प्रधानमन्त्री प्रचण्डलाई २६ बुँदे खुलापत्र | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई २६ बुँदे खुलापत्र



सम्माननीय प्रधानमन्त्रीज्यू,

देश विघटनको बाटोमा उन्मुख छ । नागरिकमा राज्यका अंगहरूमाथि विश्वास घट्दै गएको छ । जनप्रतिनिधिहरूको सामाजिक स्वीकृति गुमेको छ । करदाता र मतदाताभन्दा माथि उठ्न नसकेको अनुभूति आम नेपालीको छ ।

कण-कणमा दलीयकरण गरिदिएर राजनीति दलहरूले देशलाई दोहनको बलियो माध्यम बनाएको कुरा लुकेको छैन । मौलिक विचार र अपनत्वलाई नै असर पार्ने गरी विदेशी लगानी हुँदै आएको छ ।

नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र अगुवाहरूले मूलबाटो बिराएको अनुभूति आम नेपालीले गर्दैछन् । परिवर्तनका नाममा कर थप, तनाव थप, बेरोजगारी, असुरक्षा र अशान्ति पाइयो । नागरिक आफ्नै देशमा असुरक्षित हुनु र पेट पाल्न विदेश जानुपर्ने अवस्था लज्जाको विषय हो ।

आम नेपाली जनताले आफ्नै नेताबाट ठगिएको र कानुनबाट थिचिएको अनुभव गर्दैछन् । ठूलो संकटमा रहेका आम नेपालीलाई तत्काल राहत दिन र नेतृत्वप्रति गुम्दै गएको विश्वास जोगाउन प्रधानमन्त्रीजीले ‘एक पटक’ देश र जनताको हितमा निर्मम कदम चाल्नुपर्ने देखियो ।

जनताको बढ्दो आक्रोशको बिस्फोटले के–के क्षति गर्ला, त्यो कुराको पूर्वआकलन बेलैमा गर्न जरुरी छ । व्यक्तिगत आतंकको सम्भावना बढ्दै गएको देखिन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

परिवार, पैसा, गुट, दल, जीवन,सौन्दर्य र सम्बन्ध त अस्थायी हुन् । मृत्युपछिको आयु नै मूल जीवन हो । मानिसको भौतिक शरीर नहुँदा समाजले के सोच्छ र कहिलेसम्म सम्झिन्छ, यो महत्वपूर्ण कुरा हो । समय खेर नफालौं, समयले हामीलाई खेर फाल्न थाल्यो भने अति निर्दयी पाराले हिसाब लिन्छ । समयको माग र महत्व बुझौं ।

देश र जनताको भूमि, भावना र भविष्यप्रतिमात्र केन्द्रित भएर अघि बढ्न थुप्रै काम प्रारम्भ हुनुपर्ने बाँकी नै छ । तथापि मैले केही सुझाव हजुरलाई यो खुलापत्रमार्फत दिएको छु । मेरा सुझावहरूमा पनि थुप्रै सुधार र थप हुनुपर्ने ठाउँ होला, तर निराश र आक्रोशित जनमनलाई सुधारको संकेत दिन पक्कै यो पत्रले काम दिनेछ ।

राजनीति र अपराध फरक–फरक कुरा हनु । अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणले समाजलाई हिंसातर्फ धकेल्छ । कतिपय पूर्वप्रधानमन्त्रीहरूको अभिव्यक्ति, भूमिका र शैलीमा स्तरोन्नति हुन नसक्दा बेला–बेला वैदेशिक गुलामी र स्तरहीनता वोध गराउँछ ।

सम्माननीय पद धारण गरिसकेका पात्रहरूले जात, गुट, दल, क्षेत्र, समूह, बथान र अमूक देशको झोले झैं प्रस्तुत हुनु ‘सम्माननीय’ शब्दको पनि मानमर्दन हो । आफ्नो गरिमा, पदको गरिमा, देशको गरिमा र नयाँ पुस्ताले आफूलाई कसरी सोच्दैछ भनेर सामान्य बोध नहुँदा देशकै शीर झुक्छ ।

देशले न्याय र निकास खोज्दैछ । यदि यही गतिमा अघि बढ्ने र जनपक्षीय सुधार नगर्ने हो भने जनआक्रोश थेग्न नसकिएला जस्तो छ । जनतामा देश र दलमध्ये एउटा चुन्नुपर्ने बाध्यता निर्माण हुँदै गएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

देश हितमा राजनीति प्रारम्भ गर्न /गराउन विशेष र विशेषज्ञ पहल थालौं । देशका विरुद्ध दल, राज्यका विरुद्ध सरकार, नीतिका विरुद्ध नेता र ज्ञानको विरुद्ध बुद्धिजीवी भइराख्ने हो भने व्यवस्था मात्र होइन, सिंगो देश विघटनतर्फ उन्मुख हुँदै जान्छ । देश बलियो बनाउन र आम नेपालीको विश्वास फर्काउन केही पाइला सहज होस भनेर यो खुलापत्र लेखेको छु, तत्काल यी कामहरू थालौं ।

(१) राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुखका सल्लाहकार र निजी सचिवालय खारेज गरौं ।

२) राज्यका अंगहरूमा राखिएको कानुनी, प्रेस सल्लाहकार र स्वास्थ्य सल्लाहकारका पदहरू खारेज गरौं ।

(३) जनप्रतिनिधिहरूको तलब र विकास बजेट खारेज गरौं ।

(४) राजनीतिक नियुक्ति भई पदमुक्त भएकाहरूले आम नागारिक सरह मात्र सेवा सुविधा पाउन् ।

५) भीभीआईपी/भीआइपी पद्धति नै खारेज गरौं ।

(६) एउटा सामाजिक संस्थामा १० वर्ष वा दुई कार्यकालभन्दा बढी बस्न न पाउने र सामाजिक संस्थाको नाममा आएको पैसा/सम्पत्ति निजी प्रयोग गरेको प्रमाणित भएमा दस गुणा जरिवाना होस् ।

(७) पार्टीको अध्यक्ष प्रधानमन्त्री हुन नपाउने, सांसद मन्त्री हुन नपाउने व्यवस्था होस् ।

८) सबैखाले समानुपातिक पद खारेज गरौं । निर्वाचनको क्षेत्र नै समावेशी गरौं ।

९) राष्ट्रिय सभा सय प्रतिशत गैरराजनीतिक तर विविध क्षेत्रका विज्ञ/अग्रजको सभा होस् ।

१०) प्रतिनिधि सभा सय प्रतिशत नै निर्वाचित होस् ।

११) स्थानीय तह गैरराजनीतिक होस् ।

१२) संघले नीति बनाउने, प्रदेशले निगरानी गर्ने र स्थानीयले कार्य सम्पादन गरौं ।

१३) तक्मा पाएकाले अपराध गरेमा सजाय दुई गुणा बढी होस् ।

(१४) आफ्नै देशमा जन्म लिए वापतको सबै कर मिनाहा होस् । राज्यले नागरिकलाई दिने निजी जीवनका सबै सुविधा निःशुल्क होस्। जस्तै– जन्म दर्ता, विवाह दर्ता, नागरिकता, राहदानी , राष्ट्रिय परिचयपत्र, बसाइँसराइ जस्ता कुराहरू निःशुल्क होस् ।

(१५) शिक्षा, स्वास्थ्य र न्याय समान स्तरमा र निःशुल्क होस् ।

(१६) मानव अधिकार आयोग बाहेक सबै आयोग खारेज होस् ।

(१७) राष्ट्रिय एकता दिवस र गणतन्त्र दिवस बाहेक सबै बिदा खारेज गरौं ।

(१८) सबै कैदलाई श्रम कैदमा रूपान्तरण गरेर जनपक्षीय काममा लगाऔं ।

१९) विदेशी भेट्ने र विदेश जाने जनप्रतिनिधि र कर्मचारीलाई निगरानीमा लिने र गलत देखिए तत्काल सजाय गरौं ।

२०) भ्रष्टाचार प्रमाणित भएका पात्रको पहिलो सन्तानलाई सरकारी जागिर नदिऔं र राजनीति गर्न नपाउने कानुन बनाऔं ।

२१) अंगीकृत नागरिकलाई राजनीतिक अधिकार नहोस् ।

२२) बन्द, हड्ताल र तोडफोड गर्नेलाई क्षतिपूर्ति भराऔं । आन्दोलन गर्नेले आय–व्यय सार्वजनिक गरोस् ।

२३) पूर्वप्रधानमन्त्री/मन्त्रीले वर्तमानमा सांसद छन् भने सांसदसरह मात्र सुविधा लिउन् ।

२४) नियुक्ति, सरुवा र बढुवाका लागि एउटा स्वचालित निश्चित प्रणाली बनाऔं । क्षमताका आधारमा सबै कुरा होस्‌ ।

२५)  पेन्सनधारीहरूले समाज सेवा गरुन् । राजनीति गर्ने र अर्को नियुक्ति लिने भए सधैँका लागि पेन्सन बन्द होस्।
देश हितमा गरिएको कामले मात्र भविष्यमा सम्मान बढाउँछ ।

२६) मधेशमा उत्पन्न जल संकटको दीर्घकालीन समाधान हेतु पहल होस् । वृक्षारोपण, चुरे विनाश रोकथाम, खोला उत्खनन्‌ नियन्त्रणका साथै बाढी, शीतलहर र आगलागी जस्ता प्रकोपहरूमा गम्भीरताका साथ सकारात्मक पहल होस् ।

(डा. अहिराज प्रदेश पूर्वप्रमुख हुन् । प्रस्तुत लेखमा व्यक्त विचार उनका निजी हुन् ।)

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ४४ बजे

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय

एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ

साँझपख बदलिन्छ धरानको भानुचोक

धरान– बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा