सार्वजनिक बस सेवामा छलाङ – सघाउन परिचारिका, अशक्तलाई बिछ्यौना ! | Khabarhub Khabarhub

सार्वजनिक बस सेवामा छलाङ – सघाउन परिचारिका, अशक्तलाई बिछ्यौना !

चार युवाले चलाएका ‘रोयल एडभेन्चर’को नालीबेली


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दाङकी दीक्षा निरौला हाल काठमाडौंमा बस्दै आएकी छिन् । उनलाई कर्मथलो काठमाडौं र जन्मथलो दाङ गरिरहनुपर्ने हुन्छ ।

एक वर्षअघि घर जाँदा उनलाई गाडीमा निकै सास्ती भएको थियो । गाडीका सहचालकले यात्रुमाथि रुखो व्यवहार गरेका कारण त्यसपछि उनलाई गाडीमा यात्रा गर्न मनै लागेन ।

घरछेउमै टरिगाउँ विमानस्थल छँदैछ । अनेक कठिनाइ सहँदै गाडीमा कष्टकर यात्रा गरिरहेकी उनको घर आवतजावत अब आकाशतर्फ मोडियो ।

गत साता विशेष काम परेपछि उनी घर जानुपर्ने भयो । उनलाई कसैले सुनाइदियो – ‘दाङ जान अहिले विमानमा जस्तै सुविधा भएका गाडी गुड्छन् । यात्रुलाई सघाउन हवाईजहाजमा एयर होस्टेजजस्तै बसमा पनि बस होस्टेज राखिएको छ ।’

उनले अचम्म मान्दै त्यस्तो गाडीबारे जानकारी खोजिन् । पत्ता लागेपछि उनले त्यही बसको टिकट काटिन् । गाडीमा पुग्नासाथ बस होस्टेजहरूले स्वागतदेखि सामान राख्न गरेको सहयोग देखेर उनी निकै खुसी भइन् । उनलाई लाग्यो – ‘अब म बसबाटै सजिलोगरी काठमाडौं-दाङ ओहरदोहर गर्न सक्छु ।’

दाङबाट फर्कँदा पनि त्यही बस चढिन् । परिचालिकाहरूले सहयोग गर्ने र महिलाहरूका लागि निश्चित सीट छुट्याइएका कारण सो गाडीमा यात्रा गर्न आफूलाई निकै सहज भएको उनले बताइन् । नजिकिँदै गरेको दशैँ–तिहार लगायत चाडबाड र अन्य समयमा पनि एक्लै घर जान गाह्रो मानिरहेका महिलाहरूका लागि यो बस उचित रोजाइ हुने दीक्षा सुनाउँछिन् ।

दीक्षालाई सहज यात्रा गराएको सुविधासम्पन्न रोयल एड्भेञ्चर बस दाङका चार युवाहरूले सञ्चालनमा ल्याएका हुन् । हरिप्रसाद भट्ट (राज), अर्पण राई, तुल्सीराम आचार्य र माधव आचार्यले यी बसहरूमा लगानी गरेका छन् । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमातहत यी बसहरू दाङ–काठमाडौं रूटमा चलाउने गरिएको छ ।

यी गाडीहरूमा नेपालमै पहिलोपटक बस परिचालिका (बस होस्टेज) पनि राखिएको हो । हरेक बसमा एकजना बस होस्टेज राखिएको छ । हरेक क्षेत्रमा महिलाहरूलाई अग्रसर गराउने र हरेक पक्षमा महिलाको सहभागिता बढाउन महिलाहरूलाई परिचालिकामा राखिएको सञ्चालकहरू बताउँछन् ।

सुरुवाती चरणमा चारवटा बसमा बस होस्टेजसहित परीक्षण गरिएको छ ।

महिलाको पीडा देखेपछि…

सञ्चालक माधव आचार्य हरेक पटक काठमाडौं–दाङ आवतजावत गर्दा बसमा महिलाहरूले खेप्नुपरेका समस्या नियाल्ने गर्थे । महिलाहरूले सार्वजनिक बसमा खेपेको दुःख देख्दा उनी भित्रभित्रै पीडाले निचोरिन्थे ।

उनले यो समस्या समाधानबारे चिन्तन गर्न थाले । सार्वजनिक यातायातमा प्रयोग हुने ठूला बसमा किन विमानमा जस्तै सुविधा नराख्ने भनी साथीसामू प्रस्ताव राखे । उनीहरूले निष्कर्ष निकाले – अब परिचारिका (होस्टेस) नै राखेर बस चलाउनुपर्छ ।

त्यसपछि ‘रोयल एडभेञ्चर्र्स’ नाम राखी सुविधासम्पन्न बस सञ्चालनमा ल्याए । सुविधासम्पन्न बसबारे थाहा पाएपछि मानिसहरूले यसैलाई रोज्दैछन् । ६५ प्रतिशत यात्रु महिला नै छन् ।

यी बसमा यात्रा गर्दा एकपटक फलफूल र बिहान एकपटकको चिया–कफी गाडीले नै व्यवस्था गरेको छ । बस काठमाडौंबाट हरेक दिन ७ देखि ७ः३० बजे छुट्ने गर्छ ।

सञ्चालनमा आएको करिब एक महिना अवधिमै यो बसमा यात्रा गर्न रुचाउने यात्रु नियमित बढिरहेका छन् । लामो यात्रा गर्न एकदमै आरामदायी सिट भएको र सुरक्षाका हिसाबले पनि मानिसहरूले यो गाडी रुचाएको सञ्चालकहरूको भनाइ छ ।

बिरामीलाई सुतेरै यात्रा गर्ने सुविधा

रोयल एड्भेञ्चर्सका बसमा ६ जनासम्म यात्रुलाई सुतेरै यात्रा गर्ने सुविधा पनि विस्तार गरिएको छ । विशेषगरी सिटमा बस्न असहज हुने बिरामीहरूका लागि सुतेर यात्रा गर्ने व्यवस्था मिलाइएको हो ।

बिरामी अवस्थाका, साधारण गाडीमा यात्रा गर्न नसक्ने र विमानमा यात्रा गर्न खर्च नपुग्ने यात्रुले यी ६ सिटमा सुतेर सुविधायुक्त यात्रा गर्न सक्छन् ।

‘कति मानिसहरू अशक्त र कतिपय बिरामी अवस्थाका हुन्छन् । उनीहरूलाई उपचार निम्ति काठमाडौंका सुविधासम्पन्न अस्पतालसम्म आउनुपर्ने हुन्छ । तर उनीहरू गाडीमा बसेर आउन सक्दैनन् । त्यसरी आए पनि निकै पीडा भोग्नुपर्ने समस्या हामीले देख्यौँ,’ सञ्चालक माधव आचार्य भन्छन्, ‘सबै मानिसहरूको आर्थिक अवस्था पनि एउटै हुँदैन । हवाईजहाजमै यात्रा गर्न नसक्ने मानिसहरू पनि हुन्छन् । यो समस्याहरू केही निराकरण गर्न सकिन्छ कि भनी हामीले यो प्रयास गरेका हौँ ।’

सञ्चालकहरूले टाटा मोटर्स उत्पादित इञ्जिन खरिद गरी सुविधासम्पन्न बस तयार गरेका हुन् । यी बस बुटवलमा रहेको मुक्तार बडी कारखानामा तयार गरिएको हो ।

बसमा ४७ वटा सोफा सिट छन् । अशक्त र बिरामीहरू सुतेर यात्रा गर्न छुट्टै (स्लिपिङ बेड) छ । बसमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । यसो गरेपछि यात्रुको सामान हराउने डर छैन ।

भाडा उस्तै

यी बस सुविधासम्पन्न भए पनि भाडादर भने अन्य गाडीकै समान छ । गाडीमा हिँड्न नै सकिँदैन भन्नेहरूको विश्वास जित्न आफूहरूले नयाँ थालनी गरेको सञ्चालक आचार्य बताउँछन् ।

यात्रुलाई अप्ठ्यारो परेको अवस्थामा एअरहोस्टेजले बसभित्रै समस्या समाधानमा सहयोग गर्छन् । गाडीमा लामो यात्रा हुने भएका कारण स्याउ, केरा र पानी लगायत खानेकुरा व्यवस्था गरिएको छ । विशेषगरी महिला तथा बच्चाहरूका लागि प्याड तथा डाइपर उपलब्ध छ ।

साना बच्चा वा बिरामीका लागि सुतेरै यात्रा गर्ने प्रबन्ध मिलाइएको छ । सुतेर यात्रा गर्ने यात्रुहरूले भने केही बढी भाडा तिर्नुपर्छ । अरूलाई १८ सय रहेको भाडादर सुतेर जानेहरूका लागि दुई हजार रुपैयाँ तोकिएको छ ।

‘हामीले अन्य सवारीकै भाडादरमा सुविधासम्पन्न गाडीको व्यवस्था गरेका छौ । तर, सुतेर जाने यात्रुले २०० रुपैयाँ बढी तिर्नुपर्छ,’ सञ्चालक आचार्यले भने ।

सुविधासम्पन्न बनाएर अन्य गाडी सरहकै भाडादरमा चलाउँदा पनि घाटा नहुने सञ्चालकको भनाइ छ । यसमा सुविधासहित समान भाडा लिँदा मानिसहरूको चाप बढी हुने र जुनसुकै समयमा पनि गाडी खाली नहुने भएकाले घाटा नहुने सञ्चालकहरूको भनाइ छ ।

यो बस सञ्चालन भएदेखि अहिलेसम्म एउटा पनि सिट खाली राखेर गुडाउनु नपरेको उनीहरू बताउँछन् ।

चर्चासँगै टिप्पणी

गाडीमा महिला परिचालिका राख्ने थालनीको जति प्रशंसा भएको छ – त्यति नै टीकाटिप्पणी पनि भइरहेको छ ।

यात्रुहरूले ‘राम्रो कामको थालनी गरेको’ भनी प्रशंसा गरे पनि परम्परागत ढर्राले यात्रुलाई दुःख दिँदै र दुर्व्यवहार गरिरहेकाहरूले भने ‘सुविधाको नाममा भ्रममात्रै छरेको’ भनी आलोचना गर्ने गरेका छन् ।

सञ्चालकहरू यस्तो टिप्पणीप्रति जानकार छन् । आफूहरूले महिलाको सुरक्षादेखि सम्पूर्ण कुरामा विशेष सावधानी अपनाएको उनीहरूको दाबी छ ।

आचार्यले भने, ‘कतिपय मानिसहरूले त हामीलाई यो दुुई दिनको तामझाम हो पनि भनेका छन् । तर, यात्रुको उत्साह र हाम्रो मेहनतले गर्दा हामीले थालेको पहल दीर्घकालसम्म पुग्ने आशा पलाएको छ ।’

बस सञ्चालनमा आएको एक महिनामै यात्रा गर्ने सबै यात्रुहरूले राम्रो प्रतिक्रिया दिएका उनले सुनाए ।

बस थप्ने लक्ष्य

सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको एक महिनामै निकै चर्चा र यात्रु चाप बढेपछि सञ्चालकहरू थप गाडी थप्ने योजनामा छन् । चारवटा गाडीले मात्रै यात्रु चाप थेग्न नसक्ने अवस्था नरहेको उनीहरूले जानकारी दिए ।

दाङ–काठमाडौं आवतजावत गर्न विशेषगरी महिलाहरूले रोयल एड्भेञ्चर्सकै बस खोज्ने क्रम बढेको छ । टिकट नपाए बरु दुई दिनसम्म कुर्ने ग्राहकहरू बढेपछि गाडी थप्न उर्जा थपिएको सञ्चालकहरूको भनाइ छ ।

उनीहरूका अनुसार एउटा सुविधासम्पन्न बस तयार गर्न ९३ लाख रुपैयाँ खर्च भएको छ । यसरी पर्याप्त खर्च गरेर बनाइएका बसले दीर्घकालसम्म यात्रुलाई सेवा दिने भएकाले आफूहरूले सुविधाका नाममा नाफा नहेरेको उनीहरू दाबी गर्छन् ।

यस्तो सुविधासम्पन्न बस सेवा अन्य जिल्लाहरूमा पनि उपलब्ध गराउन उनीहरू प्रयासरत छन् ।

बस परिचालिकाको अनुभव

बस परिचारिका निकिता खत्री रोयल एडभेञ्चर्सको लु प्र ०२–००१ख००४२ नम्बरको बसको ढोकामा बसेर भित्र पस्ने हरेक यात्रुलाई नमस्कार गरिरहेकी हुन्छिन् ।

उनी काउन्टरमा आएका यात्रुुहरूलाई बससम्म लैजाने काम गर्छिन्, यात्रुलाई सहयोग र उनीहरूको यात्रा सहज बनाउन सक्दो सहयोग गर्छिन् । सबै यात्रुसँग घुलमिल हुँदै उनीहरूलाई आ–आफ्नो सिटमा राख्छिन् ।सबै यात्रुका जिज्ञासाको नम्रतापूर्वक जवाफ दिन्छिन् ।

निकिता हाल स्नातक तह तेस्रो तहमा अध्ययनरत छिन् । उनलाई केही काम गर्दै पढ्ने इच्छा भएर एउटा जब सेन्टरमा फर्म भरेकी थिइन् । सोही जब सेन्टरले उनलाई बस होस्टेजको जागिर आएको जानकारी गरायो । उनले यस्तो कामबारे सोधखोज गरिन् । एकपटक यो काम गरिहेर्ने इच्छा लाग्यो ।

सुरुमा निकै डर लागेको निकिताले बताइन् । कस्तो होला ? के होला ? भन्ने लागे पनि केहीपटक काठमाडौं–दाङ ओहरदोहर गरेपछि भने रमाइलो लागेको उनी सुनाउँछिन् ।

उनले भनिन्, ‘सुुरुमा त रातभर यात्रा गरेपछि दिनभर सुत्दा पनि निद्रा नै नपुुगेको जस्तो हुुन्थ्यो । गन्तव्यमा कहिले पुग्ने होला, गाडीमा यात्रुसँग कसरी कुुरा गर्ने होला, के भन्छन् होला भनी डर लाग्थ्यो । तर, अहिले रमाइलो लाग्छ ।’

बसमा यात्रा गर्ने आमा, दिदीबहिनीहरू र सबै यात्रुले ‘निकै राम्रो काम गरेकी छ्यौ’ भन्दा आफूलाई निकै खुुसी लाग्ने उनी सुनाउँछिन् । धेरै जनाले राम्रो काम गरेको भनेपछि उनमा अझै बढी हौसला थपिएको छ ।

बसका सञ्चालकहरूले सुरक्षा र सम्मानदेखि आवश्यक सबै प्रबन्ध मिलाइदिएका उनी बताउँछिन् । काठमाडौंमा बसोबास प्रबन्ध पनि बस सञ्चालक कम्पनीले नै गरिदिएको छ ।

‘यो नयाँ सुरुवात हो, यसले सफलता पाउँछ कि पाउँदैन भन्ने डर पनि लागेको थियो, तर अहिले त अरू गाडीमा भन्दा हाम्रो गाडीमाा बढी मानिस आउँछन् । अब मज्जाले चल्छ जस्तो लाग्छ,’ निकिता भन्छिन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  २ : ०८ बजे

‘वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो’

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको वर्तमान संविधान

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौं– मंगलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी

मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली

जनकपुरधाम– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मधेस केन्द्रित दलहरू वर्तमान संविधानको

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी

सुभा– फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी

मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु– नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ