गिरीबन्धु जग्गा प्रकरणमा कांग्रेस र एमाले आमनेसामने | Khabarhub Khabarhub

गिरीबन्धु जग्गा प्रकरणमा कांग्रेस र एमाले आमनेसामने

देउवा र ओलीपछि दोस्रो तहका नेताबीच पनि जुहारी


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाले झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गा बेच्ने बाटो बन्द गरिदिएको छ ।

भोगचलनमा रहेको हदभन्दा बढी जग्गा बिक्री गर्न नपाउने गरी गत माघ २४ गतेको फैसलाको पूर्णपाठमा हदभन्दा बढी जग्गा जुन प्रयोजनका लागि भोगचलन गरिएको हो, त्यो नगरेको अवस्थामा व्यक्ति वा कम्पनीले बेच्न नपाउने र स्वतः सरकारको हुने मान्यता स्थापित गरिदिएको छ ।

सर्वोच्चले गत वैशाख ३० गते उक्त फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै गिरीबन्धु टी–स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने गरी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय बदर गर्दै यस्तो मान्यता स्थापित गरिदिएको हो । २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले ३४३ बिगाहा जग्गा कोशी प्रदेश (तत्कालीन प्रदेश–१) भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।

तर अदालतले उक्त फैसला गरेपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले जेठ २ गते बसेको पार्टीको संसदीय दलको बैठकमा गिरीबन्धु टी–स्टेट प्रकरणबारे मुख खोल्दै कांग्रेस सरकारको पालामा दुई पटक गरेर ७० बिगाहा बेचिएको जिकिर गरे ।

‘जहाँसम्म गिरिबन्धु टी–स्टेटको कुरा छ, कांग्रेसले एकपल्ट ५१ बिघा र अर्को पटक १९ बिघा जमिन सट्टापटट गर्ने नाममा कमिशन खाएर बिक्री गर्न दिएको हो’, उनले बैठकमा भनेका थिए, ‘त्यही टी–स्टेटबारे पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले कानुन बनाएका हौँ । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

त्यसको भोलिपल्ट पार्टीनिकट ‘प्रजातान्त्रिक विचार समाज’को कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीको आरोप खण्डन गरे । गिरिबन्धु टी—स्टेटको जग्गा बिक्री कांग्रेसको पालामा नभएको उनले जवाफ दिए ।

‘अहिले ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टी–स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर,’ देउवाले भनेका थिए, ‘आफू निर्णय गर्नुहुन्छ, कांग्रेसलाई दोष लाउनुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि ! त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ?’

एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी–स्टेटको जमिन एकपल्ट ५१ बिघा र अर्को पटक १९ बिघा जमिन सट्टापटट्टा गर्ने नाममा कमिशन खाएर बिक्री गर्न दिएको आरोप लगाएपछि कांग्रेसका नेताहरु आक्रमक सुनिन थालेका थिए । जेठ ९ गते बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा पनि नेताहरुले गिरीबन्धु टी–स्टेट प्रकरण संसद्मा उठाउनुपर्ने माग नेतृत्वसामु गरेका थिए ।

कांग्रेसका नेताहरुले गिरीबन्धु टी–स्टेटलाई संसद्मा उठाउन नेतृत्वलाई दबाब दिइरहेकै बेला एमाले प्रतिवादमा उत्रिएको छ । उसले ओलीमाथि लगाइएका आधारहीन लाञ्छनाप्रति कांग्रेसले लिखित क्षमायाचना र सार्वजनिक माफी माग्नु पर्ने जनाएको छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिनेसमेत चेतावनी एमालेको छ ।

सत्ता पक्षीय नेताहरुको आन्तरिक छलफलमा भाग लिएर बालुवाटारबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार अध्यक्ष ओलीमाथि लगाइएका आधारहीन लाञ्छनाबारे आफ्नो अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिने चेतावनी दिए । कांग्रेसले लिखित क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने उनले बताए ।

‘नेपाली कांग्रेसबाट नेकपा एमालेविरुद्ध, श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन प्रकारका अराजनीतिक पूर्वाग्रहीपूर्ण आरोप लगाइरहेको छ,’ उनले भनेका थिए, ‘कांग्रेसले यो आरोपबारेमा लिखित रुपमा क्षमायाचना गर्नु पर्दछ । सार्वजनिक रुपमा माफी माग्नु पर्दछ ।’

पौडेलले कांग्रेस सहमतिको पक्षमै नभएको दाबी पनि गरे । ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्राही आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ,’ उनले भने, ‘एमालेविरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी राजनीतिक प्रतिवाद गर्छाैँ ।’

उता कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने गिरिबन्धु टी–स्टेट बिक्री प्रकरणमा आफैँ गल्ती गरेर एमाले अध्यक्ष ओलीले अरुलाई दोष लगाएको बताएका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनले एमाले उपाध्यक्ष पौडेलले दाबी गरे जस्तो आफूहरूले माफी माग्ने कुरै नभएको बताए ।

‘मलाई लाग्छ एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले माफी माग्नुपर्छ भन्नु भएन होला । उहाँले त्यसो भन्नु भएको भए गलत हो, तर उहाँले भन्नु भएन होला’, शर्माले भने, ‘सर्वोच्च अदालतले ३० वैशाखमा गिरीबन्धु टी–स्टेटमा पूर्णपाठ दिइसकेपछि पनि कांग्रेसले कुनै प्रतिक्रिया दिएको थिएन । बरु रौद्र रुपसहित एमाले अध्यक्ष केपी ओली बोल्नु भएको हो ।’

ओलीले गिरीबन्धुमा कांग्रेसले ५१ बिघा बेचेर कमिशन खाएको भनेर लगाएको आरोप गलत भएको बताए । ‘एमाले अध्यक्ष ओलीले गिरीबन्धुको ५१ बिघा बेचेर कांग्रेसले कमिशन खायो भन्नु भयो । उहाँले आरोप लगाउँदा छुट तर प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने हो ?’, उनले भने, ‘हामीमाथि आरोप आइसकेपछि मैले पनि उहाँहरूलाई सहकारीबन्धु गठबन्धन भनेको हो ।’

महामन्त्री शर्माले गिरीबन्धु बिक्री हुँदा २०५२ सालमा मनमोहन प्रधानमन्त्री र भूमिसुधार राधाकृष्ण मैनाली रहेको बताए । त्यस्तै २०६० सालमा पनि प्रधानमन्त्री सूर्यबहादुर थापा रहेको जिकिर उनले गरे । ‘यस प्रकरणमा केपी ओलीले रौद्र रुप धारण गर्दा हामीले मौनधारण गर्न सक्दैनौँ’, उनले भने, ‘झापाका कृष्णप्रसाद सिटौला र केपी शर्मा ओलीलाई म सम्मान गर्छु । तर ओलीले जथाभावी बोल्दा मौन रहन सक्दिनँ । एमालेले भने जस्तो लिखित क्षमायाचना भन्ने कुरा हुँदैन ।’

सोमबार बेलुकी करिब साढे ७ बजे सामाजिक सञ्जाल एक्स (ट्विटर) मा उनले ५ बुँदासहित ‘रौद्र रुप धारणम्’ विरुद्ध ‘मौन धारणम्’ गर्न नसकिएको उल्लेख गर्दै एमालेको पछिल्लो अभिव्यक्तिको लिखित प्रतिवाद गरेका छन् । ।

यस्ता छन् शर्माका ५ बुँदा

१) गिरीबन्धु प्रकरणमा अदालतको पूर्णपाठपछि कांग्रेसका कोही बोलेकै थिएनौँ । ओलीले फायर खोल्दै भन्नुभयो– कांग्रेसले ७० बिघा बेचेर कमिसन खायो ।

२) ‘रौद्र रुप धारणम्’ गरेर यस्तो तथ्यहीन आरोप लगाउँदा ‘मौन धारणम्’ गर्न सकिएन, खुला प्रतिवाद गरिएकै हो ।

३) ‘निम्छरो’ भन्दा र गिरीबन्धुमा झुठो आरोप लगाउँदा माफी माग्नु नपर्ने, कांग्रेसले सही प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? कस्तो अचम्म ।

४) सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने कि नबनाउने विषय र गिरीबन्धु प्रकरण फरक कुरा हो ।

५) सँगै मिलेर संविधान बनाएका हौँ । गलत आरोप लगाउन उहाँलाई छुट अनि सही प्रतिवाद गर्न कांग्रेसलाई बन्देज ? मिल्दैन ।
शर्माले लेखेका छन् – ‘नम्रसँग स्पष्ट गर्दछु– आदरणीय कमरेडहरु, योउत्तर कोरिया होइन, नेपाल हो’

उता उपाध्यक्ष पौडेलको सार्वजनिक अभिव्यक्ति आइसकेपछि एमाले केन्द्रीय सदस्य विष्णु रिजाल पनि अध्यक्ष ओलीको बचाउमा उत्रिएका छन् । उनले ओलीमाथि कांग्रेसको आरोप आकाशतिर फर्केर थुक्नु जस्तै भएको टिप्पणी गरेका छन् । नेता रिजालले कांग्रेसलाई विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाउँदै एमालेलाई जिस्क्याउनुको कारण खोजेका छन् ।

‘कांग्रेसले अध्यक्ष केपी ओलीमाथि आरोप लगाउनु आकाशतिर फर्केर थुक्नु हो । जलहरीको प्रोपगान्डा पानीको फोकासावित भएको यादै होला,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शरणार्थी काण्डमा कांग्रेस, वाइडबडीमा कांग्रेस, इँटाभट्टामा मान्छे पोल्दा कांग्रेस, टीकापुर काण्ड… कति हो कति…? एमालेलाई बेकारमा किन जिस्काएको होला ?’

यसैबीच कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले अरुललाई आरोप लगाएर एमालेले गिरीबन्धु जग्गा प्रकरणलाई विषयान्तर गर्ने चेष्टामात्रै गरेको टिप्पणी गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री ओलीमाथि छानबिन गरेर अदालतको फैसला कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘गिरीबन्धु टी-स्टेटबारे अदालतको फैसलाबाट प्रष्ट छ– ऐन नै बनाएर नीतिगत भ्रष्टाचार गरियो । त्यसैले पनि तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ,’ नेता पौडेलले एक्समा लेखेका छन्, ‘अदालतको फैसला पूर्ण कार्यान्वयन हुनुपर्छ । यसमा कसले को माथि आरोप लगायो, लगाएन भन्ने तर्क फगत विषयान्तर गर्ने चेष्टा मात्र हो, सचेत बनौँ ।’

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १ : ०७ बजे

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

भोजपुर– मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा