महाभारतमा उत्पादित कफी जापान निर्यात « Khabarhub

महाभारतमा उत्पादित कफी जापान निर्यात


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

यो साता कफी किसानलाई ८० पल्पर मेसिन, एक सय कफी राख्ने जाली, एक सय किसानलाई पाँच सय मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडरसहितका सामग्री वितरण गरिएको छ ।

बाँकी किसानलाई आवश्यकताका आधारमा सामग्री वितरण गर्दै जाने अध्यक्ष जिम्बाले बताए। ‘आधुनिक सामग्रीले कफी खेति तथा उत्पादनमा सहजता हुने अपेक्षा गरेका छौँ’, उनले भने ।

केही वर्षदेखि स्थानीयको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि पालिकाले बर्सेनि अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा स्थानीय किसानलाई एक लाख कफीका बिरुवा निःशुल्क वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ । महाभारत–३, ५ र ८ मा नर्सरी स्थापना गरिएको छ ।
गाउँपालिकामा हाल व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार दुई सयको हाराहारीमा रहेका अध्यक्ष जिम्बाले जानकारी दिए ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको जिम्बाले बताए । यहाँका किसान परम्परागत मकै, कोदो तथा अन्य खाद्यान्न बाली छाडेर कफीखेतीमा आकर्षित हुँदै गएका उनको भनाइ छ ।

पालिकाबाट बर्सेनि पाँचदेखि १२ लाख रुपैयाँसम्मको कफी बिक्री हुने गरेको वडा नं ५ का सुवास जिम्बाले बताए । यहाँ कफी उत्पादन राम्रो हुनुका साथै बजारीकरणको समस्या हट्दै गएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ ।

यसैबीच महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । ‘हिमालयन लक्जरी विन्स’ नामक कम्पनीले तीन वर्षदेखि यहाँ उत्पादित कफी जापान निर्यात गर्दै आएको हो ।

बागमती प्रदेश सरकारले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आगामी आवका लागि महाभारत–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादनका लागि छनोट गरेको छ ।

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेको भन्दै निर्यातलाई निरन्तरता दिँदै आएको बताए । ‘हाल एक हजार पाँच सय केजी जापान पठाउने गरेका छौँ । माग अनुसार थप निर्यात बढाउने तयारीमा छौँ’, उनले भने ।

यहाँ उत्पादित कफीलाई सुरुमा स्थानीयस्तरमा प्रशोधन गर्ने र बनेपास्थित विन्समा ल्याई पूर्णरूपमा प्रशोधन गर्ने गरिएको सञ्चालक लामाले जानकारी दिए । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकेजी पाँच सयदेखि छ सय रुपैयाँसम्म पाउने गरेका छन् ।

एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी लिन सकिन्छ । एक रोपनीमा वार्षिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाइ हुने गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए । महाभारतको आर्थिक समृद्धिको आधार कफीमार्फत गराउने योजना रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : १३ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा