर बढी लागत अनुमान तयार गरे, गराएको ।
  • परियोजना प्रस्तावलाई अपारदर्शीरुपमा रुवीकृत गराई प्रस्तावदातासँग मिलेमतोमा कार्य गरेको ।
  • सार्वजनिक खरीद ऐनले परिकल्पना नै नगरेको परामर्श (वार्ता) को माध्यमबाट परामर्शदाताको स्वार्थ अनुरुपका शर्तहरु एमओयू र विमान खरीद सम्झौतामा समावेश गरेको ।
  • विमानको भारवहन क्षमता २४२ टनबाट घटाएर २३० कायम गरेको तर मूल्य भने २४० कै राखेको ।
  • निगमलाई कुल १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बढी भुक्तानीको दायित्व सिर्जना गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ८ (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको ।
  • कंसाकारलाई भ्रष्टाचारको कसूर र सजायँ सम्बन्धी ऐन अनुसार थप कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर गर्नुपर्ने देखिएको ।

अरुलाई पनि उही आरोप

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वमन्त्री शाही र पूर्वमहाप्रवन्धक कंसाकारलाई जस्तै अभियोग र कैद तथा विगो जरिवानाको मागदाबी गरिएको छ ।
यसरी समान कैद र बिगो दाबी गर्दै प्रतिवादी बनाइएहरुको विवरण यस्तो छ–

  • शंकरप्रसाद अधिकारी– पर्यटन मन्त्रालयका तत्कालीन सचिव एवं वायु सेवा निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष ।
  • शिशिरकुमार ढुंगाना– भन्सार विभागका तत्कालीन महानिर्देशक, निगमका तत्कालीन सञ्चालक समिति सदस्य
  • बुद्धिसागर लामिछाने– पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव एवं निगमका तत्कालीन सञ्चालक समिति सदस्य ।
  • टेकनारायण आचार्य– निगमका तत्कालीन सञ्चालक समिति सदस्य ।
  • निमा नुरु शेर्पा– निगमका तत्कालीन सञ्चालक समिति सदस्य ।
  • मुक्तिराम पाण्डे– निगमका तत्कालीन सञ्चालक समिति सदस्य ।
  • जीवनप्रकाश सिटौला– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं निगमका तत्कालीन सञ्चालक समिति सदस्य ।
  • अच्युतराज पहाडी– निगमका तत्कालीन एवं वर्तमान सञ्चालक समितिका सदस्य ।
  • रामहरि शर्मा सेढाँई– निगमका तत्कालीन कायममुकायम निर्देशक
  • जनकराज कालाखेती– निगमका बहालवाला नायब महाप्रवन्धक तथा तत्कालीन कायम मुकायम निर्देशक ।
  • प्रभाशकुमार कर्माचार्य– निगमका तत्कालीन उपनिर्देशक ।
  • गणेशबहादुर चन्द– निगमका तत्कालीन निर्देशक ।
  • कर्णबहादुर थापा– निगमका तत्कालीन कायममुकायम निर्देशक ।
  • सुवास रिजाल– वर्तमान बरिष्ठ क्याप्टेन तथा तत्कालीन निमित्त निर्देशक ।
  • रमेशबहादुर शाह– निगमका तत्कालीन निमित्त निर्देशक ।
  • रविन्द्रकुमार शेरचन– बहालवाला बरिष्ठ क्याप्टेन एवं तत्कालीन निमित्त निर्देशक ।
  • रविन्द्र श्रेष्ठ– निगमका तत्कालीन कायममुकायम निर्देशक ।
  • उपेन्द्र पौडेल– निगमका वर्तमान निर्देशक एवं तत्कालीन कायममुकायम निर्देशक ।
  • श्रवण रिजाल– निगमका वर्तमान निर्देशक एवं तत्कालीन उपनिर्देशक ।
  • पारस पौडेल– निगमका तत्कालीन उपनिर्देशक ।
  • उमेश पौडेल– निगमका वर्तमान निर्देशक एवं तत्कालीन निमित्त उपनिर्देशक ।
  • बृहतमान तुलाधर– निगमका वर्तमान उपनिर्देशक एवं तत्कालीन निमित्त उपनिर्देशक ।

प्रतिवादी बनाइएका विमान आपूर्तिकर्ता/प्रस्तावकर्ता विदेशी कम्पनी र व्यक्तिहरु–

  • President, International Supply Chain, AAR Corp
  •  Inc.USA एवं बेलायती नागरिक Mr.Deepak Sharma
  • Hifly X Ireland Limited का Director एवं German Aviation Capital Germany/Singapore का प्रतिनिधि जर्मनी नागरिक Mr.Christian Nuehlen
  • German Aviation Capital Germany का Finance Director एवं Romania & Moldova का नागरिक Mr. Oleg Calistru
  •  M/S AAR International INC. USA र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. John M. Holmes, President and CEO .
  • M/S German Aviation Capital GMBM Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Ms. Ana Topa, Managing Director.
  •  M/S Hi Fly Transporte Aereos SA (Hi Fly Airlines) Portugal र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Paulo Mirpuri, President.
  •  M/S Hifly X Ireland Limited Ireland य उक्त कम्पनीको मुख्य व्याक्ति Mr. Gerald Thornton, Director र Mr.Christian Nuehlen, Director.
  •  M/S Norton Rose Fulbright LLP Germany रु उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Markus Radbruch, Head of Aviation र Mr. Ralf Springer, Senior Consulta.

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ८ : २२ बजे

कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने

पाटन– काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ–  सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ सितापुरी

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली–  घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी छोरी १५ वर्षीया

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभाबाट पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं– राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव

सशस्त्र प्रहरीका ४५ प्रशिक्षार्थी अधिकृतद्वारा कुश्मामा बञ्जीजम्प

काठमाडौं– सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा