केन्द्र सरकार जोगाउने खेलमा जसपालाई सिकार बनाए : लालबाबु राउत (अन्तर्वार्ता) « Khabarhub

केन्द्र सरकार जोगाउने खेलमा जसपालाई सिकार बनाए : लालबाबु राउत (अन्तर्वार्ता)

जो आए पनि तत्कालै मधेश सरकार तलमाथि हुँदैन



मधेस प्रदेश सभाका सांसद तथा पूर्वमुख्यमनत्री लालबाबु राउत पार्टी विभाजन भएपछि बुधबार उपेन्द्र यादवले गरेको पत्रकार सम्मेलनमा देखिए । यादव र राउत केही समय पार्टी कार्यालयको ढोकानजिकै उभिएर कुरा गरे । त्यसपछि राउतले फोनमा कसैलाई बोलाए । यति हुँदा यादव पत्रकार सम्मेलनस्थल पुगिसकेका थिए । केही क्षणमै मधेसका मुख्यमन्त्री सरोजकुमार यादव पनि आइपुगे । यादवले मुख्यमन्त्रीलाई नजिक बोलाएर राखे । उपेन्द्रका विश्वासका पात्र राउत मुख्यमन्त्री सरोजकुमारका पनि दाहिना हुन् । सरोज र लालबाबु पालैपालो मधेसको मुख्यमन्त्री भए ।
जसपामा विभाजनको चोट परिरहँदा मधेस सरकारको अवस्था र केन्द्रीय गठबन्धन जसपा नेपालको रणनीतिबारे पूर्व मुख्यमन्त्री लालबाबु राउतसँग खबरहबले कुराकानी गरेको छ ।

अशोक राईले पार्टी फुटाएपछि मधेस प्रदेश सरकार पनि धरापमा पर्यो होइन ?

अहिले पनि हामी संघीय सरकारमा साझेदारका रुपमा छौँ । त्यसैले प्रदेशमा पनि वर्तमान सत्ता गठबन्धन यथावत छ । सत्ता गठबन्धनबाट मधेशमा पनि सरकार चल्दै छ । मलाई लाग्छ त्यहाँको सरकारको कुनै संकट छैन । हामी मिलेर मिलाएर बढिरहेका छौँ । सरकार धरापमा हुँदैन, न मधेस सरकार न केन्द्र सरकार । जसपा नेपाल र प्रधानमन्त्रीको कुरा भइसक्यो । प्रधानमन्त्रीले अगाडि जानुपर्छ भनेर अध्यक्षलाई भनिसक्नु भएको छ ।

पार्टी फुटेपछि मधेशका सांसद पनि नयाँतिर खुल्ने चर्चा छ नि ?

जानुहुन्न होला । मधेश प्रदेशमा यसले खासै प्रभाव गर्दैन । मधेशमा हाम्रो पार्टीका कोही त्यस्तो देखिँदैनन् । सबै मेरो, मुख्यमन्त्री र पार्टीका नेताको सम्पर्कमा हुनुहुन्छ । उहाँहरू पार्टी संगठन र कामप्रति बफादार हो । हल्ला र भूमरीका पछि लाग्नुहुन्न ।

मधेसमा रामबाबु यादवलाई पार्टी अध्यक्षबाट हटाएर बालकिशोर यादवलाई ल्याउनुभयो । त्यहीकारण तपाईं र उपेन्द्र यादवले एकलौटी गरेको गुनासो आयो नि ?

त्यो सिफारिस गर्ने म नै हो । तर सबैको समर्थन थियो । पहिले निर्वाचित कार्यकारिणी समितिका विजयीजीको ठाउँमा रामबाबु यादवलाई ल्याएका थियौँ । उहाँले पनि राम्रो काम गर्नुभएको थियो । तर विभिन्न आन्तरिक कारणले संगठनमा काम गर्ने भनेर मधेश प्रदेशका साथीहरूकै सुझावअनुरूप मधेशी स्वास्थ्यकर्मी फोरममा लामो काम गरेको, पार्टी इतिहासकै हाराहारी हाराहारीमा मधेशी स्वास्थ्य फोरमका अध्यक्ष भएका बालकृष्ण यादवलाई राख्यौँ ।

यसमा गुनासो हुने ठाउँ छैन । मान्छे विभिन्न कारणले कसैलाई आरोप लगाउँछ । वास्तविकता भनेको मधेशको अहिलेको नेतृत्व साँच्चिकै योग्य छ । मलाई लाग्छ, हामीभन्दा लामो समय आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको छ । त्यसैले उहाँको क्षमता र लगानी पनि राम्रो छ । जागिर छोडेर आउनुभएको छ । उहाँलाई त सम्मान गर्ने हो नि । व्यक्तिगत स्वार्थ राखेर साथीहरू आरोप लगाउँछन् ।

यहाँ मुख्यमन्त्री हुँदा र सरोज यादव मुख्यमन्त्री हुँदा कुन सरकार सजिलो चल्दैछ ?

समस्या त अहिले छ । मेरो परिस्थिति अलिक फरक थियो । मधेश प्रदेशमा पनि हामी दुई मधेश मोमेन्टबाट आएका पार्टी थियौँ । तत्कालीन संघीय समाजवादी फोरम र राजपा थियो । राजपाको नेतृत्व महन्थ ठाकुरले गर्नुभएको थियो । यताको उपेन्द्रजी गर्दै हुनुहुन्थ्यो, दुवै पार्टीमा उतातिरबाट २५ जना र यताबाट २९ हुँदा ५४ पुगेको थियो । अहिलेको मुख्यमन्त्री त्यो बेला सभामुख हुनुहुन्थ्यो ५३, ५३ को सरकार थियो ।

एकजना स्वतन्त्रलाई प्रवेश गराएर मैले चलाएँ । त्यो बेला एजेन्डा पनि उही थियो, मुद्दा पनि उही थियो । केपी शर्मा ओलीजीको सरकार संघमा पनि स्थिर थियो । कहिले हामी र कहिले राजपा सरकारमा जाँदा फरक परेन । डेढ वर्षमा माथिल्लो सरकार भत्किएपछि ओलीजी निस्किनु भयो । त्यसपछि कांग्रेससँग मिलेर काम गरियो । मेरो अवस्था अहिलेको मुख्यमन्त्रीभन्दा फरक थियो । अहिले गाह्रो स्वाभाविक छ । माथिल्लो गठबन्धन फेरिएपछि असर प्रदेशमा देखिन्छ । माथिबाटै चाबी लगाउने भएपछि सरोजजीलाई मलाई भन्दा कठिन छ ।

मधेशमा डा. सीके राउतले नयाँ दल खेल्नु भएको छ । यहाँहरूसँग विवाद पनि छ । अहिले फुटेको जसपा र जनमत पार्टी मिले भने यहाँहरूलाई त समस्या पार्लान् नि ?

राजनीतिमा केही स्थायी शत्रु हुँदैन । आरोप र दोषारोपण भइरहन्छ । आज जोसँग असमति छ, भोलि सहमति हुन सक्छ । आज असहमति हुँदा भोलि पनि कायम हुन्छ भन्ने छैन । तर उहाँको काम गर्ने शैली तरिका र उहाँहरूको नेतृत्वमा एउटा प्रवृत्ति, चिन्तन र सिद्धान्त छ । एजेन्डाभन्दा बर्चस्ववादी सोच छ । त्यो नै मुख्य कारण हो । उहाँले जेलबाट छुट्दा नै एजेन्डा बागमतीमा सेलाएर आउनुभएको छ । उहाँको एजेन्डा त अहिले सत्ता प्राप्ति भन्ने छ । हाम्रो एजेन्डा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समावेशीताक थिए । तिनलाई स्थापित गर्ने र संघीयतालाई मजबुत बनाउने हो । हाम्रोजति संघीयताप्रति प्रतिबद्धता अरुपमा छैन । त्यही मधेश भूमि पहिचानका आधारमा बनाउने म हो । अरूका फरक एजेन्डा थिए । राजनीति हो । पार्टी फुटको विशुद्ध कारण आन्तरिक फुट र सत्ता हो । उहाँहरू मिल्ने के कुरा छ र ?

उपेन्द्र यादवलाई हराएर आएका सीके राउत र नयाँ जसपा मिल्दा त मधेशमा यहाँहरूलाई ०८४ मा गाह्रो हुँदैन र ? अहिले नै केन्द्रको सत्तामा यहाँहरुलाई बिदा गरेर जनमत ल्याउने चर्चा पनि छ ?

हामी कानुनी लडाइँमा जान्छौँ । मैले बुझेको के छ भने निर्वाचन आउन अझै साढे तीन वर्ष छ । तपार्इं हेर्नुहोला योभन्दा हाम्रो पार्टी राम्रो हुन्छ । उहाँहरू मिल्ने कुरा कथा मात्रै हो । एजेन्डा र भिजन क्लियर नभएका मान्छे मिलेर के हुन्छ ? पहिला पनि सरकारमा थिए, के नमिलेर हिँडेको हो ? पार्टीको आकारभन्दा ठूलो भाग खोजेर होइन र ? अहिले हामीले प्रधानमन्त्रीलाई दह्रो साथ दिएका छौँ ।

जसपा विभाजनपछि आरोप–प्रत्यारोप चलिरहेको छ । अशोक राई र उपेन्द्र यादवको कुरा सुन्दा त पार्टी विभाजनको ठूलो कारण केही देखिएन नि ।

फुटेर जानेले हामीलाई दोष देखाइरहेका छन् । यो कुरा स्वाभाविक छ । सबै मान्छेहरू आंकाक्षी छन् । कसैको स्वार्थ पूरा हुन सकेन होला । पार्टी फुट्नु दुर्भाग्य हो । फुट्नु हुँदैन थियो । संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतलाई संस्थागत गर्न पनि पार्टीलाई एक ठाउँमा ल्याउनुपर्ने थियो । पहिचानका मुद्दा बचाउन पनि हामी एक ठाउँमा उभिएर जानुपर्छ, तर यो हुन सकिरहेको छैन । त्यसैले यो दुभाग्र्य हो ।

पहिलेबाटै विवाद रहेछ । मिलाएर जान नेतृत्वले नचाहेको भन्छन् नि ।

पार्टीमा असन्तुष्टि विभिन्न कारणले हुनसक्छ । सानो घर र परिवारमा असन्तुष्टि भइरहेको हुन्छ । अध्यक्षज्यूको क्षमता र कार्यशैलीबारे हामी जानकार छौँ । अहिले पार्टी फुटाउन जुन कारण देखाइएको छ, तिनलाई राष्ट्रिय अधिवेशनमा लैजान सकिन्थ्यो । त्यो भएन । अहिलेको मुल कुरा सत्ताको खेल नै हो । सत्ताको खेलमा हाम्रो पार्टी विभाजन गरिएको कुरा अध्यक्षज्यूले राखिसक्नु भएको छ । केन्द्रीय सत्तालाई कसरी मजबुत पार्ने खेलमा हाम्रो पार्टी फुटाइयो । वास्तविकता यही हो । केन्द्रीय सत्ताको खेलमा हाम्रो पार्टी सिकार भएको छ ।

यहाँले केन्द्रीय सत्ता भनेको एमाले र माओवादी हुन् ?

त्यस्तो पनि होइन । आएका हल्ला जस्तो होइन, तर पार्टीभन्दा पनि व्यक्तिको खेल भन्न रुचाउँछु म ।

यहाँहरू त कांग्रेससँग मिलेर सत्ताको ठूलो भाग लिने तयारीमा हुनुहुन्थ्यो रे ?

त्यस्तो केही होइन । हाम्रो मुलुकमा बडो विडम्बनाको कुरा छ । प्रधानमन्त्री नै कहिले एमालेसँग मिलेर सरकार गठन गर्ने, कहिले कांग्रेससँग जाने, फेरि एमालेतिर आउनु हुन्छ । मुलुकमा फेरिएका गठबन्धन सत्ता स्वार्थका लागि हो । दलहरु सत्ता स्वार्थमा लाग्दा जनताले सास्ती पाएका छन् । राजनीतिक अस्थिराताले विकास र समृद्धि भएको छैन । लगानी आउन गाह्रो छ । देश विकास नुहुनको कारण पार्टी फुट्नु पनि हो । सबै पार्टीमा यो समस्या छ । दलहरु संघीय सत्ताको खेलमा लागेका छन् । तर हामी कांग्रेससँग मिल्न लागेको कुरा सही थिएन । हामी स्थिर सरकारको पक्षमा छौँ ।

पार्टी फुट्ने चर्चा चाहिँ कहिलेबाट थियो ?

मलाई त खास जानकारी थिएन । तर, अध्यक्षज्यू बाहिर गएका बेला मैका छोपियो । निर्वाचन आयोगले पनि यति छिटो अरू पार्टी दर्ता गरेको थिएन । अदालतले राम्रो निर्णय गर्ला । साथीहरू कहाँ–कहाँ हुन्छन् हेरौँ न ।

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ५ : ३३ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा