भारतीय प्रधानमन्त्री मोदीले अर्को साता रुसको भ्रमण गर्ने | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले अर्को साता रुसको भ्रमण गर्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

मस्को – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही जुलाई ८ र ९ मा रुसको भ्रमण गर्ने क्रेमलिनले बिहीबार बताएको छ । मस्कोले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि मोदीको यो पहिलो रुस भ्रमण हुनेछ ।

भारतले रुसी तेलको खरिद बढाएको छ । साथै भारत पश्चिमी प्रतिबन्धहरूमा संलग्न नभए पनि उक्त द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।

मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परम्परागतरूपमा मैत्रीपूर्ण रुस–भारत सम्बन्धको थप विकासको सम्भावनाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डाका सान्दर्भिक मुद्दामा छलफल गर्नुहुने क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्नुहुन्छ । रुस पश्चिममा एक्लो भएको छ तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ ।

सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताएका थिए ।

भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फँसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो । भारतले आफ्ना नागरिकहरूसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ ।

नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन । विशेषगरी गत महिना स्विट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो । उक्त विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो ।

भारत रुसी तेलको प्रमुख खरिदकर्ता पनि बनेको छ । पश्चिममा रुसलाई परम्परागत बजारहरूबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ । तर भुक्तानीको समस्या र भारतको पूँजी नियन्त्रणका कारण रुसी निर्यातकर्ताहरूले आम्दानी फिर्ता गर्न नसककेको समाचार आएको छ ।

हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचितभएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी सहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ०६ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही